कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सौराहा क्षेत्रका घरको मापदण्ड तोकिँदै

चितवन — रत्ननगर नगरपालिकाले पर्यटकीय क्षेत्र सौराहाका होटल र आवासीय घरको मापदण्ड तोक्ने भएको छ । रत्ननगरको वडा ५, ६, ७ र ८ मा सौराहा क्षेत्र पर्छ । 

यहाँ बर्सेनि देशविदेशका लाखौं पर्यटक पुग्ने गर्छन् । यी क्षेत्रमा बन्ने होटल र आवासीय घरको रंग, स्वरूप र तला निर्धारण गरेर नक्सा पास गर्ने योजना नगरपालिकाको रहेको मेयर नारायण वनले बताए ।


नगरपालिकाले सोरोकारवालासँग यसे विषयमा छलफल सुरु गरेको छ । ‘यो विशेष खालको पर्यटकीय क्षेत्र भएका कारण हामीले घरको एकै प्रकारको रंग होस्, निश्चित तलाभन्दा बढीका घर नबनून् भनेर मापदण्ड बनाउन खोज्दै छौं,’ बिहीबार रौराहामा आयोजित कार्यक्रममा मेयर वनले भने, ‘हामीले तय गरेर कार्यान्वयनमा ल्याउनेभन्दा पनि सबै सरोकारवालाको सुझावलाई ख्याल गरेर अगाडि बढ्ने छौं ।’


चितवन निकुञ्जको १० प्रवेशद्वारमध्ये सौराहा सबैभन्दा धेरै पर्यटक छिर्ने मुख्य प्रवेशद्वार हो । यस्तो ठाउँमा बन्ने घरको रंग वन जंगलसँगै मेल खाने हुनुपर्ने मेयर वनले बताए । त्यस्तै गरी अढाइ तलाभन्दा माथिका घर बनाउनु उपयुक्त नहुने नगरपालिकाको मान्यता रहेको मेयर वनको भनाइ छ । सौराहा क्षेत्रमा आदिवासी थारू समुदायको बाक्लो बसोबास छ ।


‘जंगलसँग मेल खाने माटो रंग वा च्याउ रंगले घरहरू पोतियोस् । यो ठाउँलाई कंक्रिटको जंगल बनाउनेभन्दा पनि थारू समुदायका घरसँग मिल्दो स्वरूपका होटल र आवासीय घरहरू बनून् । यहाँ घुम्न आउने पर्यटकलाई सौराहा भने गज्जब रहेछ भन्ने परोस्,’ मेयर वनले भने । घर अगाडि फलामे भर्‍याङ र अन्य संरचनाहरू राख्दा नराम्रो देखिने भएका कारण त्यसलाई हटाउन खोजेको उनले बताए ।


क्षेत्रीय होटल संघ, चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सौराहाका लागि भवन मापदण्ड आवश्यक भएको बताए । तर कार्यान्वयन गर्न सकिने हिसाबबाट मापदण्ड बन्नुपर्ने उनको सुझाव छ । ‘नगरपालिकाले यहाँका घरहरू सबैको एउटै रंग होस् र त्यो माटो रंगको होस् भनेको छ । यो ठीक छ तर अरू मापदण्ड कार्यान्वयनमा लैजान के कति सम्भव छ, त्यसलाई हेरेर बनाउनुपर्छ,’ घिमिरेले आग्रह गरे ।


सौराहामा अहिले १ सय १५ होटल रहेको उनले जानकारी दिए । अढाइ तलाभन्दा माथिका होटल पनि सौराहा क्षेत्रमा प्रशस्तै बनेका छन् ।


नयाँलाई मापदण्ड लगाउँदा पुरानाहरूलाई के गर्ने भन्ने प्रश्न उठ्ने पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी र संरक्षणकर्मीसमेत रहेका चितवन निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना दुईवटा कुराबाट मापदण्डको सुरुवात हुनुपर्ने बताउँछन् । ‘सौराहामा जेजसरी घर होटल बनेका छन्, नयाँ मापदण्ड बनाएर कार्यान्वयनमा जाँदा जटिलता आउन सक्छ,’ ढुंगानाले भने ।

प्रकाशित : भाद्र १३, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?