कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लाभग्राहीले रुचाएनन् प्रबलीकरण

हेटौंडा — भूकम्पले घर चर्केपछि प्रबलीकरणमा परेका लाभग्राहीले मर्मत गर्न रुचि देखाएका छैनन् । पहिलो किस्ता लिएपछि लाभग्राहीले दोस्रो किस्ता लिन जाँगर नै नदेखाएका हुन् ।

दोस्रो किस्ताका निम्ति ३० जनाले प्रक्रिया सुरु गरेका छन् । ‘प्रबलीकरणमा परेका लाभग्राहीले पहिलो किस्ता लगेपछि दोस्रो अर्थात् अन्तिम किस्ता लैजान प्रक्रिया नै सुरु गरेका छैनन्,’ जिल्ला आयोजना कार्यान्वय एकाइ (भवन) का इन्जिनियर रविन पाठकले भने, ‘दोस्रो किस्ता लैजानका लागि ३० जनाले मात्रै प्रक्रिया सुरु गरेका छन् ।’


नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रबलीकरणमा परेका लाभग्राहीलाई २ किस्तामा गरेर १ लाख रुपैयाँ मात्र दिने गरेको छ । एक लाख रुपैयाँले प्रबलीकरण गर्न नपुग्ने भएकाले केहीले सुरुमा नै अनुदान सम्झौता गरेका छैनन् भने केहीले पहिलो किस्ता लगेर दोस्रो किस्ताका निम्ति प्रक्रिया नै सुरु गरेका छैनन् ।


‘पहिलो किस्ता लगेका अधिकांश लाभग्राहीहरूले प्रबलीकरणको सुरुवात पनि गरेका छैनन् । प्रबलीकरण गर्न रकम नै अत्यन्त अपुग हुने भएकाले लाभग्राहीले अनुदान सम्झौता गर्न र दोस्रो किस्ता अनुदान लैजान जाँगर नै देखाएका छैनन््,’ जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का एक प्राविधिकले भने, ‘प्राधिकरणले दिएको रकमले २५ प्रतिशत पनि प्रबलीकरणको काम नहुने भएकाले लाभग्राही उत्साहित नै देखिएनन् ।’


मकवानपुरमा १२ हजार ९ सय ४६ प्रबलीकरणका लाभग्राही छन् । तीमध्ये ७ हजार ३ सय २७ लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । दोस्रो किस्ता लैजानका लागि ३० जना लाभग्राहीले प्रक्रिया सुरु गरेका छन । ७ हजार २ सय ९७ लाभग्राहीले दोस्रो किस्ता लैजानका लागि प्रबलीकरणको काम पनि सुरुवात गरेका छ्रैनन् ।


निजी आवास पूर्ण क्षति भएर लाभग्राही सूचीमा परेका भन्दा अर्ध क्षति भएको प्रबलीकरणको लाभग्राहीमा परेकाले प्रबलीकरणतर्फ चासो नै दिएका छैनन् । ‘प्रबलीकरणको अनुदान रकम अत्यन्त न्यून भएकाले लाभग्राहीहरूले रकम लिन चासै देखाएका छैनन्,’ इन्जिनियर पाठकले भने, ‘प्रबलीकरण गर्न अनुदान रकम कम भएकाले होलाजस्तो लाग्छ ।’ प्रबलीकरण अत्यन्त सुस्त गतिमा बढेको छ ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?