मकवानपुरमा क्षयरोगी बढे   

धुलो, धुवाँ, चुरोट, सुर्ती र मादक पदार्थ सेवनका कारणले क्षयरोगीको संख्या बर्सेनि बढदै गइरहेको स्वास्थ्यकर्मीको दाबी  
प्रताप विष्ट

हेटौंडा — घरमा रहेका तीनै जना एउटै रोगको औषधि सेवन गरिरहेका छन् । मकवानपुरका मनहरी गाउँपालिका १ घैयाडाँडाका शुक्रबहादुर चेपाङको परिवारले क्षयरोगको औषधि सेवन गरिरहेको हो । विगत तीन महिनादेखि उनीहरुले क्षयरोगको औषधि सेवन गरिहेको स्थानीय स्वयंसेविका सोमलक्ष्मी चेपाङले बताइन् । 

मकवानपुरमा क्षयरोगी बढे   

यो परिवार विगतमा काठमाडौंका विभिन्न भागमा ढुंगागिटी कुट्ने गर्दै आएका थिए । ६ महिनाअघि मात्र उनीहरु गाउँ फर्केका हुन् । गत जेठमा वडा कार्यालयको सक्रियतामा स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च (हड) क्षयरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।


शिविरमा स्वास्थ्य परीक्षण गराउँदा शुक्रबहादुरको पत्नी र छोरीमा समेत क्षयरोगको जीवाणु फेला परेको हुडका कार्यक्रम संयोजक विष्णु भण्डारीले बताए । शिविरमा २२ जनाको खकार संकलन गरिएको थियो । संकलित खकार परीक्षण गर्ने क्रममा २ बालिकसहित ११ क्षयरोगी फेला परेको उनले जानकारी दिए । क्षयरोगी सबै घैयाडाँडाका चेपाङ समुदायका हुन् ।


शुक्रकी १३ वर्षीया छोरी ४ कक्षामा पढ्‌छिन । सधैं धुलोधुवाँमा काम गर्ने र चुरोट, सुर्तीसँगै मादक पदार्थ अत्यधिक मात्रामा सेवन गर्ने कारणले गर्दा उनीहरुमा क्षयरोग देखापरेको हुन सक्ने भण्डारीले सुनाए । घैयाडाँडामा मात्र होइन, मकवानपुरमा क्षयरोगीको संख्या बर्सेनि बढो छ ।


धुलो, धुवाँ, चुरोट, सुर्ती र मादक पदार्थ सेवनका कारणले क्षयरोगीको संख्या बर्सेनि बढै गइरहेको स्वास्थ्यकर्मीको दाबी छ । क्षयरोगीको संख्या जुन अनुपातमा वृद्धि भए पनि डट्स प्रोग्रामका कारणले क्षयरोगीको मृत्यु हुन भने पाएको छैन । आव ०७५/७६ मा मकवानपुरमा ६ सय ४५ क्षयरोगी फेला परेका छन् ।


गत आवमा १ सय ५ जना नयाँ क्षयरोगी फेला परेका हुन् । चुरे क्षेत्रमा बस्ने अधिकांश बासिन्दा बालुवा चाल्ने र गिट्टी कुट्ने क्रममा उड्ने धुलोका कारण उनीहरुमा क्षयरोग देखा परेको हो । क्रसर उद्योगको धुलोका कारणले पनि उद्योग नजिक रहेका बस्तीका बासिन्दामा यो रोग बढो छ ।


मकवानपुरको साविकको मनहरी, हाँडीखोला, बसामाडी, पदमपोखरी, चुरियामाई, हर्नामाडी, छतिवन, फापरबारी राईगाउँ गाविस र हेटौंडा उपमहानगरपालिका केही क्षेत्र क्षयरोग प्रभावित क्षेत्र हुन् । प्रभावित क्षेत्र चुरे क्षेत्रमा पर्छन् भने अर्कोतिर फापरबारी, हर्नामाडी र छतिवनबाहेक साविकका गाविस र नगरपालिकामा क्रसर उद्योगहरु छन् ।


‘धुलो र धुवाँका कारण क्षयरोगीको संख्या बढ्ने गर्छ,’ स्वास्थ्य कार्यालय हेटौंडाका क्षयरोग कार्यक्रमका संयोजक भूपनारायण यादवले भने, ‘बालुवा चाल्ने, गिट्टी कुट्ने र क्रसर उद्योगमा काम गर्ने र त्यस वरिपरिका बस्तीका बासिन्दामा क्षयरोगको उच्च जोखिममा हुन्छन् ।’


मकवानपुरमा एक दर्जनभन्दा बढी बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर) का रोगी पनि छन् । उनीहरुले स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन् । मकवानपुरका सबै स्वास्थ्य संस्थाबाट डट्स कार्यक्रम सञ्चालनमा भइरहेको छ । एमडीआरका रोगीले हेटौंडा, मनहरी र बकैया गाउँपालिका छतिवन स्वास्थ संस्थाबाट सेवा लिइरहेका छन् ।

प्रकाशित : भाद्र ११, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?