कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चितवनमा डेंगु र स्क्रब टाइफसले ३ जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — डेंगु र स्क्रब टाइफसका कारण चितवनमा ३ जनाको मृत्यु भएको छ । चितवन स्वास्थ्य कार्यालयले बुधबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा साउन २३ गतेयता चितवनमा डेंगुबाट १, डेंगु र स्क्रब टाइफस भएर १ र स्क्रब टाइफस लागेर अर्को १ जनाको मृत्यु भएको कार्यालयका प्रमुख, वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपककुमार तिवारीले जानकारी दिए ।

चितवनमा डेंगु र स्क्रब टाइफसले ३ जनाको मृत्यु

चितवनमा दुवै खाले रोगका बिरामीको संख्या बढ्दो छ । डेंगु एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्दछ । स्क्रब टाइफस मुसाको शरीरमा हुने अत्यन्त साना भुसुना वा किर्नाको टोकाइले हुने गर्छ । दुवैको लक्षण लगभग मिल्दोजुल्दो रहेको चिकित्सकहरु बताउँछन् । परीक्षणबाट मात्रै के भएको हो भनेर छुट्टिन्छ । भरतपुर अस्पतालमा दुवै रोग लागेर आउने बिरामी भेटिएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट (मेसु) डा.श्रीराम तिवारीले बताए । ‘एकजना युवक आकस्मिक कक्षमा आए । ज्वरो आउने, जिउ दुख्ने लक्षण लिएर आएका उनलाई परीक्षण गरेपछि डेंगु र स्क्रब टाइफस दुवै भएको पत्ता लाग्यो’ मेसु डा.तिवारीले भने । चितवन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले डेंगु र स्क्रब टाइफस दुवै भएर साउन २३ गते भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा चितवन शुक्रनगरकी १ जना १६ वर्षे युवतीको निधन भएको पत्रकार सम्मेलनमा जानकारी गराए ।


त्यसैगरी नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा साउन ३१ गते डेंगुले एकजना ७१ वर्षका पुरुषको निधन भएको थियो । नवलपुर घर भएका ती व्यक्ति नारायणगढ गंगोत्रीमार्गमा बस्दथे । सोही अस्पतालमा भदौ ७ गते रौतहटका १ पुरुषको स्क्रब टाइफसले निधन भएको केसीले बताएका छन् । ६ गते उपचारका लागि भर्ना भएका उनको भोलिपल्टै निधन भएको हो ।


साउनयता भदौ १० गतेसम्म जिल्लाका विभिन्न १२ अस्पताल र क्लिनिकहरुमा भएको प्रयोगशाला परीक्षणले ४३३ जनामा डेंगु भएको पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपककुमार तिवारीले जानकारी दिए । त्यसैगरी स्क्रब टाइफस ४० जनामा देखिएको छ । जसमध्ये २० जनाको भरतपुर अस्प्तालमा उपचार भइरहेको छ । डेंगुका बिरामीहरु भरतपुर महानगरपालिकामा अत्यधिक देखिएका छन् । कुल बिरामीमध्ये २७५ जना भरतपुर महानगरका छन् ।


भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार भरतपुरको पनि बजार क्षेत्रका वडाहरु १, २, ३, ४, १० र ११ मा डेंगुको संख्या धेरै नै छ । एडिस लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ । ५ एमएल मात्रै जमेको पानी छ भने पनि त्यहाँ लामखुट्टेले अण्डा पार्ने केसीले बताए । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाका प्रतिनिधि सूर्य तिवारीले महानगरले वडा कार्यालय र टोल विकास संस्थाहरुलाई यस बारेमा सजग गराएको र कार्यक्रम चलाएको जानकारी दिए ।


त्यसैगरी पानी जमेको गर्मी समयमा मुसा दुलो बाहिर आउने र यस्तो समयमा स्क्रब टाइफसको खतरा बढ्ने फिजिसियन डा.भोजराज अधिकारी बताउँछन् । ‘यस्तो बेलामा शरीर छोप्ने कपडाहरु लगाए मुसाको भुसुना र लामखुट्टेको टोकाइबाट जोगिन्छ । जसले गर्दा स्क्रब टाइफस र डेंगुको खतराबाट जोगिन मद्दत पुग्छ’ डा.अधिकारीले भने । भदौ, असोज र कात्तिकसम्म डेंगुको खतरा कायम रहने भएकाले सजग हुन उनको अनुरोध छ ।


प्रकाशित : भाद्र ११, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?