कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थानकोट दिउँसै अँध्यारो

सीमा तामाङ

काठमाडौँ — चर्को घाम । धुलाम्य सडक । सवारीसाधनको चर्कै आवाज । पुराना गाडीले फ्याँकेको कालो धुवाँ पनि सहनै पर्छ, थानकोट चेकपोस्ट पुगेपछि । चेकपोस्टको महादेवस्थान आवासदेखि एनसीसी बैंकसम्मको बाटोमा साधारण मास्कले छेक्दैन धूलो र धुवाँ । 

तल गुर्जुधारातर्फ र चेकपोस्टभन्दा माथिका सडक पिच भए पनि बीच भागमा रहेको चेकपोस्टको सडक अलपत्र छन् । सडकको एकतर्फी करिब ८ सय मिटर सडक खनेर अलपत्र छाडेको स्थानीय बताउँछन् ।


पिच सडकमा हिँड्न नपाउने शंका व्यक्त गर्छन्, स्थानीय भूपाल त्रीपाठी । उनले त्यहाँका घरधनीले सडक निर्माणमा अवरोध गरेकाले चलनचल्तीअनुसार जग्गाको क्षतिपूर्ति दिएर तत्काल सडक पिच गर्नुपर्ने माग गरे । ‘केही स्थानीयले मुआब्जाका कारण घर भत्काएका छैनन्,’ उनले भने, ‘सरकारसँग घर भत्काउने पहुँच छ । क्षतिपूर्ति दिएर भए पनि सडक पिच हुनुपर्छ । ट्यांकरको पानी ल्याएर सडकमा छर्केर छारो हाल्ने कामले हुँदैन ।’


बीच भागको सडक अलपत्र पारेर स्थानीयलाई धूलोमा हिँड्न बाध्य बनाएको उनको गुनासो छ । ‘२०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ निरीक्षणमा आएर ४० दिनमा पिच गर्ने आश्वासन दिएका थिए,’ उनले भने, ‘निरीक्षण भएको २

वर्ष बित्दा पनि सडक अवस्था ज्युकात्युँ छ ।’ दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने सडकको अवस्था यस्तो छ ।


ठूलाठूला सवारीसाधन गुडदा त दिउँसै अँध्यारो हुन्छ, चेकपोस्ट खण्ड । चन्द्रागिरि नगरपालिका, वडा कार्यालय ६ र ७ मा सडकको गुनासो गर्दा पनि नसुनेको स्थानीयको भनाइ छ । घाम लाग्दा दिउँसै कुहिरीमण्डल र पानी पर्दा हिलाम्ये हुन्छ, कलंकी–नागढुंगा सडकखण्ड । एकतर्फीको बाटोमा निर्माण सामग्री यत्रतत्र फैलाएर राख्दा आउजाउ गर्ने गाह्रो भएको त्रिपाठीको भनाइ छ ।


खाजा पसल सञ्चालन गरिरहेका विष्णु भुसाल भन्छन्, ‘धूलोधुवाँका कारण व्यापार नै ठप्प छ । पसल सञ्चालन गरेको ३ महिना भयो । भाडा तिर्न पनि पैसा पुग्दैन । झ्यालढोकामा पर्दा राख्दा पनि धूलो पस्छ ।’ बाहिर उडेको धूलो देखेर नै ढोकामा आइपुगेको ग्राहक फर्किने गरेको उनको अनुभव छ ।


चुनाव नजिकिँदै गर्दा जनप्रतिनिधिहरू घरघरमा आइपुगे पनि चुनाव सकेपछि देख्न पनि नपाइने उनको गुनासो छ । ‘अहिलेका जनप्रतिनिधि पेट भर्न मात्र तल्लीन छन्,’ उनले भने, ‘चुनाव सकेपछि फर्केर नहेर्ने प्रवृत्ति छ ।’ सोही ठाउँकी अर्की स्थानीय सीता चापागार्इंको पनि समस्या उस्तै छ । निर्माण व्यवसायी र कर्मचारीकै मिलेमतोमा समयमा काम हुन नसकेको उनको भनाइ छ । धूलोले सास्ती दिएको बताउँदै उनले भनिन्, ‘पिचको काम समयमा हुन नसक्दा धूलोले स्वास्थ्यमा समेत असर पारेको छ । दिउँसो उड्ने धूलोले नजिकैको मान्छे पनि देखिँदैन । घरका कोठादेखि भान्साका खानामा पनि धूलो बस्छ ।’


सडक निर्माण २०७६ असारसम्ममा सक्ने गरी २०७२ सालमा बज्रगुरु/बिरुवा/सीएम जेभीसँग ३९ करोड २९ लाख ६४ हजार, शर्मा/शैलुङ/कान्छाराम जेभीसँग २९ करोड ५५ लाख ३२ हजार, लुम्बिनी/शैलुङ/साप जेभीसँग २८ करोड ७९ लाख ९७ हजार र शर्मा/शैलुङ/कान्छाराम जेभीसँग ५४ करोड ६७ लाख ५८ हजारमा ठेक्का सम्झौता भएको थियो । तर म्याद सकिए पनि अझै काम पूरा हुन सकेको छैन ।


थानकोट चेकपोस्टमा धेरै काम बाकीँ नरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठ बताउँछन् । हाल निर्माण गरिरहेको कम्पनीले घर भत्काउने अनि सडक पिच गर्ने भनी पर्खिँदैन, जति खुल्ला सडक छ त्यतिमा नै काम गर्ने उनको भनाइ छ । ‘कम्पनीसँग मंसिरसम्ममा काम सकाउने निणर्य भइसकेको छ,’ उनले भने, ‘अब त्यहाण्ँका स्थानीयको समस्या छिट्टै अन्त्य हुन्छ ।’ यही घर भत्काएर सडकको चौडाइ बढाउने तथा अन्य काम पनि अर्को कम्पनी आहृवान गरेर पुनः काम गर्ने उनले बताए ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?