कान्ति लोकपथमा ढिलाइ

प्रताप विष्ट

हेटौंडा — आगामी असोजदेखि ठूला सवारीसाधनसमेत सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य भइरहेको कान्ति लोकपथको निर्माण समयमै सकिने छाँट देखिएको छैन । असार अन्तिम साताको बाढीपहिरो कारणले निर्धारित समयभित्र निर्माण असम्भव भएको हो ।

साना–ठूला गरी सयभन्दा बढी स्थानमा पहिरो गएकोकाले निर्माण कार्य लम्बिने हो कि भन्ने ठम्याइ कान्ति लोकपथ आयोजनाको छ । आयोजनाका अनुसार कतिपय स्थानमा सडक नै बगेको छ । ‘असारको अन्तिम र साउनको पहिलो सातामा गएको पहिरोले कान्ति लोकपथलाई ठूलो क्षति पुर्‍यायो,’ आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी अमिन्द्र खड्काले भने ।


आयोजनाका अर्का इन्जिनियर दिपेश रजकका अनुसार बाढीपहिरोले क्षतिग्रस्त सडकको मर्मतसम्भारसँगै सडकलाई केही फराकिलो पार्ने काम तीव्रगतिमा भइरहेको छ । उनले भने, ‘सम्भव भएसम्म असोजमै मालवाहक ठूला सवारीसाधनहरू सञ्चालनमा ल्याउने प्रयास हाम्रो हो ।’ उक्त सडक खण्डको मकवानपुर क्षेत्रमा पर्ने विभिन्न भागमा पहिरोले सडक क्षतिग्रस्त बनाएको थियो । उक्त क्षतिग्रस्त सडकको अवरोधहरू पन्छाएर हलुका सवारीसाधनहरू आवतजावत गर्न सक्ने भएका छन् ।


विशेषगरी मकवानपुर क्षेत्रको ठिंगनदेखि बगुवासम्मको करिब १० किलोमिटरमध्ये ५ किमि सडक अत्यन्त जोखिमयुक्त छ । उक्त सडक खण्डको मर्मतसम्भार गर्ने कार्य भइरहेको मकवानपुर खण्डका साइड इन्चार्ज रजकले बताए । उनले भने, ‘यो खण्ड अत्यन्त जोखिमयुक्त छ, पानी पर्नेबित्तिकै माथिबाट पहिरो झरिहाल्छ ।’


आयोजनका प्रमुख विनोद सापकोटाले मर्मत कार्य तीव्रगतिमा भइरहेको जनाए । उनले भने, ‘तैपनि सवारीसाधन निर्बाध ढंगले सञ्चालनमा आउन सकिएका छैनन् ।’ आयोजनका सूचना अधिकारी खड्काले सडक फराकिलो बनाउन ठेक्का दिएको निर्माण कम्पनीलाई उपकरणहरू बढी राखेर काम गर्न दबाब दिने काम भइरहेको बताए । ‘तोकिएको समयमा ठूला सवारीसाधन सञ्चानलमा ल्याउन सकिँदैन कि भन्ने चिन्ताले कम्पनीलाई काम छिटो गर्न दबाब दिइरहेका छौँ,’ आयोजना प्रमुख सापकोटाले भने ।


उक्त लोकपथको करिब ३३ किलोमिटर सडक कालोपत्रे भइसकेको थियो । त्यसमध्ये झन्डै १० किलोमिटरभन्दा बढी कालोपत्रे सडकमा क्षति पुर्‍याएको छ, ०७६ वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यले लोकपथका स्तरोन्नतिको काम भए पनि विस्फोटक पदार्थको अभावले पनि तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकिरहेको आयोजनाले जनायो । सूचना अधिकारी खड्काले भने, ‘बाढीपहिरोले गर्दा केही महिना धकेलिन्छ कि जस्तो लाग्छ, तर तोकिएको समयमानै सञ्चालनमा ल्याउन प्रयत्नशील छौं ।’

प्रकाशित : भाद्र ११, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?