कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशसभा बैठक : राजधानी र नामकरणलाई कार्यसूचीमा राख्न माग

सुवास बिडारी

मकवानपुर — प्रदेश सरकारले स्थायी राजधानी र नामकरण विषयलाई चालू प्रदेशसभामा एजेन्डा नबनाएको भन्दै सांसदहरू मुख्यमन्त्री र सभामुखप्रति रुष्ट बनेका छन् ।

प्रदेशसभा बैठक : राजधानी र नामकरणलाई कार्यसूचीमा राख्न माग

प्रदेशसभाको सोमबार बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसद्ले यो विषयमा कार्यविधि नै तयार भइसकेको अवस्थामा सभाको कार्यसूचीमा किन समावेश नगरिएको भन्दै प्रश्न गरेका थिए । केही सांसदले मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठप्रति आक्रोशसमेत पोखेका थिए । विशेष समयमा बोल्ने २१ सांसद्मध्ये धेरैले यो दुई विषयलाई तत्काल सदनबाट टुंग्याउन जरुरी रहेको बताएका थिए । उनीहरूले भने, ‘वर्षे अधिवेशनभित्रै यो विषय टुंग्याउनुपर्छ ।’


सत्तापक्ष सांसद् अष्टलक्ष्मी शाक्य, चन्द्रबहादुर लामा, बद्री मैनाली, वेलीमाया घले, रत्नप्रसाद ढकाल, लक्ष्मण लम्साल तथा प्रतीपक्ष सांसद् विजुला बर्मा, रमेश पौडेल, रिता माझी तथा शोभा शाक्यले प्रदेशको राजधानी र नामाकरणको विषयलाई टुंग्याएर स्थायी मानसिकतामा बस्न जरुरी रहेको औंल्याएका थिए ।


‘राजधानी र नामकरणको विषय नटुंगिँदा स्थायी मानसिकताले सरकार र कर्मचारी प्रशासनले काम गर्न सकेन । सर्वत्र प्रदेशको टीकाटिप्पणी सुरु भइसकेको छ,’ सांसद अष्टलक्ष्मीले भनिन्, ‘मुख्यमन्त्री, सभामुख तथा उपसभामुखलाई जिम्मेवार बनेर अगाडि बढ्नुपर्छ ।’


गत वैशाख ३१ मा सदनमा राजधानी टुंगो लगाउने कार्यविधि पेस भएको थियो । सदनबाट पारित भएको उक्त कार्यविधि अनुसार सहमति नभएमा राजधानी सम्भाव्यता अध्ययन समितिले औंल्याएको पाँच स्थानलाई नै मतदानमा लगिने छ । राजधानीको विषयमा अध्ययन समिति गठन, अध्ययन, प्रतिवेदन पेस र कार्यविधि पारित गर्न एक वर्ष समय लगाएको प्रदेश सरकारलाई यतिबेला सांसदहरूले टुंगो लगाउन चर्को दबाब दिन थालेका छन् ।


सरकार र सभामुखप्रति सत्तापक्ष सांसद् आक्रोश प्रदेश सरकार र सभामुख सानुकुमार श्रेष्ठ जिम्मेवारी ढंगबाट प्रस्तुत नभएको बताउँदै सत्तापक्षकै सांसद्हरूले आक्रोश पोखेका छन् । विपद्को समयमा प्रदेश सरकारको उपस्थिति नदेखिएको र सभामुखले दुई महिनासम्म प्रदेशसभाको बैठक सञ्चालन गर्न नसकेकोभन्दै सत्तापक्षकै सांसद्हरूले सरकारको विरोध गरेका छन् । ‘सरकार मुख्यमन्त्रीको र सदन सभामुखको मात्र हो ? सांसदले बोलेको विषयलाई नसुन्ने कस्तो सरकार हो ?’ सांसद चन्द्रबहादुर लामाले सरकार मूल विषयबाट भाग्न खोज्ने र सभामुखले साथ दिने काम भइरहेको भन्दै आक्रोश पोखे ।


नेकपाका सांसद बद्री मैनालीले नमुना काम गर्छौं भनेर प्रदेश सरकारले घोषणा गरे पनि काम गर्न नसकेपछि मुख्यमन्त्री तथा मन्त्रीहरू नै नमुना भइरहेको आरोप लगाए ।


सत्तापक्षकी सांसद बेलीमाया घलेले आपत्मा प्रदेश सरकार काम नआएको बताउँदै सांसद शोभा शाक्यले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन् । घलेले प्रदेशको विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिइन् । तत्काल उद्धार समिति गठन गरी विपद्को समयमा परिचालन गर्ने गरी काम अघि बढाउन उनले सरकारलाई आग्रह गरिन् । यस्तै, नेकपाकै सांसद राजेन्द्रमान श्रेष्ठले विपद् व्यवस्थापन समितिले पूर्णता पाउनुपर्ने बताए । उनले विपद् व्यवस्थापनको काम गर्ने क्षमता युक्त जनशक्तिसहितको संयन्त्र प्र्रदेश सरकारले तयार गर्नुपर्नेमा जोड दिए ।


कांग्रेस सांसद बिजुला बर्माले सरकारले गरेको कामबाट जनताले सरकारप्रति विश्वास नै गर्न छोडेको दाबी गरिन् । न्यायालय र प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप बढेको तर्क गर्दै उनले जनताको न्यायप्रतिको विश्वास नै गुमेकोले सरकार जवाफदेही ढंगबाट प्रस्तुत हुनुपर्नेमा जोड दिइन् । सांसद लक्ष्मण लम्सालले विपद्को समयमा आफूले सरकारलाई सदन आहृवान गर्न आग्रह गरेको भए पनि बेवास्ता भएको गुनासो गरे ।


विधेयकमाथि सैद्धान्तिक छलफल

प्रदेशमा गठन हुने लोकसेवा आयोगले संघीय लोकसेवा आयोगको इज्जत कायम गर्न सक्नुपर्ने सांसदहरूको धारणा रहेको छ । प्रदेशसभामा आइतबार पेस भएको प्रदेश लोकसेवा आयोग गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सोमबार सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरूले संघीय आयोगको इज्जत प्रदेशले पनि कायम गर्नुपर्नेमा जोड दिएका हुन् । ‘ढिलो भए पनि यो विधेयक प्रदेशसभामा पेश भएको छ,’ विवेकशील नेपाली दलका सांसद रमेश पौड्यालले भने, ‘संघीय संवैधानिक आयोगमा विश्वसनीय रूपमा काम गरिरहेको यो आयोग प्रदेशमा गठन हुँदा पनि उस्तै कायम हुनुपर्छ ।’


यसैगरी, सोमबार नै प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक निजी सहकारी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल पनि सकिएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिले प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रदेशसभामा पेस गरेको छ । समितिकी सभापति रमा आलेले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?