कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गेर्खुटार खोलाले डाइभर्सन बगाएर सास्ती

कृष्ण थापा

गेर्खुटार, नुवाकोट — चीनको केरुङबाट विद्युतीय सामग्री लिएर काठमाडौं हिँडेका ट्रक चालक विदुरनगरपालिका २ का कृष्ण रावल बेत्रावतीमा रोकिए । उनको शुक्रबार राति काठमाडौं पुग्ने योजना थियो तर भारी वर्षाका कारण पासाङ ल्हामु मार्गको गेर्खुखोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि उनी बेत्रावतीमा बास बस्नुपर्‍यो ।

रसुवागढी नाकाबाट शुक्रबार राति ९ बजे सामान लिएर आइपुगेका रावलसहित दर्जनौं गाडीचालकको बास नुवाकोट र रसुवा बेत्रावतीमा र केहीको रसुवाको कालिकास्थान भयो । विदुरनगरपालिका १ र १० वडाको सिमाना गेर्खुखोलाले डाइभर्सन बगाएपछि उनीहरूको बास बाटामा भएको बताए ।


‘राति आइयो,’ रावलले भने, ‘धन्न त्यहाँ होटल रहेछ र खाना खाएर गाडीमै सुतियो । नत्र भोकै परिन्थ्यो ।’ उनी एक्लो भने होइनन् । चितवनका राजु भुजेलको अवस्था उस्तै छ । चीनको केरुङ नाका हुँदै रसुवागढी र टिमुरेमा भन्सार पास गरेर उनले स्याउ ल्याएका थिए । ‘आउँदै गरेको बाटो त खोलाले बगाइसकेछ,’ उनले भने, ‘स्थायी रूपमा पुल बनेको भए समयमा सामान काठमाडौं पुर्‍याइन्थ्यो । गाडीमा बास बस्नुपर्ने थिएन ।’


शुक्रबार राति आएको बाढीले अस्थायी रूपमा बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भइरहेको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज विकल भट्टराईले बताए । ट्राफिकका अनुसार उक्त सडक खण्डमा दैनिक ३५ सयभन्दा बढी साना र ठूला सवारी आवतजावत गर्छन् । सडक खण्डको बेत्रावतीपट्टि दर्जन सवारी रोकिएका थिए भने ढुंगेपट्टि पनि दुई दर्जन सानाठूला सवारी रोकिए ।


रसुवाको टिमुरेको रसुवा भन्सार यार्डमा ४०–५० वटा ट्रक र कन्टेनर रोकिएको भन्सार छुटेर आएका भुजेलले बताए । त्यति मात्र नभई पछिल्लो समय स्थलमार्ग हँदै मानसरोवर जाने तीर्थयात्री यही सडक हुँदै आवतजावत गर्छन् । यात्राका क्रममा सडक अवरोध भएपछि उनीहरू बीच बाटामै सवारीसाधनभित्र बास बस्न बाध्य छन् । यही सडकखण्ड हुँदै चीनको नाका केरुङ र रसुवासँग जोड्ने मुख्य मार्ग हो ।


सिन्धुपाल्चोकको तातोपानी नाका जाने सडक खण्ड अवरोध भएपछि रसुवागढी नाका सञ्चालनमा आएको हो । केही दिनयता गेर्खुटारखोलामा अस्थायी डाइभर्सन बनाउने र खोलाको भेलले भत्काउने खेल जारी छ । यही सडक गल्छी—त्रिशूली—मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले निर्माण गरिरहेको छ । आयोजनाको ठेकेदार कम्पनी कोभेक–तुण्डी–रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ ।


उक्त सडक खण्डमा पर्ने पक्की पुलको ठेक्का हिमदुङ एन्ड थोकरले लिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पुल एकातिर, खोला अर्कोतिर बगेपछि खोलाले अस्थायी डाइभर्सन बगाउने क्रम रोकिएको छैन । सडक आयोजनाका ठेकेदार कम्पनी तुण्डीले पुल निर्माणछेउ आफ्नो कार्यक्षेत्र नपरे पनि मानवीय र सडक अवरोधका कारण अस्थायी डाइभर्सन बनाइरहेको आयोजनाले जनायो ।


तुण्डीले बिहीबार, शुक्रबार र शनिबार पनि अस्थायी डाइभर्सन बनाएर यातायात आवतजावत गराइरहेको छ तर स्थायी रूपमा खोलामा पुल निर्माण ढिलाइले समस्या यथावत रहेको छ ।


पासाङल्हामु मार्ग भासियो

रसुवा– पासाङल्हामु मार्गको सदरमुकाम धुन्चे नजिकै ब्राबल खण्डमा सडक भासिएर यातायत अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाले भासिएको सडक आइतबार बिहान मर्मत गरिएको थियो । मर्मत गरेको करिब तीन घण्टामै पुनः भासिएपछि यातायात अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।


उनले भने, ‘भासिएको स्थानमा सडक निर्माण गर्ने कार्य भइरहेको छ ।’ सडकको कुनातर्फ ब्रेकर लगाएर पहरो काट्ने काम भइरहेको छ । साना यातायात आजै चल्न मिल्ने गरी निर्माणकार्य भइरहेको भण्डारीले जनाए । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक यही नै हो ।


सडक अवरुद्ध हुँदा चीनको केरुङबाट सामान लिएर आएका कन्टेनर बाटामै रोकिएका छन् । पासाङल्हामु मार्गको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानो भार्कु लगायत धेरै ठाउँमा पहिरोको समस्या छ । त्यस्तै, स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको अवस्था पनि उस्तै छ । उक्त सडक खण्डमा पहिरोको जोखिम धेरै रहेको छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?