३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लोकप्रिय ‘लाखे’ नाच

राजेन्द्र मानन्धर

दोलखा — ‘लाखे’ काल्पनिक राक्षसको रुपलाई चित्रण गर्दै नचाउने नाच यस वर्ष दोलखामा सर्वाधिक रुचीको जात्रा बन्यो । घण्टाकर्णदेखि सुरु भएर कृष्णअष्टमीको भोलिपल्ट मध्यरात सम्पन्न गरिने यो जात्रा यस वर्षदेखि दोलखाको जिरी बजारमा पनि सुरु भयो ।

लोकप्रिय ‘लाखे’ नाच

शैलुङको बाघखोर बजारमा पहिलोपटक हिलेजात्रा मनाइयो, त्यसमा यो नाच देखाइयो । जहाँ यो नाच निस्कन्छ, त्यहाँ साना वयष्कसम्मको भीड हुन्छ । चरिकोटका निजी विद्यालयहरुले विद्यार्थीको आग्रहमा स्कुल-स्कुलमा पनि लाखे नचाइयो ।


स्थानीय भाषामा लाखे निकाल्ने भनिन्छ । लाखे एकजना पुरुषले जिब्रो निकालेको डरलाग्दो अनुहार आकृतिको मखुण्डो लगाएको हुन्छ । चौरीको पुच्छरको चम्मरहरु गुजुल्टो पारेर फेटाले बाँधेको टाउको पछाडि लामालामा कपाल जस्तै झुण्डिएको हुन्छ । जामा लगाएको, नाडी र पाखुरामा लामा कपडा बाँधिएको हुन्छ । साथमा केही व्यक्तिहरु विभिन्न रमाइला आकारका मखुण्डो लगाएको झुत्रेमुत्रे भेषमा हुन्छन्, त्यसलाई दाउरे भनिन्छ ।


चरिकोटको पशुपति डाँडामा जब लाखे नाच्ने बाजा बज्छ, स्कुलबाट विद्यार्थीहरु भागेर आइपुग्छन् । त्यसैले स्कुलले पनि बालबच्चालाई रमाइलो गराइदिन लाखे निकालेका हुन् । चरिकोट बजारमा लाखे घुम्दा पछिपछि मान्छेको भीडले पछ्याउँछ । लाखे जात्राको अवधिभर करिब महिना दिन घरघरमा बच्चाहरु लाखेजस्तै बनेर नाच्छन् । बच्चाहरुबीच ‘यसरी नाच्यो उसरी नाच्यो वा दाइ लाखे बन्यो त्यो दाइ दाउरे बन्यो’ चर्चा लाखेकै हुन्छ ।


लाखे निकाल्ने व्यवस्था गर्ने चरिकोटस्थित लालीगुँरास युवा क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले यस वर्ष निकालिएको विभिन्न जात्राहरुमध्ये लाखे सर्वाधिक रुचाइएको बताए । क्लबले एक महिनासम्म हिलेजात्रा देखाउन युवा परिचालन गर्छ ।

धर्म, संस्कृति, परम्पपरा र जात्राहरु निकाल्न चरिकोट बजारमा उक्त क्वल सक्रिय छ । यस वर्ष पनि उक्त क्लबले लाखे निकाल्यो र विधिपूर्वक कृष्णअष्टमीको भोलिपल्ट थन्क्यायो । समापन गरिने बेलाको नाचलाई लाखे मार्ने भनिन्छ । यो हेर्न हजारौं मानिस मध्यरातसम्म कुर्छन् । श्रीकृष्ण र लाखेको घमसान युद्ध भनिने लाखे मार्ने जात्रा रातको १२ बजेसम्म चल्छ ।


शनिबार राति लाखे मार्दा दजनौं अनलाइन र व्यक्तिहरुले फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरे । लाखेको उत्तेजक नृत्य र श्रीकृष्णले खेलाइखेलाई थकित बनाउने अनि मार्ने अभिनय हेर्न जात्राको भीड गएको वर्षभन्दा बाक्लो थियो । यो जात्रा यस जिल्लामा प्राचीन सहर दोलखा बजारबाट सुरु भएको हो । लाखे नेवारी परम्परागत जात्राको प्रतीक बने तापनि यो नाच हेर्ने दर्शक विभिन्न जातिका हुन्छन् । सातौं शताब्दीदेखि नेवारी परम्परा भएको दोलखामा यो जात्रा विधिपूर्वक निकालिन्छ । यस वर्ष लाखेसँगै नाच्ने दाउरेलाई पुरस्कृत गर्ने स्थानीय कालिञ्चोक युवा क्लबले गर्‍यो । उक्त क्लब दोलखा बजारको जात्रा संस्कृति जोगाउन कृयाशील हुन्छ ।


जिरीमा स्थानीय नेवारले आफ्नै तरिकाले लाखे निकाले । जिरी नेवाःदेयः दबुले जात्राको व्यवस्थापन गरेको बाबुराजा श्रेष्ठले बताए । लाखेको साथै घिन्ताङघिसि जात्रा पनि पहिलोपटक देखाइएको उनले जानकारी दिए । पहिलोपटक जिरीमा विभिन्न नेवारी मौलिक जात्राहरुले गुल्जार बन्यो ।

बाघखोर बजारमा शैलुङ गाउँपालिकाले हिलेजात्रा महत्सवको आयोजना गर्‍यो । उक्त जात्रामा लालीगुँरास युवा क्लबले लाखे प्रदर्शन गरिदियो । उक्त बस्तीमा आगामी वर्षबाट स्थानीय व्यवस्थापनमा लाखे देखाउने तयारी भइरहेको छ ।


लोकप्रिय लाखे देशका विभिन्न भागमा निकालिन्छ । आधुनिक जमानामा मनोरञ्जनको विकल्प बढिरहेका बेला जात्रा संस्कृति लोप हुँदै छ । तर, यसअघि कहिल्यै लाख नाच नभएको स्थानमा पनि यो जात्रा देखाइएको छ । खासगरी दोलखा बजार, चरिकोट र जिरीमा युवा पंक्तिले जात्रा सम्हाल्न थालेपछि लाखे विशेष बन्दै गएको छ । युवा आफैं लाखे नाच्छन्, आफै बाजा बजाउँछन् ।

प्रकाशित : भाद्र ८, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?