जहाँ गयो त्यहीँ जात्रा

कृष्ण जन्माष्टमीकै दिन जाता निकाल्दा धार्मिक भावना पनि जोडिने र धर्म मान्ने सबैलाई जुटाएर रमाइलो गर्ने मेसो पनि बनेको छ ।
रमेशकुमार पौडेल

चितवन — नारायणगढ बजार माथिको कालोपत्रे खेत,तरुनी, तन्देरीको भेट, घ्याम्पो जत्रो पेट । त्यो खेत रोप्नका लागि हल, गोरु, बाउसे लिएर, घरै घरपिच्छे आउने रे ।आयो भने आयो, आएन भने लगा छ रे दण्ड । 

नारायणढमा रोपाइँ जात्रा मनाउने क्रममा कृष्णको रूपमा सजिएका बालबालिकाहरू । तस्बिर : रमेशकुमार/कान्तिपुर

नेवारी बाजाको तालमा यस्ता पंक्तिहरू दोहर्‍याउँदै शुक्रबार बिहान नारायणगढ बजारमा एक हूल युवाहरू निस्किए । बजारको नारायणी कला मिन्दरमा जमघट भएर दिउँसो रोपाइँ जात्रा निस्कँदै थियो ।

जात्रा निस्कनुअघि जताततै जानकारी दिन उनीहरू बजार डुलेका थिए । जात्राको सूचना फैलाउनुलाई ‘हो पाँचो हो’ भनिन्छ । यसको चाँजोपाँजो मिलाउँदै थिए, ७८ वर्षीय गणेशकुमार विपना । ‘ल आऊ है भनेर सप्पैलाई भन्नुपर्‍यो नि,’ उनले भने । तनहुँ बन्दीपुरमा जन्मेका विपना ६२ वर्षअघि विस २०१४ देखि नारायणगढमा बस्दै आएका छन् ।

‘यो रोपाइँ जात्रा भक्तपुरका नेवार समुदायले निकालेको चलन हो । भक्तपुरबाटै बन्दीपुर पुगेका नेवार समुदायले त्यहाँ पनि यसलाई जारी नै राखेका छन् । बन्दीपुरबाट नेवारहरूको ठूलो समूह चितवन झर्‍यो । ‘त्यसपछि यहाँ पनि यो जात्रा चलिरहेको छ,’ विपनाले सुनाए । भक्तपुरबाट बन्दीपुर गए पनि र बन्दीपुरबाट चितवन पुगे पनि उनीहरू जात्रासँग जोडिएरै रहेका छन् ।

नागपञ्चमीपछि जात्रा र पर्वहरू सुरु हुने गर्छ । नेवार समुदायमा जनै पूर्णिमाको भोलिपल्ट गाईजात्रा, चतुर्दशीमा बाघ जात्रा र कृष्णजन्माष्टमीमा रोपाइँ जात्रा निकाल्ने चलन छ । विपनाका अनुसार विसं. २०१७ देखि चितवनमा रोपाइँ जात्रा हुन थालेको हो । कुनै घरमा कसैको मृत्यु भएको छ भने उसको सम्झानामा घरबाटै गाईजात्रा निस्कने गर्दछन् । रोपाइँ जात्रा पनि घरबाटै निकाल्ने हो ।

कलाकारसमेत रहेका पूर्वशिक्षक तथा नेवार अगुवा ऋद्धिचरण श्रेष्ठ रोपाइँ सकिएपछि रमाइलो गर्न यो जात्रा निस्कने गरेको बताउँछन् । ‘रोपाइँमा कामको चाप हुन्छ । तैपनि रोपाहारा, हली, बाउसेहरू रमाइलो गरेर काम गर्छन् । हिलो छ्याप्ने, हिलोमै धकेला धकेल गर्नेजस्तो रमाइलो जात्रामा अभिनयमार्फत गर्न खोजेको हो । तर जात्रामा कामको दुःख हुँदैन । रमाइलो मात्रै हुन्छ,’ श्रेष्ठले भने । कृष्ण जन्माष्टमीकै दिन जात्रा निकाल्दा धार्मिक भावना पनि जोडिने र धर्म मान्ने सबैलाई जुटाएर रमाइलो गर्ने मेसो मिलाएको उनले बताए ।

तर, रोपाइँ जात्रासँग एउटा जनविश्वास पनि जोडिएको छ । त्यो हो, सन्तानसँग जोडिएको जनविश्वास । ‘जुन घरबाट रोपाइँ जात्रा निस्कियो त्यो घरमा सन्तान हुन्छन् भन्ने मान्यता पनि जोडिएको छ,’ विपनाले भने । तर अहिले यो मान्यताले खासै अर्थ राख्दैन । जात्रा भनेको संस्कृति जोगाउनु हो भन्ने ठान्नेहरू छन् ।

‘जात्राको चाँजोपाँजो धेरै नै मिलाउनुपर्छ । निरञ्तरता दिन गाह्रो छ । ३४/३५ सालतिर त जात्रा नै निस्कन छाड्यो । अनि त्यो बेला उद्योग वाणिज्य संघको पहलमा बैठक बस्यो । ‘लाखे नाँच उद्योग वाणिज्य संघले गर्ने, बाघजात्रा राइनो क्लबले गर्ने र रोपाइँ जात्रा नारायणी कला मिन्दरले गर्ने भन्ने निर्णय भयो,’ विपनाले भने । कला मन्दिरले ५४ सालदेखि प्रत्येक वर्ष रोपाइँ जात्रा निकाल्दै आएको छ ।

‘बन्दीपुरमा साँझ सुरु भएको रोपाइँ जात्रा रातभर चलेर बिहानपख सकिन्थ्यो । तर अहिले जात्रा त्यो स्वरूपमा छैन । बन्दीपुर छाडेर आए पनि संस्कृतिलाई निरञ्तरता दिनुपर्छ भन्ने सोचेका कारण जारी राख्न भने सकेका छौं,’ नारायणगढका रेशमलाल श्रेष्ठले भने । नारायणगढमा लाखे नाच खासै देखिन्न, बाघ जात्रा निकाल्न खर्च र अन्य कुराको सकस रहेको उनले बताए ।

‘आफैंले मात्रै नसके पनि विभिन्न संघसंस्था र व्यक्तिहरूसँग सहयोग जुटाएर रोपाइँ जात्रा भने निरञ्तर हुँदै आएको छ,’ कला मन्दिरका कार्यवहाक अध्यक्ष उद्धव जोशीले भने । जात्रामा बालबालिकाहरू कृष्णको भेषमा आएका हुन्छन् । पाका व्यक्तिहरू रोपाइँ गर्दा जेजति गतिविधि हुन्छ त्यसैको अभिनय गरेर रमितेहरूलाई सकेसम्म हँसाउन खोज्छन् । जात्रा निकाल्दा एकजना कर्ता भने अनिवार्य हुन्छ । जो चोखो रहेर पूजा र जात्राको समापन गर्छन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

नन्दीको मूर्ति हरायो

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका—५ बराम्चीको ‘गेगङकुण्ड दोम्बोङपोखरी’ बाट करिब तीन सय वर्ष पुरानो मानिने नन्दीको मूर्ति हराएको छ । झन्डै हजार वर्ष पहिले पत्ता लगाइएको भनिएको सुन्दरतम् ‘दोम्बोङ पोखरी’ परम्पराको महत्त्वपूर्ण शिव, नन्दीको मूर्ति बौद्ध र हिन्दुधर्मका समुदायले पुज्दै आएका हुन् । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थित ुगेगङकुण्ड दोम्बोङपोखरी’ महादेव ध्यानस्थ भएको ओडारबाट हराएको नन्दीको मूर्ति । फाइल तस्बिर/कान्तिपुर

मन्दिरका मूल पुजारीका अनुसार वर्षैपिच्छै पोखरीभन्दा माथिल्लो भेग लेकाली ओडारमा महादेवसहित नन्दीको आकर्षक स्वरूप कुँदिएको पुरानो मूर्ति स्नान दर्शन गरी जात्रा मनाइन्थ्यो । यस पटकको जनैपूर्णिमा मूर्ति गायब भएको पाइएपछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘डेढ फिट लम्बाइ, एक मिटर उचाइ भएको उक्त मूर्ति दस किलो तौलको छ, पुरानो मानिएको मूर्तिबारे गहिरो प्रारम्भिक अनुसन्धान अगाडि बढाएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भने ।

पहिलेको जनैपूर्णिमा पुजिएको तर यसपटक ओडारमा मूर्ति नभएपछि स्थानीयमा खैलाबैला मच्चिएको उनले सुनाए । ‘मूर्ति हराउनाले शैव र बौद्ध परम्परालाई खलल पुगेको छ,’ उनले भने । (अनार्य शैवग्रन्थमा उल्लेख गरिएको) ‘तन्त्र अश्वेत’ मूर्ति ओडारबाट हराएपछि प्रहरीले स्थलगत स्थानीयबीच सोधपुछ गरिरहेको छ ।

पहिले पनि धेरैपटक मूर्ति चोरी गर्ने प्रयास भए पनि दैवीशक्तिको कारणले गर्दा चोर असफल भएको स्थानीय वृद्धवृद्धामा किम्वदन्ती चर्चित छ । पोखरीभन्दा ४ देखि ५ किलोमिटर परसम्म मूर्ति लगिए पनि (उचाल्नै नसक्ने गरी) एक्कासि गह्रुँगो भएपछि चोरले त्यहीँ छाडेर भागेको जनश्रुति छ ।

तीन हजारको उचाइमा रहेको जनैपूर्णिमामा विशेष मेला लाग्ने ‘गेगङकुण्ड दोम्बोङ पोखरी’ मा देवाधिदेव महादेव आएर ध्यानस्थ भएको मानिन्छ । स्थानीयका अनुसार चौरी या भेडा गोठालाले चरनक्षेत्र खोज्दै आउँदा दोम्बोङमा पोखरीबाट जति हिँडे पनि उता जानै सकेनन् ।

तल्लो पोखरीभित्र सिद्ध लामाले ज्योतिष, तन्त्रमन्त्र या ध्यान मार्गबाट महादेवको बासस्थान पत्ता लगाए । पोखरीको माथिल्लो ओडारमा र पोखरीभित्र महादेवको महाशक्तिले बास गरेको उनीहरूले पत्ता लगाएपछि यो परम्परा चलिआएको थियो ।

परम्परामा ठेस
हिन्दु धर्मग्रन्थअनुसार शिवको वाहन मानिने नन्दी या साँढे हराउनुलाई अशुभ मान्दै गाउँले दैवीपुकार गरेका छन् । प्राकृतिक रूपमा आफैं उत्पन्न भएको मानिने शिवमूर्ति शिला र नन्दीको मूर्तिलाई पत्ता नलागेसम्म शुभ नहुने मान्यताका कारण यसमा जनप्रतिनिधिले पहलकदमी लिइरहेको बताएका छन् ।

‘मूर्ति हराउनाले सबैको परम्परामा ठूलो ठेस पुगेको छ, पोखरीमा नुवाएपछि महादेव नन्दीको दर्शन नगरी तीर्थयात्रा पूरा भएको मानिँदैन,’ जुगल गाउँपालिका ५ बराम्चीकाअध्यक्ष सनत अधिकारीले भने । हृयोल्मो धर्मग्रन्थदेखि बौद्ध साहित्य परमार्थ र हिन्दु धर्ममा वर्णन गरिएका पुण्य पोखरी मानिने दोम्बोङ पोखरीलाई पर्यटकीय प्रवर्द्धनको लागि जुटिरहेको उनले प्रस्ट्याए ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्