१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नन्दीको मूर्ति हरायो

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका—५ बराम्चीको ‘गेगङकुण्ड दोम्बोङपोखरी’ बाट करिब तीन सय वर्ष पुरानो मानिने नन्दीको मूर्ति हराएको छ । झन्डै हजार वर्ष पहिले पत्ता लगाइएको भनिएको सुन्दरतम् ‘दोम्बोङ पोखरी’ परम्पराको महत्त्वपूर्ण शिव, नन्दीको मूर्ति बौद्ध र हिन्दुधर्मका समुदायले पुज्दै आएका हुन् । 

नन्दीको मूर्ति हरायो

मन्दिरका मूल पुजारीका अनुसार वर्षैपिच्छै पोखरीभन्दा माथिल्लो भेग लेकाली ओडारमा महादेवसहित नन्दीको आकर्षक स्वरूप कुँदिएको पुरानो मूर्ति स्नान दर्शन गरी जात्रा मनाइन्थ्यो । यस पटकको जनैपूर्णिमा मूर्ति गायब भएको पाइएपछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


‘डेढ फिट लम्बाइ, एक मिटर उचाइ भएको उक्त मूर्ति दस किलो तौलको छ, पुरानो मानिएको मूर्तिबारे गहिरो प्रारम्भिक अनुसन्धान अगाडि बढाएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भने ।


पहिलेको जनैपूर्णिमा पुजिएको तर यसपटक ओडारमा मूर्ति नभएपछि स्थानीयमा खैलाबैला मच्चिएको उनले सुनाए । ‘मूर्ति हराउनाले शैव र बौद्ध परम्परालाई खलल पुगेको छ,’ उनले भने । (अनार्य शैवग्रन्थमा उल्लेख गरिएको) ‘तन्त्र अश्वेत’ मूर्ति ओडारबाट हराएपछि प्रहरीले स्थलगत स्थानीयबीच सोधपुछ गरिरहेको छ ।


पहिले पनि धेरैपटक मूर्ति चोरी गर्ने प्रयास भए पनि दैवीशक्तिको कारणले गर्दा चोर असफल भएको स्थानीय वृद्धवृद्धामा किम्वदन्ती चर्चित छ । पोखरीभन्दा ४ देखि ५ किलोमिटर परसम्म मूर्ति लगिए पनि (उचाल्नै नसक्ने गरी) एक्कासि गह्रुँगो भएपछि चोरले त्यहीँ छाडेर भागेको जनश्रुति छ ।


तीन हजारको उचाइमा रहेको जनैपूर्णिमामा विशेष मेला लाग्ने ‘गेगङकुण्ड दोम्बोङ पोखरी’ मा देवाधिदेव महादेव आएर ध्यानस्थ भएको मानिन्छ । स्थानीयका अनुसार चौरी या भेडा गोठालाले चरनक्षेत्र खोज्दै आउँदा दोम्बोङमा पोखरीबाट जति हिँडे पनि उता जानै सकेनन् ।


तल्लो पोखरीभित्र सिद्ध लामाले ज्योतिष, तन्त्रमन्त्र या ध्यान मार्गबाट महादेवको बासस्थान पत्ता लगाए । पोखरीको माथिल्लो ओडारमा र पोखरीभित्र महादेवको महाशक्तिले बास गरेको उनीहरूले पत्ता लगाएपछि यो परम्परा चलिआएको थियो ।


परम्परामा ठेस

हिन्दु धर्मग्रन्थअनुसार शिवको वाहन मानिने नन्दी या साँढे हराउनुलाई अशुभ मान्दै गाउँले दैवीपुकार गरेका छन् । प्राकृतिक रूपमा आफैं उत्पन्न भएको मानिने शिवमूर्ति शिला र नन्दीको मूर्तिलाई पत्ता नलागेसम्म शुभ नहुने मान्यताका कारण यसमा जनप्रतिनिधिले पहलकदमी लिइरहेको बताएका छन् ।


‘मूर्ति हराउनाले सबैको परम्परामा ठूलो ठेस पुगेको छ, पोखरीमा नुवाएपछि महादेव नन्दीको दर्शन नगरी तीर्थयात्रा पूरा भएको मानिँदैन,’ जुगल गाउँपालिका ५ बराम्चीका अध्यक्ष सनत अधिकारीले भने । हृयोल्मो धर्मग्रन्थदेखि बौद्ध साहित्य परमार्थ र हिन्दु धर्ममा वर्णन गरिएका पुण्य पोखरी मानिने दोम्बोङ पोखरीलाई पर्यटकीय प्रवर्द्धनको लागि जुटिरहेको उनले प्रस्ट्याए ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?