कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरकोटमा होटल रिसोर्टद्वारा अतिक्रमण

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रे र भक्तपुरको सिमाना नगरकोटमा अतिक्रमण गरी बनेका अस्थायी घरटहरासँगै पक्की संरचना पनि हटाउन तयारी थालिएको छ ।

काभ्रेतर्फको भूभागमा अतिक्रमण गरी वनेका होटल तथा रिसोर्टका संरचना हटाउन मण्डनदेउपुर नगरपालिका, प्रशासन र डिभिजन वन कार्यालय काभ्रेले तयारी थालेको हो ।


डिभिजनल वन अधिकृत बद्रीकुमार कार्कीले अतिक्रमण यकिन भइसकेकाले हटाउन सुरु गरिने बताए । ‘काभ्रे र भक्तपुरतर्फका अस्थायी संरचना हटाइसकेका छौं,’ प्रमुख कार्कीले भने, ‘अतिक्रमणबारे यकिन गरेर तथ्यांक लिइसकेका छौं । अब छिट्टै अतिक्रमण हटाउछौं ।’


काभ्रे भक्तपुरको सिमाना नगरकोट नाल्दुम क्षेत्रमा अतिक्रमण गरी वनेका होटल तथा रिसोर्ट हटाउन २०६७ सालदेखि प्रयास भए पनि प्रशासनको बेवस्ता र आलटालका कारण हटाउन सकिएको थिएन । अतिक्रमणकारीको जालो, शक्ति र पहुँच, राजनीतिक र प्रशासनिक निकायको दोहोरो चरित्र, जनप्रतिनिधिविहीन अवस्था र आँट गर्ने कर्मचारी सरुवा हुने कारणले अतिक्रमण हट्न नसकेको हो । सार्वजनिक जग्गा भएकाले स्थानीय तहले हटाउनुपर्ने तर्क वन कार्यालयले गर्दै आएको थियो भने स्थानीय तहले वन क्षेत्र भएकाले वन कार्यलय नै अतिक्रमण हटाउन पहल गर्नुपर्ने तर्क गर्दै आएको थियो ।


२०३३–२०३८ सालमा नापी हुँदा बाँझो जग्गा भएकाले रेकर्डमा पर्ति जग्गा नै उल्लेख छ । तर नाल्दुम नगरकोट क्षेत्रमा पहाडी सामुदायिक वन कार्यक्रमअन्तर्गत २०४०/४१ सालमा वृक्षरोपण भएपछि त्यहाँ अहिले वन क्षेत्र छ । जिल्ला वन क्षेत्र नियन्त्रण कार्यदलले २०६७ सालमा नै अतिक्रमणबारे अध्ययन गरेर प्रतिवेदन पेस गरे पनि त्यसयता अतिक्रमण हटाउने काममा प्रगति भने भएको थिएन ।


मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाले सरोकारवालासँगको छलफलपछि हटाउन थालिने बताए ।

काभ्रे र भक्तपुरको सिमाना पर्ने नगरकोट र नाल्दुम क्षेत्रमा रहेका क्लब हिमालय, स्पेस माउन्टेन, होटल भ्यु प्वाइन्ट, लास्ट होराइजन रिसोर्ट, मधुवन होटल, द फोर्ट, स्तूपा रिसोर्ट, होटल चौतारी, सनसाइन रिसोर्ट, होटल बेसो, होटल ग्रिन भ्याली, होटल माइल स्टोन, होटल निर्भना भ्याली लगायतका होटल तथा रसोर्टले सार्वजनिक जग्गा अतिक्रमण गरी व्यवसाय गरिरहेका छन् । भूकम्पले क्षति पुगेको स्पेस माउन्टेन अहिले सञ्चालनमा छैन । साविक नाल्दुम ८ मा ४० वटा जति होटल तथा छाप्रोले सार्वजनिक जग्गा अतिक्रमण गरी व्यवसाय गर्दै आएका थिए । डिभिजन वन कार्यालय भक्तपुर र काभ्रेको असग्ररतामा हालै ती अस्थायी संरचना हटाइएको थियो ।


डिभिजन वन कार्यालय काभ्रेको तथ्यांकअनुसार ३१ रोपनी सार्वजनिक जग्गा, २ सय ५२ वर्गमिटर वन क्षेत्र अतिक्रमण भएको छ । तथ्यांक अनुसार, क्लब हिमालयनले १३ रोपनी, द फोर्टले ५ रोपनी, स्पेस माउन्टेनले एक रोपनी, होटल भ्यु प्वाइन्टले २ रोपनी र मधुवन होटलले १ रोपनी जग्गा अतिक्रमण गरी व्यवसाय सञ्चालन गरिरहेका छन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?