कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोले गेर्खुटार–बेत्रावती सडक अवरुद्ध

कृष्ण थापा

गेर्खुटार (नुवाकोट) — भारी वर्षाका कारण पासाङ ल्हामु मार्गको त्रिशूली नजिक रहेको ढुंगेबजार–बेत्रावती सडक खण्डमा पर्ने तिरतिरे भीर, गेर्खुखोला र गुह्य खोल्सामा सडक अवरुद्ध भएको छ । 

सडक खुलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । ठाउँ–ठाउँमा पहिरो गएकाले सडक खुलाउन स्थानीय, सशस्त्र र नेपाल प्रहरी परिचालित भएको उनले बताए ।


पासाङ ल्हामु मार्गको ढुंगेदेखि रसुवा बेत्रावतीसम्म निर्माणाधीन गल्छी—त्रिशूली—मैलुङ सडक आयोजनाको कार्य क्षेत्र पर्छ । उक्त सडक खण्ड विदुरनगरपालिका १० वडाभित्र रहेको छ । सडक ८ किमी रहेको छ ।


जिल्ला ट्राफिक कार्यालय नुवाकोटका अनुसार बेत्रावर्ती र ढुंगेतर्फ चार दर्जन बढी सवारी रोकिएका छन् । एउटा गाडी गुह्यखोल्सामा रहेको सडकको हिलोमा फसेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका इन्चार्ज विकल भट्टराईले जानकारी दिए ।


गतवर्ष पनि भारी वर्षात्का कारण गेर्खुटारदेखि बेत्रावतीसम्मको सडक निर्माण एकमहिना अवरुद्ध भएको थियो ।


त्यसैगरी पासाङल्हामु मार्ग कायम भएको रसुवाको ग्राङमा पहिरो आएपछि एकतर्फी सडक खुलाइएको ट्राफिक कार्यालय रसुवाले जनाएको छ ।


ग्राङमा पहिरो पन्छाएर एकतर्फी रुपमा आवतजावत गराएको कार्यालयले जनाएको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको तातोपानीमा पनि सडक अवरोध छ । त्यहाँ झरेको लेदो पन्छाउने काम भइरहेको छ ।


सडक अवरोध भएपछि रसुवा सदरमुकाम धुन्चेमा दुई दर्जन गाडी रोकिएका छन् । टिमुरेमा पनि त्यति नै संख्यामा गाडी रोकिएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?