अझै बनेन केन्द्रीय पुस्तकालय

शोधपत्र (थेसिस) को सामग्री चोरी हुन नदिन अत्याधुनिक प्रविधिको प्रयोग, इलेक्ट्रो म्याग्नेटिक सिस्टमको सुधार, रेडियो फ्रिक्वेन्सी सिस्टम (आरएफएस) को जडानलगायत सुधारका योजना छन्
विपिन श्रीस

काठमाडौँ — भूकम्प गएको चार वर्ष बितिसक्दा पनि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको क्षतिग्रस्त भवन पुननिर्माण हुन सकेको छैन । पुस्तकालय भवनका चारवटा कोठा काम नलाग्ने गरी क्षति भएका थिए ।

पुनर्निर्माण नहुँदा पुस्तकालयले ६ कोठे टहरा निर्माण गरी तीन कोठामा अध्ययन कक्ष सञ्चालन र पत्रपत्रिका भण्डारण गर्न बाध्य भएको छ ।

भवन, कर्मचारी अभाव र बजेटको कमीका कारण पुस्तकालयलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन अझै पनि चुनौती रहेको पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । उनका अनुसार पुनर्निर्माणका लागि बल्ल पहल भइरहेको र नयाँ भवन बनाउने प्रक्रिया पनि सुरु भएको अधिकारीले बताए ।

‘क्षतिग्रस्त कोठा पुनर्निर्माणको लागि एक अमेरिकी संस्थालाई प्रस्ताव गरेका थियौं । फेरी पनि प्रस्ताव गरेका छौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्षभित्र सम्पन्न हुने गरी नयाँ भवन बनाइदिने प्रस्ताव अघि बढेको छ,’ अधिकारीले भने ।

अनेरास्ववियु त्रिवि समितिका अध्यक्ष मन विष्टले पुस्तकालयको भवन पुनर्निर्माण गर्न ढिलो भएको बताए । यसबारेमा पुस्तकालयका प्रमुखसँग पटकपटक छलफल गरेको र अहिले मात्र नयाँ भवन बन्ने कुरा आएको उनले बताए । पुस्तकालयमा भवनसँगै कर्मचारीको पनि अभाव छ । ९० जनाको दरबन्दी रहेको केन्द्रीय पुस्तकालयमा हाल ४१ जना कर्मचारी मात्र कार्यरत छन् ।

त्रिवि सेवा आयोगले कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छैन । ‘उच्च दक्ष कर्मचारीको अभाव रहेको छ, त्यसैले जति गर्नुपर्ने हो त्यति काम गर्न सकेका छैनाैं,’ अधिकारीले भने, ‘दस/पन्ध्र जना स्वयंसेवक परिचालन गरेर भए पनि आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौं ।’ पुस्तकालयमा सेमेस्टर प्रणालीअनुसारको पुस्तकको पनि अभाव छ । पुस्तकालय प्रमुख अधिकारीले किताब पर्याप्त नभएकाले समस्या परिरहेको बताए ।

‘सेमेस्टरका लागि विदेशी पुस्तकमा भर पर्नुपर्ने अवस्था छ, विद्यार्थीले माग्नेबित्तिकै दिन गाह्रो पर्छ,’ उनले भने, ‘अहिले नेपाली प्राध्यापकहरूले पनि पुस्तक लेख्दै हुनुहुन्छ । त्यसपछि सहज हुन सक्छ ।’ पुस्तकालयमा नयाँ पुस्तकहरू, अन्तर्राष्ट्रिय जर्नलहरू उपलब्ध नहुने पाठकहरूको गुनासो छ ।

‘हालसालै प्रकाशन भएका अन्तर्राष्ट्रिय पुस्तकहरू यहाँ भेटिँदैनन,’ केन्द्रीय पुस्तकालयमा अध्ययन गर्न जाने बालकृष्ण अधिकारीले भने, ‘सबै पुस्तक किन्न त सम्भव छैन, यहाँ सबै भेटिँदैन ।’ पाठकहरूको गुनासोमाथि प्रतिक्रिया दिँदै प्रमुख अधिकारीले हार्ड कभर जर्नलहरू कम भए पनि इन्टरनेटबाट अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको बताए । उनले भने, ‘जेस्टर, प्रोजेक्ट म्युज, इन्टरनेसनल डाटावेस, नेपजोल लगायतका साइटमा हजारौं पुस्तक, लेख रचना पढ्न सकिने व्यवस्था मिलाइएको छ ।’

अधिकारीले थप डाटाबेस खरिद गरी त्रिविका ६१ ओटै आंगिक क्याम्पसलाई नि:शुल्क वितरण गर्ने योजना रहेको बताए । सरकारले विदेशबाट आयात गर्ने पुस्तकमा कर लगाएपछि त्यसको असर पुस्तकालयमा पनि परेको अधिकारीको भनाई छ । उनले भने, ‘दिल्लीबाट पुस्तक लिन डेढ–दुई महिना लाग्ने स्थिति छ । प्रकाशक, वितरकमार्फत लिनुपर्छ । करका कारण ढिलाइ भएको हो कि भन्ने लाग्छ ।’

त्रिवि केन्द्रीय क्याम्पसबाट व्यावसायिक अध्ययनमा स्नातकोत्तर गरी हाल लोक सेवाको तयारीका लागि पुस्तकालय धाउने गरेका जीवन अवस्थीले अध्ययन कक्ष, शौचालय, सरसफाइलगायतका क्षेत्रमा पुस्तकालयले सुधार गर्नुपर्ने बताए । पुस्तकालय प्रमुख अधिकारीले पनि पानी, शौचालय, ढल व्यवस्थापन पर्याप्त नभएको स्वीकार्दै त्यसलाई सुधार गर्दै जाने बताए ।

अध्यक्ष विष्टले पुस्तकालयलाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताए । ‘पुस्तकालय खुल्ने समय पनि बढाएर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टा सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

शोधपत्र (थेसिस) को सामग्री चोरी हुन नदिन अत्याधुनिक प्रविधिको प्रयोग, इलेक्ट्रो म्याग्नेटिक सिस्टमको सुधार, रेडियो फ्रिक्वेन्सी सिस्टम (आरएफएस)को जडान लगायतका सुधारका योजनाहरू रहेको अधिकारीले बताए । तर बजेटका कारण तत्काल लागू गर्न सक्ने अवस्था छैन । उनले भने, ‘आरएफएसका लागि मात्र एक करोड भन्दा बढी लाग्छ । बजेट भने पर्याप्त छैन । विश्वविद्यालय अनुदान आयोगलगायतका संस्थासँग माग गरेर अन्तर्राष्ट्रिय डाटाबेससमेत थप गर्ने योजनामा छौं ।’

अधिकारीका अनुसार पुस्तकालयको वार्षिक बजेट झन्डै चार करोड रहेको छ । नयाँ पुस्तकहरू थप्न, फर्निचर, कार्यालय व्यवस्थापनमा नै सकिन्छ । नयाँनयाँ प्रविधिमा लगानी गर्न बजेट पर्याप्त छैन । कर्मचारी अभावको बाबजुद पनि व्यवस्थापनको सकेसम्म सुधार गरिरहेको पुस्तकालय प्रमुख अधिकारीको दाबी छ । ‘दक्ष कर्मचारीको अभाव छ । अध्ययन कक्षको कमी छ । फर्निचरहरू थप गर्नुपर्ने छ,’ पुस्तकालय प्रमुख अधिकारीले भने । 

प्रकाशित : भाद्र ५, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

रातिराति भैरव–कुमारी

राजेन्द्र मानन्धर

दोलखा — प्राचीन दोलखा सहरमा जब रात छिप्पिन्छ, बाजागाजासहित भैरव र कुमारी सेनामेनाका साथ सहर पस्छ । भाद्र कृष्ण द्वितीयादेखि षष्ठीसम्म रातभर बाजा बजाउँदै सहर घुम्ने क्रम चलिरहल्छ ।

सहरको टोलहरूमा भैरव र कुमारी पुग्दा सहरबासी उठ्छन र दर्शन गरेपछि कोही सुत्न घर फर्कन्छन् कतिपय सँगै घुम्छन् । बाहिरबाट आएका मानिस भैरव कुमारीसँगै रमाउने गरेका छन् ।

परम्परागत ढाँचामा टसिचा टोलबाट निस्कने भैरवकुमारी जात्रा राति १० बजेदेखि सुरु हुन्छ । सहर घुमेर बिहानीपख थन्क्याइन्छ । यो जात्रा चलिरहेकाले प्राचीन सहर दिनभन्दा रातमा बढ्ता भीडभाड भइरहेको वडा अध्यक्ष विराज श्रेष्ठ बताउँछन् । तान्त्रिक विद्या जानेका गुठियार र शिवभक्ति जातका खलक भैरव र कुमारीको भेष धारण गर्छन् ।

यो जात्रामा अभिनयको भूमिका निर्वाह गर्ने १३ जना हुन्छन् । रातभरि १२ जना कुसुले र २ जना कसाईले बाजा बजाइरहन्छन् । भैरव कुमारी ढोलक र अन्य बाजाको तालमा अघिपछि गर्दै नाचिने रोचक जात्रा हेर्न टाढाबाट मानिस आइरहेका छन् । जात्रको मुख्य रहस्य कुमारी रिसले मानव संहार गर्छु भन्दै अगाडि बढदा भैरवले छेक्दै नरसंहार रोक्ने खोजेको अभिनय हो ।

जात्रामा भैरव र कुमारीलाई छुन, ढोग्न, पूजा सामग्री चढाउन तँछाडमछाड चल्छ । नि:सन्तान महिला गर्भवती हुने, दीर्घरोग निको हुने र बोली नफुटेका बालक बोल्ने विश्वाससाथ दर्शन गर्न आउनेहरू हुन्छन् । समस्या भएकाहरूलाई भैरव र कुमारीको बीचमा राखेर भिन्दै तालले चर्को बाजा वजाइदिन्छन्, कुमारको गणसहितले समातेर तीनचोटि ओहोरदोहोर मनोकांक्ष गराइदिएपछि इच्छा पूरा हुने जनविश्वास लिएर जात्रे घर फिर्छन् ।

स्थानीय संस्कृतिका अध्येता तीर्थनारायण जोशीका अनुसार नकिन (थकाल्नी) ले रातो सारी चोलो, हातमा धागो कात्ने फिरफिरे र लठ्ठी लिएको हुन्छ । सर गउ (सेनापति) को लुगा सेतो जामा, सेतो दौराजस्तो लगाएर घोडामाथि चढेको हुन्छ ।

उक्त भूमिकामा सबैले आआफ्नै तालमा नाचेको हेर्दा रात गएको थाहै नहुने जात्रामा सहभागी कल्पना श्रेष्ठ बताउँछिन् । मनोकांक्षा पूरा हुने विश्वासले स्थानीय चेलबेटीहरू ब्रत बस्नेसमेत गर्छन् । द्वितीयाको दिउँसो पूजा सामग्रीसहित एउटा बोका बालकुमारी मन्दिर (कोबीदेउ) मा तान्त्रिक विधिविधानबाट पूजा गरिएको भीमेश्वर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठ बताउँछन् ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्