उब्जनीले ९ महिनाभन्दा पुग्दैन खान

चितवन — नगरपालिकालाई हुने खानेहरूको बसोबास क्षेत्रका रूपमा बुझ्ने गरिन्छ । चितवनको राप्ती नगरपालिका–१३ मा बाह्रै महिना खान पुग्ने घरधुरी एउटा पनि छैन । यो वडा सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङ बहुल क्षेत्र हो । 

नगरपालिकाले नै गरेको घरधुरी सर्वेक्षणमा यो अवस्था भेटिएको हो । उब्जाउका हिसाबले तुलनात्मक रूपमा वडा– १३ कमजोर भए पनि बाह्रै महिना खान पुग्ने घर शून्य नै नभएको मत केहीको छ ।


नगरपालिका कार्यालयका अधिकारी भने सर्वेक्षण नतिजाले देखाएको कुरा ठीक भएको दाबी गर्दछन् । कुल १३ वटा वडा रहेको नगरपालिकाभित्र १२ हजार ५ सय ३१ घरधुरी छन् । प्रत्येक घरधुरीमा पुगेर गरेको सर्वेक्षणका आधारमा नगरको प्रोफाइल तयार भएको छ । गएको असारमा सम्पन्न नगरपालिकाको नगरसभामा प्रोफाइल सार्वजनिक भएको थियो ।


जसमा राप्तीको वडा – १३ का कुल ५ सय ७४ घरधुरीमध्ये तीन महिनासम्म खान पुग्ने घरधुरी सबैभन्दा धेरै २ सय ६० छन् । नगर प्रोफाइल तयार कार्यक्रममा संलग्न सूचना प्रविधि शाखाका प्रमुख लक्ष्मी कँडेलका अनुसार आफ्नै खेतको उत्पादनले खान पुग्ने घरपरिवारको अवस्था विश्लेषण गरिएको थियो ।


‘हामीले तीन महिनासम्म खान पुग्ने, ६ महिनासम्म खान पुग्ने, नौ महिनासम्म खान पुग्ने र नौ महिनाभन्दा माथि बाह्रै महिना खान पुग्ने परिवारको विवरण संकलन गरेको हो । आफ्नै खेतको उत्पादनले कति खान पुग्छ भनेर सोधेका थियौं,’ कँडेलले भनिन् ।


विवरण लिन सर्वेक्षक/गणक घर घरमा नै गएका थिए । उनीहरूलाई तालिम दिएर खटाइएको थियो । ‘त्यसरी गरेको घरधुरी सर्वेक्षणमा राप्ती–१३ मा नौ महिनाभन्दा माथि खान पुग्ने घरधुरीको संख्या भेटिएन । यो सत्य कुरा हो,’ कँडेलले भनिन् । राप्ती–१३ का वडाध्यक्ष सूर्यबहादुर चेपाङले भने अवस्था त्यस्तो नभएको बताए ।


मकै, कोदो भए पनि खाएर बाह्र महिना पुर्‍याउने परिवार आफ्नो वडामा धेरै रहेको उनले सुनाए । ‘बाह्रै महिना खान पुग्ने गरेर धान नफल्ला रे तर हाम्रो वडामा मकै, कोदो फल्छ,’ वडाध्यक्ष सूर्यबहादुर चेपाङले भने, ‘मकै, कोदो, सिमी भटमास बेचेर चामल किन्नेहरू पनि छन् । काम गरेर अन्न किन्नेहरू पनि छन् ।’


नगरपालिकाको कृषि तथा सहकारी शाखाका प्रमुख श्रीकृष्ण न्यौपाने पनि तथ्यांक संकलनमा केही कमजोरी भयो कि भनेर हेर्नुपर्ने बताउँछन् । प्रमाणीकरण कार्यशालामा मेयर, उपमेयर र वडाध्यक्षसहितका कार्यपालिका सदस्य तथा विषय विज्ञहरू पनि थिए ।


राप्ती–१३ मा परे पनि कान्दा गाउँ निकै विकट बस्ती हो । पहाडको कुनामा रहेको यो गाउँमा धेरैलाई खान धौधौ नै छ । चेकराम चेपाङको घरमा पुराना मकैको खातै खात भेटिन्छ ।

आफ्नो घरमा नौ वर्ष पुरानो मकै हुने गरेको उनी बताउँछन् । १२ नम्बर वडामा नौ महिनाभन्दा माथि खान पुग्ने घर एउटा मात्रै भेटिएको छ । ‘हाम्रो जिल्लाको विकट क्षेत्रमा यस्तो समस्या छ,’ राप्तीका उपमेयर इमानसिंह लामाले भने । तर समग्र नगरपालिकामा खाद्य सुरक्षाको अवस्था राम्रो देखिन्छ ।


नगर प्रोफाइलमा उल्लेख भए अनुसार नगरभित्रको उत्पादनले यहाँको एकजना व्यक्तिका लागि वर्षमा २ सय ९० केजी अन्न उपलब्ध हुने गरेको छ । जुन खाद्य सुरक्षाका दृष्टिले मजबुद अवस्था भएको मानिन्छ ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?