किट सकिँदा डेंगुको परीक्षण रोकियो

कान्तिपुर संवाददाता

मकवानपुर — महिनायता फैलिएको डेंगुको संक्रमण हेटौंडामा अझै रोकिएको छैन । दैनिक डेंगु रोगको विरामी बढिरहेको समयमा परीक्षण किट भने सकिएको छ । किट सकिँदा सरकारी स्तरबाट नि:शुल्क रुपमा हुँदै आएको डेंगु परीक्षण दुई दिनदेखि रोकिएको छ ।

हेटौंडा अस्पतालबाट प्रारम्भिक परीक्षणपश्चात् डेंगु भएको शंका भएमा थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय सिफारिस गर्ने गरेको थियो । ‘हेटौंडा अस्पतालबाट सिफारिस भएर आएका बिरामीको किट अभावका कारण हामीले परीक्षण गर्न सकेका छैनौं ’ जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रयोगशाला प्रमुख भूपनारायण यादवले भने ।

कार्यालयका तथ्यांकअनुसार किट अभावका कारण करिब ६० जना प्राइभेट क्लिनिकतर्फ लागेका छन् । कार्यालयले किट सकिएको कारण डेंगु परीक्षण रोकिएको छ भनेर सूचना भित्तामा टाँसेर राखेको छ । प्रदेश सरकार, जिल्ला प्रशासन मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले नि:शुल्क रूपमा डेंगु परीक्षण गर्ने निर्णय गरे पनि किट अभावमा हाल बिरामीहरू निजी क्लिनिकमा धाउन बाध्य छन् । हालसम्म मकवानपुरमा दुई सय ५१ जनामा डेंगु भेटिसकिएको छ । कार्यालयले करिब पाँच सय ९५ जनाको डेंगु नि:शुल्क परीक्षण गरिसकेको छ ।

निजी क्लिनिकले डेंगु परीक्षणका लागि मनलाग्दी शुल्क लिएसँगै स्थानीय प्रशासनले एक हजार रुपैयाँ मात्रमा परीक्षण गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनपश्चात् तोकिएको शुल्कमा निजी क्लिनिकहरूले डेंगु परीक्षण गरिरहेका छन् । किटको मूल्य पाँच सय रुपैयाँदेखि सातसय रुपैयाँसम्म पर्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले किट सकिएको जानकारी पाएसँगै आफू सक्रिय भएर किट ल्याउन पहल गरिरहेको बताए । ‘प्रदेश जनस्वास्थ्य निर्देशनालयले खरिद गर्ने हामीले विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमति भएको थियो । तर, निर्देशनालयले किट किन्न ढिलाइ गर्दा यस्तो समस्या भयो,’ प्रजिअ तामाङले भने, ‘सम्बन्धित पक्षलाई यस विषयमा जानकारी गराई सकिएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंहका अनुसार प्रदेश र संघीय सरकारसँग किटको अभाव भएको विषयमा आफूले जानकारी गराइसकेको बताए । मकवानपुरको मनहरी, भीमफेदी, बकैया, वाग्मती गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकामा डेंगुका बिरामीहरू भेटिरहेको छ । हेटौंडामा डेंगु किटको अभाव भएसँगै कतिपय बिरामीहरू परीक्षण तथा थप उपचारका लागि चितवन तथा काठमाडौंतर्फ धाइरहेका छन् ।

प्रकाशित : भाद्र ४, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

हेटौंडामा बृहत् खानेपानी आयोजना सुरु

कान्तिपुर संवाददाता

मकवानपुर — करिब १६ करोड रुपैयाँ लगानीमा हेटौंडामा बृहत् खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन निकास आयोजनाको ७० प्रतिशत र हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड र उपमहानगरपालिकाको ३० प्रतिशत सहलगानीमा मंगलबार निर्माण कार्य सुरु भएको हो ।

करिब दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको आयोजना प्रमुख नन्दलाल बञ्जाडेले जनाए । उनका अनुसार हेटौंडा–१०, टीसीएनमा पानी ट्यांकी र डिप बोरिङ, हेटौंडा–५ रुद्रेश्वर, हेटौंडा–२ हरिकुञ्ज रोड र हेटौंडा–१५ भोर्लेमा ओभर ग्राउन्ड ट्यांकी निर्माण गरिने छ । हेटौंडा उपमहानगरपालिका ७, ८ र १० मा गरी चार वटा डिप बोरिङ गरिने छ । खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाका कार्यकारी निर्देशक सुदर्शन ढकालका अनुसार चार स्थानको पानी ट्यांकीमा एकपटकमा करिब १९ लाख ५० हजार लिटर पानी जम्मा गर्न सकिन्छ । चारवटा डिप बोरिङबाट २५ लाख लिटर पानी उत्पादन हुने छ । ‘दैनिक हामी करिब सात/घण्टा पानी वितरण गरिरहेको छौं । अब भौतिक पूर्वाधारको विकास बढेसँगै हामी पानी वितरण गर्ने समय अझै बढाउने छौं ’ बोर्डका प्रमुख ढकालले भने । उनका अनुसार करिब १७ हजार एक सय ६१ जना ग्राहकले हाल बोर्डबाट सेवा लिइरहेका छन् ।

प्रकाशित : भाद्र ४, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्