जथाभावी खन्दा सडक भासियो

८ पक्की घर जोखिममा
३५ घरपरिवारको खानेपानी अबरुद्ध
स्थानीबासी विद्युत् सेवाबाट वञ्चित
लीला श्रेष्ठ

(भक्तपुर) — जथाभावी डोजर चलाउँदा लोकन्थलीमा सडक भासिएको छ । भासिएको सडकका कारण आठ पक्की घर जोखिममा परेका छन् । चार घर उच्च जोखिममा छन् । तीमध्ये दुई घरलाई खाली गराइएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए । गोरखनाथ मार्गको करिब ५० मिटर सडक भासिएको छ ।

मध्यपुर थिमि–१ लोकन्थलीमा ट्यांकी बनाउने क्रममा जथाभावी खन्दा मंगलबार भासिएको गोरखनाथ मार्ग । तस्बिर : लीला/कान्तिपुर 

पैदल हिँड्ने बाटोसमेत अवरुद्ध भएको छ । मध्यपुर थिमि–१ मा पर्ने उक्त मार्गमा भासिएको सडकका कारण सन्तोष तामाङ, प्रेम लामा, भरत पौडेल र कृष्ण थापाको घर पहिरोको उच्च जोखिममा छ । घरको प्रवेशद्वारसम्म भासिएको छ । करिब ३५ घरपरिवारले उपभोग गर्दै आएको खानेपानी अवरुद्व भएको छ भने ढल व्यवस्थापन टुटेको छ । लोकन्थली हाइट क्षेत्रको ढलको हिम पाइप पनि भासिएको छ । बिजुलीको खम्बासमेतलाई असर पुगेकोले लोकन्थलीबासी विद्युत् सेवाबाट समेत वञ्चित भएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) थिमिले रिजर्भ ट्यांकी खन्ने क्रममा असावधानीपूर्वक कार्य गरेकाले पहिरो गएको र सडक भासिएको स्थानीयबासीको गुनासो छ । ‘केयूकेएलले भूमिगत ट्यांकी निर्माणका लागि भूक्षयको जोखिम क्षेत्रमा डोजर, स्काइभेटर लगाउँदा सडक भासिएर बस्ती जोखिममा परेको छ,’ स्थानीय एवं काभ्रे जिल्ला समन्वय समिति सदस्य प्रेम लामाले भने, ‘वर्षात्को समयमा ट्यांकी नखन्न पटकपटक आग्रह गर्दा पनि जबरजस्ती डोजर लगाउँदा यो अवस्था आयो ।’ केयूकेएलका कर्मचारी, ठेकेदार र वडाध्यक्षको असावधानीले पहिरो खसेको उनको आरोप छ ।

गोरखनाथ समाज सेवा समितिले जिल्ला प्रशासन कार्यालय भक्तपुर, मध्यपुर थिमि नगरपालिका, केयूकेएल मध्यपुर थिमिलगायतलाई विपद् व्यवस्थापनको माग गरेका छन् । समितिका अध्यक्ष लक्ष्मण पौडेलका अनुसार तत्काल सडक खण्डको सुरक्षा गर्न आवश्यक व्यवस्थापन गर्न, क्षति पुगेका घरपरिवारको अस्थायी बसोबासको प्रबन्ध मिलाइदिन, क्षति पुगेको खानेपानी/ढलको मर्मत गर्न र विपद् समयमा सम्पूर्ण टोलबासीको ज्यान, धनको सुरक्षाका लागि पत्राचार गरेको छ ।

ट्यांकी निर्माण अन्योल
केयूकेएल मध्यपुर थिमिले भने लोकन्थली क्षेत्रको भूक्षय तथा पहिरोका कारण ५ लाख लिटर क्षमताको ट्यांकी निर्माण कार्य अन्योलमा परेको जनाएको छ ।

ट्यांकी निर्माणका लागि विनियोजित डेढ करोड रुपैयाँ पहिरो रोकथाम तथा भूक्षय नियन्त्रणका लागि खर्च गर्नुपर्ने अवस्था आएको केयूकेएल मध्यपुर थिमि शाखा प्रमुख मनीष ढुंगानाले बताए । ‘मध्यपुर थिमिबासीको पानीको मागलाई सम्बोधन गर्न स्थानीयकै सहमतिमा ट्यांकी निर्माण थालेको हो,’ ढुंगानाले भने, ‘भूक्षयको मुख्य कारण ट्यांकी निर्माण होइन । डाँडामा माटो भरेर पर्खाल लगाउँदा राम्रोसँग फिलिङ नभएकोले पहिरो गएको हो ।’ गतआर्थिक वर्ष ०७५/७६ मै ट्यांकी निर्माण कार्य थालिनुपर्ने भए पनि वर्षाता कारण रोकिएको र घाम लाग्न थालेपछि काम सुरु हुन लाग्दा पहिरो खसेको उनले बताए ।

भूगर्भविद्, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान, वीर दल गणका गणपति शिवप्रसाद पौडेल, मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुर थिमि १ का वडाध्यक्ष सुरज खड्का लगायतको सहभागितामा स्थलगत अवलोकन भएको र पहिरो रोकथामका लागि तत्काल फलामको पाइप, टिनलगायतले टेको लगाउने र दीर्घकालीन समाधानका लागि पाइलिङ गरी पर्खाल लगाउने योजना भएको उनले बताए ।

मिचाहा प्रवृत्तिले विपद्
उक्त क्षेत्रमा ०५९/६० तिर करिब २० रोपनी सार्वजनिक जग्गा थियो । हाल भिरालो क्षेत्रको करिब १० रोपनी मात्र सार्वजनिक/पर्ति जग्गा बाँकी छ । करिब दुई दशक जनप्रतिनिधिविहीन अवस्था रहँदा जग्गाको भाउ अकासिँदै गयो । अव्यवस्थित प्लटिङ गर्ने बढे ।

मंगलबार राति पहिरो गएको क्षेत्रमा समेत धेरै घरले सार्वजनिक जग्गा मिचेका छन् । सडक र घरको पर्खाल टाँसिएको अवस्था छ । पर्खाल भासिएसँगै घरको प्रवेशद्वारसमेत खस्ने जोखिम छ । प्लानिङ गर्नेले निजी जग्गा संरक्षण गर्दै भिरालो सार्वजनिक जग्गामा माटो भरेर सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको छ ।

प्रकाशित : भाद्र ४, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय ट्रक पल्टिँदा चालकको मृत्यु , एक सख्त घाइते

नारायण शर्मा

(नवलपरासी) — पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तरगत दुम्किबासको ज्यामिरेमा एक भारतीय ट्रक विद्युत् पोलमा ठक्कर खाएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना सख्त घाइते भएका छन्  । 

बुधबार बिहान ३ बजे बर्दघाटवाट नारायणगढतर्फ जाँदै गरेको भारतीय आरजे ०५ ४१६७ नम्बरको ट्रक पोलमा ठोक्किँदा चालक सुल्तान सिंहको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । खलासी जयचन्द्र सिंहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । उनको अवस्था जटिल रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै भारतीय नागरिक हुन् ।

चालक निदाएर दुर्घटना भएको प्रहरी अनुमान छ ।

प्रकाशित : भाद्र ४, २०७६ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्