सय किलो गाँजासहित ५ पक्राउ
मकवानपुर — प्रहरीले गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५ रातोमाटे र राक्सिराङ गाउँपालिकाबाट प्रहरीले १ सय ३ किलो गाँजासहित ३ भारतीय र २ नेपालीलाई पक्राउ गरेको हो ।
प्रहरीले रातोमाटेमा हेटौंडाबाट वीरगन्ज जाँदै गरेको एचआर ५१ एल २४४१ नम्बरको भारतीय कारमा लुकाएर लगिदै गरेको २१ किलो ५ सय ग्राम गाँजासहित कार चालक भारतीय नागरिक मुकेश सहनी, सोही स्थानका राजकुमार, भारत मोतिहारीकै ओमप्रकाश चौधरी र पर्साका जितेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेबाट ८१ किलो ७ सय ग्राम गाँजासहित सप्तरीका पुरन साहलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा पलाँसे बसपार्क पुगेको प्रहरीले गाँजा लोड गर्ने सवारी कुरिरहेको अवस्थामा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : भाद्र ३, २०७६ १५:३५