१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हेटौंडाबाट दुई ठूला राजमार्गलाई बाइपास गरिँदै

मकवानपुर — हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्ने दुईवटा ठूला राजमार्गलाई बाइपास गरिने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ०७६/७७ मा हेटौंडा–१, चौकीटोलदेखि हेटौंडा–१०, कर्रा खोलासम्मको १२ किलोमिटर सडकखण्डलाई स्तरोन्नति गरी बाइपास गर्ने भएको हो ।

संघीय सरकारले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा सडकखण्डको दायाँ–बायाँ २५ मिटर सडक विस्तार गर्ने नीति अवलम्बन गरेसँगै प्रदेश सरकारले त्यसको विकल्पका रूपमा बाइपास सडकको स्तरोन्नति गर्न लागेको हो ।


पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्दा अर्बौंको क्षति हुने, व्यापार/व्यवसाय र हेटौंडाको सौन्दर्य हराउनेभन्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा भौतिक पूर्वाधार मन्त्रालय बाइपास सडक निर्माणमा जुटेको छ ।


मन्त्रालयले बाइपास सडकलाई चौकीटोल–राप्तीपुल र राप्तीपुल–कर्रा गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउने भएको छ । पहिलो चरणमा चौकीटोल–राप्तीपुल र दोस्रो चरणमा राप्तीपुल–कर्रा सडक गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउन लागेको मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पौडेल आफैंले सम्हालिरहेका छन् ।


‘हेटौंडाको बजार क्षेत्रमा सडकको विस्तार गर्नुपर्छ तर, विकासको नाममा विनाश हुनु हुँदैन । हेटौंडा बजार क्षेत्र दायाँबायाँ १६/१६ मिटर विस्तार गर्ने र बाइपास सडक पनि बनाउने अभियानमा प्रदेश सरकार रहेको छ,’ मुख्यमन्त्री पौडेलले भने, ‘ हेटौंडा बजारलाई बचाउनुपर्छ । यसका लागि बाइपास सडकको विकल्प छैन । कहीँ पनि राजमार्ग बजारको मध्यभागबाट गएको छैन । त्यसकारण बजार क्षेत्रको पनि विस्तार गर्ने र बाइपास पनि बनाउने अभियानमा हामी रहेका छौं ।’


मन्त्रालयले करिब २२ करोड रुपैयाँ लागत अनुमान गरेर हेटौंडा–१, चौकीटोलदेखि राप्तीपुलसम्म टेण्डर आहृवान गरिसकेको छ । ‘टेन्डर आहृवान भइसकेको छ । भदौको अन्तिम साताबाट काम अगाडि बढ्ने छ,’ यातायात पूर्वाधार निर्देशनालय प्रमुख सहदेव भण्डारीका अनुसार राप्ती खोलाको किनारैकिनार निर्माण हुने बाइपासले नदी नियन्त्रण गर्ने र हेटौंडा बजार क्षेत्रको समेत सुरक्षा गर्ने छ ।


उनका अनुसार गत आर्थिक वर्षमा यस सडक खण्डका लागि पाँच करोड रुपैयाँ विनियोजन भएकोमा उक्त रकम फ्रिज भएको र चालु आवमा १० लाख रुपैयाँ थप बजेट प्राप्त भएको बताए । उनका अनुसार उक्त सडक खण्डमा ग्याबिन लगाउँने, आरसीसी पर्खाल लगाउँने र दायाँबायाँ ५० मिटर क्षेत्र कायम गरी तत्कालका लागि १० मिटरको बाटो निर्माण गरिने छ ।


यसैगरी, हेटौंडा–१०, राप्तीपुलदेखि कर्रा खोलासम्मको आठ किलोमिटर सडक खण्डको डीपीआर निर्माण कार्य सम्पन्न भइसकेको छ । यसखण्डको लागत करिब १५ करोड रुपैयाँको अनुमान गरिएको उनले जानकारी दिए । ‘तत्काल हामी पिच गर्दैनौं । ट्र्याक खोल्ने काम गर्छौं । ट्र्याक खोल्ने काम सकिएपछि संघीय र प्रदेश सरकारको बजेटबाट यो आयोजना पूरा हुने छ,’ उनले भने । उनका अनुसार यस सडक खण्डलाई चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन भएको छ । दुवैतर्फको ट्र्याक खोल्ने काम दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।


बिनाक्षतिपूर्ति संघीय सरकारले पूर्वपश्चिम र त्रिभुवन राजपर्थअन्तर्गत हेटौंडा क्षेत्रको सडक विस्तार अभियान अगाडि बढाएसँगै यहाँका घरधनी तथा व्यवसायीहरू अहिले क्षतिपूर्तिको माग गर्दै अदालत धाइरहेका छन् । लामो समयदेखि यहाँका घरधनी तथा व्यवसायी आन्दोलनरत छन् ।


राजमार्ग अवरुद्ध हुन नदिन योजना

धादिङ– वर्षात् हुनेबित्तिकै आउने बालुवा र लेदोले पृथ्वीराजमार्ग अवरुद्ध हुन नदिन गल्छी गाउँपालिकाले विशेष योजना बनाएको छ ।


गाउँपालिकाकाको विशेष योजनामा राजमार्गबाट ग्रामीण क्षेत्रका लागि खनिएका सडक ग्राभेल गर्ने र नाला बनाएर भल व्यवस्थित गर्ने रहेको छ । बैरेनी बजारको बीच भागबाट बग्ने गर्दो खोलाको चौडाइ कम्तीमा ६ मिटर कायम गराउने, बालुवाले थुनिएका सबै कल्भर्टहरू खोल्ने र राजमार्गको दुवै किनारामा बनाएको नाली खोलेर राजमार्ग व्यवस्थित गर्ने योजनासमेत बनाएको गल्छी गाउँपालिका कृष्णहरि श्रेष्ठले बताए । यस कार्यका लागि सडक डिभिजन कार्यालयसँग पनि समन्वय गरेर काम गरिने उनको भनाइ छ ।


भरतपुरस्थित सडक डिभिजन कार्यालयले गरेको अध्ययनमा गल्छीको दक्षिण भेकमा बालुवाकै भूबनोट रहेको र उक्त लेदोले सवारीसाधनका टायरहरू समात्ने भएको, पानी बग्ने साना भई बालुवा भरिएर सडकमा खोला बग्ने भएको, गर्दो खोला अतिक्रमण र साँघुंरो भएको, सडक छेउका नाली पुरिएको प्रतिवेदन दिएको थियो ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?