फौजीकिराले बाली सखाप

रामेछाप — रामेछापको खाँडादेवी ३ भीरपानीमा फौजीकिराले खाद्यबाली नष्ट पारेको छ । केही दिनअघि देखा परेको उक्त किराले साविक भीरपानीको डब्खा, लाक्पा क्षेत्रमा लगाइएका खाद्यबाली नष्ट गरेको हो । 

स्थानीय शंकर पौडेलका अनुसार भीरपानीका लाक्पा, भलायाखर्क क्षेत्रमा लगाइएका कृषि बाली फौजीको आक्रमणले पूर्णरूपमा नासिएको छ । ‘मकै, अन्य खाद्यबाली र डालेघाँस सकियो,’ पौडेलले भने, ‘बारीमा झारसमेत छियाछिया पारेको छ ।’


उनले बालीनाली नष्ट भएपछि स्थानीय किसानले गहत छर्ने योजना बनाएका छन् । तर त्यसभन्दा अघि फौजीकिरा नियन्त्रण गरिदिन स्थानीयको माग छ । डब्खाका दुर्गा माझीका अनुसार एकपटकको बाली किराले खाएपछि किसानले फेरि मकै रोपेका थिए । त्यो पनि सकिएको छ । गबारा जस्तो भित्रभित्रै खाइदिने उक्त किरा फौजी हो भन्ने बुझिएको उनले बताए ।


‘मकैको गुभामा केलायो भने भेटिन्छ,’ माझीले भने, ‘हामीले त चिन्नै सकेनौं, अरूले फौजी भन्छन् ।’ डब्खाका किसानले किरा नियन्त्रणका लागि बारीमा नोभानसमेत छर्के तर नियन्त्रणको साटो अझ फैलियो ।


गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले भीरपानीमा फैलिएको किरा अमेरिकन फौजीकिरा भएको पत्ता लागेको बताए । उनले फौजीकिरा नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद्मा आग्रह गरी प्राविधिक र विषादि झिकाएको जनाए ।


‘गाउँपालिकाको समेत सहकार्यमा फौजीकिरा नियन्त्रणका लागि हामी तत्कालै विषादि छिट्ने योजनामा छौं,’ तामाङले भने ।

कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख दिनेश आचार्यका अनुसार फौजीकिरा नियन्त्रणका लागि विषादि वितरण गर्ने बताए । ‘नियन्त्रणको प्रयास त्यति कामयावी हुँदैन धेरै गाह्रो हुन्छ,’ आचार्य भन्छन्, ‘तैपनि हामी प्रयास गर्छौं ।’ उनले साना किराहरू नियन्त्रणमा आएपछि वयस्कहरूलाई नियन्त्रण गर्न कठिन हुने बताए ।


भारतमा अघिल्लो वर्ष देखापरेको उक्त फौजीकिरा यो वर्ष नेपालका विभिन्न जिल्ला देखिएको र रामेछापमा सिन्धुपाल्चोक हुँदै आएको अनुमान आचार्यले गरे ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?