चितवनको वाणिज्य बैंकमा आगलागी

रासस

भरतपुर — राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा सोमबार बिहान आगलागी भएको छ ।

चितवनको वाणिज्य बैंकमा आगलागी

बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।


दुई तले उक्त भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।


भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात,पैसाको लकर र सर्भर सुरक्षित रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।


मोबाइल पसलमा आगलागी

यसैगरी चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेका छन् ।


आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित : भाद्र २, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?