कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वन क्षेत्रका ११५ घरटहरा भत्काइयो

भक्तपुर — पर्यटकीय गन्तव्य नगरकोट क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका घरटहरा भत्काएको छ । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको घरटहरा हटाउन पटक–पटक अनुरोध गरी सूचना प्रकाशित गर्दा समेत अटेर गरेकाहरूको टहरा भत्काएको हो । 

डिभिजन वन कार्यालय भक्तपुर र नगरपालिकाको समन्वयमा चाँगुनारायण–६ तेलकोटदेखि नगरकोटसम्म ११५ वटा घरटहरा भत्काएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउन पुगेको डोजर, सुरक्षार्थ खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरीमाथि स्थानीयले ढुंगा प्रहार गरेका थिए । त्यस क्रममा नेपाल प्रहरीका ५ र सशस्त्रका १ गरी ६ जनालाई चोट लागेको एसपी प्रधानले बताए । स्थानीयले विरोध प्रदर्शन तथा सडकमा टायर बालेर विरोधसमेत गरे ।


वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका २० वटा व्यावसायिक घरटहरा महिनाअघि नै नगरपालिकाले भत्काएको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका घरटहरा हटाउन १० वर्षदेखि नै निर्णय भए पनि कार्यान्वयन भएको थिए । नगरप्रमुख सोमप्रसाद मिश्रले वर्षौं कार्यान्वयन हुन नसकेको काम नगरपालिकाले गरेको बताए । डिभिजन वनका अनुसार वनको जग्गा अतिक्रमण गरी १ सय ७७ घरधुरीले ५ दशमलब ३२३ हेक्टर (८६ दशमलव ५९ रोपनी) क्षेत्रफल ओगटेको तथ्यांक छ ।


जसमध्ये राष्ट्रिय वनअन्तर्गतको ३१ दशमलव २३ रोपनी जग्गामा ७६ घरटहरा, कालिका सामुदायिक वनअन्तर्गत ५ दशमलव ०३ रोपनी क्षेत्रफलमा ८, कुसुम सामुदायिक वनअन्तर्गतका १९ दरमलव २ रोपनी क्षेत्रफल अतिक्रमण गरी ६४, ऐनडाँडा सामुदायिक वनको ६ दशमलव ५५ रोपनी क्षेत्रफलमा १४, सुविधा सामुदायिक वनको १ दशमलव ०३ रोपनी जग्गा अतिक्रमण गरी ६ र महामञ्जुश्री सामुदायिक वनको जग्गा अतिक्रमण गरी ८ घरटहरा निर्माण गरेको तथ्यांक छ । भूकम्पपछिको तथ्यांक भने कार्यालयसँग छैन । सार्वजनिक जग्गा अतिक्रमण गर्ने नगरकोटका ठूला होटलसमेत छन् ।


वनको जग्गा ओगटेर नगरकोटमा बनाइएका कतिपय होटल र रेस्टुरेन्ट काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिकामा पर्छ । पर्यटकीय क्षेत्र नगरकोट, नाल्दुममा राष्ट्रिय वन, सामुदायिक वन तथा पर्ती जग्गा अतिक्रमण गर्ने घरटहराको संख्या ४० वटा रहेको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । तीमध्ये वन क्षेत्रमा १५ र सडक अतिक्रमण गरेर २५ घरटहरा बनेको कार्यालयले तथ्यांकमा उल्लेख छ । काभ्रेपलाञ्चोकमा पर्ने नाल्दुममा मात्र ३६ दशमलव ८५ रोपनी जग्गा अतिक्रमणमा परेको कार्यालयको भनाइ छ ।


नगरपालिका क्षेत्रमा सामुदायिक वन र सडकसमेत अतिक्रमण गरी बनाएका घरटहरामा रेस्टुरेष्ट एवं खाजा घरलगायत विभिन्न व्यवसाय सञ्चालन हुँदै आएपछि नगरपालिकाले आफैं भत्काउन पटकपटक सूचना जारी गर्दा पनि नभत्काई अटेर गरेपछि डोजर चलाउन बाध्य भएको नगरप्रमुख मिश्र बताउँछन् । व्यवसायीले वन क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएको, व्यवसाय दर्ता नगरेको र करसमेत छली गर्दै आएको भन्दै स्थानीय बासिन्दाले अवैध घरटहरा भत्काउन माग गर्दै आएका थिए ।

प्रकाशित : भाद्र २, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?