२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पाकाकै भरमा चौंरीपालन

अनिश तिवारी

सिन्धुपाल्चोक — मार्मिङ सिन्धुर्जेको डाँडामा चौंरीगाई चराइरहेका ७० वर्षीय सोनाम लामा खुबै चिन्तित भेटिए । छेउको खाम्बोभरि लटरम्म छुर्पी, तल्लो भागमा ठूलो डेक्सी र ठेकीभरि दूधमोही देखाउँदै उनले चौंरी पाल्ने पाकाकै काँधमा भएको गुनासो पोखे ।

पाकाकै भरमा चौंरीपालन

‘चौंरी पाल्न सहयोग गरी युवालाई प्रोत्साहित गर्नुपर्छ, अर्काको देशमा गएर किन झुक्न दिनु, हामी बूढापाकाको भरले कतिन्जेल चौंरीपालन चल्नु र,’ उनले भने । उनी ६ वर्षयता चौंरी पाल्दै आएका छन् ।


सुन्दर दृश्य हेर्न सकिने बाह्रबिसे नगरक्षेत्रको सिन्धुर्जे डाँडाबाहेक थेमाङफोले, यार्के, यार्सालगायत दुई दर्जन खर्कमा झन्डै ३५ चौंरी गोठ छन् । फुल्पिङकट्टीकै नारायणथानसँगैको गाउँ सेलाङकट्टी गाउँमा पहिले १५ देखि १६ चौंरी गोठमा अहिले सबै खाली

भएको छ ।


चौंरीलाई अरू पशुलाईजस्तो औषधिले नछुने भएकाले जंगली जडिबुटी चाहिने गरेको भोटेकोसी गाउँपालिका फुल्पिङकट्टीको माथिल्लो लेकाली यारमालामा ५७ वर्षे तेमछाङ शेर्पाले बताए । ‘सधैं पाकाले चौंरीपालन धान्न सक्दैनन्, युवालाई हस्तान्तरण हुन जरुरी देखिन्छ,’ उनले भने । २० वर्षदेखि ४३ वटा चौंरी पालिरहेका उनले छुर्पी र घ्यू बेचेर वर्षको ८ लाख कमाउने गरेका छन् ।


उनका अनुसार चौंरीपालन सहज बनाइदिन सरकारले विशेष वातावरणमैत्री कार्यक्रम ल्याउनुपर्छ । उनले स्वतन्त्र हिँड्ने हिमाली याक र पहाडी स्थानीय गाई लगाएपछि चौंरी गाई जन्मिने गोठाला बताउँछन् । जिल्लाको मार्मिङको गोल्ची, घोर्थलीको बिगु दोलंसा, फुल्पिङकटीको नारायणथान, तातोपानीको लिपिङ लेक, लिस्तीकोटको बगाङ छगामसम्म चौंरी पाल्ने गरिएको छ ।


पश्चिम हेलम्बु गाउँपालिका र जुगल गाउँपालिकाको तेम्बाथान, नाकुते हुँदै पाँचपोखरी, हेलम्बुको अधिकांश जगंलको खर्कमा पनि चौंरीपालन गरिँदै आएको छ । ‘चौंरीपालनमा सरकारले गरेको बेवास्ताका कारण गोठाला निरुत्साहित हुँदै छन्, यसबारे गहन रूपमा बुझ्न जरुरी छ,’ दुर्लच डिमु हुर्काउँदै आएका हेलम्बु १ का गोठाला जम्लिङ शेर्पाले भने । वैदेशिक रोजगारी र पुस्ताबाट हस्तान्तरण नहुँदा चौंरी, डिमु पाल्ने क्रमशः कम हुँदै गएका छन् ।


चौंरी हिँड्ने बाटो, पर्याप्त खानेपानी र घाँस नहुने वातावरणले चौंरी, डिमु पालक निरुत्साहित हुँदै गएको जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठले बताए । उनले चौंरीपालनलाई विशेष रुचि देखाइएको भए पनि अभिवृद्धिका लागि सरकारले खास अभियान नल्याएको गुनासो गरे । ‘चौंरी, याक डिमुजस्ता महत्त्वपूर्ण जनावरलाई जोगाउने योजना ल्याइनुपर्छ, नभए चौंरी, याकदेखि डिमुजस्ता जनावरको अस्तित्व नगुम्ला भन्न सकिन्न,’ उनले भने ।


गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको तथ्यांकअनुसार जिल्लाभर दुई वर्षअघिसम्म हजार गोठ रहेकोमा आहिले डेढ सय मात्र छन् । ‘भौगोलिक कठिनाइले यस्तो समस्या आइरहेको छ, यसमा चौंरी पालकको समस्या एकदम जायज छ,’ गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले भने ।

प्रकाशित : भाद्र १, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?