जोखिम क्षेत्रमा घरजम

रामेछाप — माथि भीर, तल तामाकोसीको तीव्र बहाव । जुनसुकै बेला पनि बग्न या पुरिन सक्ने मन्थली घाटमा १८ परिवारको बसोबास छ । उच्च जोखिममा रहेको यो ठाउँका बासिन्दा त्रासमा बस्न बाध्य छन् । 

जिल्ला सदरमुकाम नजिकै, अझ विपत् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारीले आफ्नो कार्यकक्षबाटै पनि नियाल्न सक्ने उक्त स्थानबारे चर्चा त गर्छन्, समाधानको उपाय भने खोज्दैनन् । अहिलेसम्म न कसैले त्यहाँ पुगेर जोखिमको मूल्यांकन गरेका छन्, न स्थानीयले त्यसको अनुभूति गर्न पाएका छन् ।


रोचक त के छ भने उक्त स्थानमा बसोबास गर्ने सबैले घर भत्काउनका लागि क्षतिपूर्ति बुझिसकेका छन्् । ४ वर्ष अघि मन्थली भटौली सडक निर्माणका बेला उनीहरूले क्षतिपूर्ति लिएका हुन् । बस्तीभन्दा माथिको डाँडाबाट सडक निर्माण गर्नुपर्ने भएकोले तलको बस्ती जोगाउन नसक्ने निष्कर्षसहित तत्कालीन ड्रिप कार्यक्रमले स्थानीयबासीलाई घर भत्काएर अन्यत्र लैजानका लागि क्षतिपूर्ति उपलब्ध गराएको थियो ।


घर छोडेर जानका लागि क्षतिपूर्ति बुझेका व्यक्तिहरूले सडक निर्माण हुँदा पनि बस्ती छाडेनन् । निर्माण व्यवसायी उज्जल सुवेदी भन्छन्, ‘तलको बस्तीमा ढुंगा झर्नबाट जोगाउन तारजालीको बार लगाएर रोकथाम गरी सडक पूरा गरेका हौं ।’

स्थानीय आनन्द श्रेष्ठले सडक खनेको स्थानबाट दुर्घटना भई गाडी झरे या पहिरो खसेर उक्त बस्तीमा कुनैपनि बेला अकल्पनीय क्षति हुन सक्ने बताउँछन् ।


एमाले नेतासमेत रहेका उनी भन्छन्, ‘उक्त बस्ती विपत्का हिसाबले उच्च जोखिममा छ ।’ तामाकोसीमा बाढी आउनेबित्तिकै मन्थली घाटको बस्ती जहिल्यै असुरक्षित हुने उनले बताए ।


वर्षौंदेखि मन्थली घाटमा बसोबास गर्दै आएका ओमबाबु पुरीले धेरै पानी पर्दा डरमर्नु हुने बताए । ‘रणजोर खोलाको बाढीले कोसी ठेलेर बस्तीतिर पो आउने हो कि भन्ने त्रास छ,’ पुरीले भने, ‘तैपनि बसोबास सर्न सकिएको छैन ।’ ०३५ मा झोलुङ्गे पुल निर्माण भएपछि त्यहाँ बसोबास सुरु भएको हो ।


तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले ४ परिवारलाई अव्यवस्थित बसोबासको नाममा जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराएको छ । बाँकी १४ परिवारको सार्वजनिक स्थानमा घर बनाएका छन् । यता, रणजोरको बगरमा घर बनाउने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय र मन्थली नगरपालिकाको अग्रसरतामा खोलाको बहाव हुने स्थाननजिकै बनाउन थालिएको एउटा घर निर्माण कार्य बन्द गराइएको छ । त्यसकै हाराहारीको जोखिम हुने क्षेत्रमा भने दर्जनौं घर बनिसकेका छन् ।


विगतमा खोलाले बनाएको बगरमा माटो पुरेर बनाइएका घरहरू त्यसै पनि दर्बिला छैनन् । कांग्रेसका जिल्ला सचिव लेखबहादुर कार्की भन्छन्, ‘कुन दिन रणजोर उर्लने हो र सबै बग्ने हुन् भन्ने चिन्ता छ ।’ उनले असारको अन्तिम साता परेको ३ दिने झरीमै विपत् व्यवस्थापन समितिलाई रणजोरको बस्तीबाट मानिसलाई सुरक्षित स्थानमा सार्न सुझाएका थिए । तर पानी रोकिएकाले त्यस बेलाको विपत् टर्‍यो ।


सरकारले जारी गरेको भवन संहिता खोला र कोसीले बनाएको बगर, पहिरो जाने क्षेत्र, दलदले माटो, सिम, चिरा परेको र धेरै भिरालो जमिनमा भवन निर्माण गर्न मिल्दैन । तर भवन संहिताको कार्यान्वयन पक्ष फितलो छ । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जोखिम क्षेत्रमा घर टहरा नबनाउनका लागि बारम्बार सूचना गर्दा पनि रातारात निर्माण गर्ने गरेको बताए । नगरपालिकाले चाँडै नै भूउपयोग नीति कार्यान्वयनमा ल्याएर त्यस्ता अव्यवस्थित बसोबास भएका क्षेत्रको नियन्त्रण र नियमन गर्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित : भाद्र १, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?