२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रसुवागढीमा चिनियाँ चासो

बलराम घिमिरे

रसुवा — रसुवा– रसुवागढी नाकामा स्थापना गर्न लागिएको संयुक्त कमान्ड सेन्टरको विषयमा चिनियाँ पक्षले चासो व्यक्त गरेको छ । 

रसुवागढीमा चिनियाँ चासो

नाकामा नेपाल र चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरू बीच बुधबार भएको काउन्टर पार्ट बैठकमा सेन्टर स्थापनाको विषयमा भएको प्रगतिको बारेमा चिनियाँ पक्षले चासो व्यक्त गरेको हो । संयुक्त कमान्ड सेन्टरमा दुवै देशका सुरक्षा अधिकारीहरू रहने छन् । दुवै देशका सुरक्षा अधिकारीले नाकामा हुने अवैध गतिविधि रोक्न संयुक्त रूपमा अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।


कमान्ड सेन्टरका प्रमुखले नाकामा दिनभर भएकाका गतिविधि आआफ्नो जिल्लाका प्रमुखलाई प्रदान गर्ने छन् । नाकामा संयुक्त कमान्ड सेन्टर स्थापना भएपछि गैरकानुनी क्रियाकलापहरू मानव बेचबिखन, लागूपदार्थ ओसारपसार, वन्यजन्तुका अंगहरू निकासी, बहमूल्य जडिबुटी तथा अवैध सुनलगायतका सामग्रीहरूको ओसारपसार नियन्त्रण गर्न सहयोग पुग्ने छ । नाकामा हुने समस्या तत्काल हल गर्न सहज हुने उनले बताए । संयुक्त कमान्ड सेन्टर स्थापना गर्न समझदारी पत्रको ड्राफ्ट तयार भइसकेको छ ।


उक्त ड्राफटउपर सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरू दुई पटक बैठक बसेर छलफलसमेत गरिसकेका छन् । चीनको संघीय सरकारले समझदारी पत्रमा हस्ताक्षर गर्न सीमावर्ती जिल्लाको सुरक्षा प्रमुखलाई अनुमति दिइसकेको छ ।


नेपालतर्फ भने समझदारी पत्रको ड्राफट गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय पुगेको छ । माथिबाट अनुमति आउनासाथ समझदारी पत्रमा हस्ताक्षर हुने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । त्यस्तै, केरुङ सीमा तथा अध्यागमन प्रशासनले रसुवा जिल्लाको प्रहरीलाई उद्धार तथा सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।


नाकामा रहेका प्रहरीलाई मजबुत बनाउन विभिन्न ११ प्रकारका सामग्री दिएको हो । सामग्री हस्तान्तरण पत्रमा दुवै देशका सुरक्षा अधिकारीहरूले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : श्रावण ३२, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?