घर निर्माण बल्ल अन्तिम चरणमा 

भूकम्पपीडितको व्यथा
राजकुमार कार्की

(राताटार, सिन्धुली) — घरको गारो लगाउँदै गरेका गोलन्जोर गाउँपालिका ७ राताटारका प्रदीप राईमा आशा पलाएको थियो । चार वर्षा र हिउँद टहरोमा कटाएका उनी घर निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेका छन् । सामग्रीहरू जुटाएर घर निर्माणमा उनी लागेको चार महिना बितेछ ।

नीलो जस्ताको छाना, माटो र ढुंगाको गारो, बाहिर सिमेन्टको प्लास्टर गरेर राईले घर सम्पन्न गर्न लागेका हुन् ।

नजिकै मकै छोडाउँदै गरेकी जीवनसंगिनी उर्मिलातिर फर्कदै प्रदीपले अबको दसैंअगावै घर सर्ने योजना सुनाए । ‘कति दुःख काटियो टहरामा, बयान गरेर साध्य छैन्,’ उनले भनिन्, ‘अहिले पनि दिउँसोको समयमा गर्मीले गर्दा बस्नै सकिँदैन ।’ आफैं खटेर घर निर्माण गर्दा पनि ११ लाखको हाराहारीमा खर्च भएको प्रदीपले सुनाए ।

‘पाँच लाख ऋण गरेका छौं, सरकारले दिने तीन लाखमा दोस्रो किस्तासम्म एक लाख ५० हजार ल्याइयो,’ उनले भने, ‘अब तेस्रो किस्ता ल्याउन बाँकी छ, घर बनाउँदा ऋण लागे पनि बाबुआमा र केटाकेटीलाई नयाँ घरमा सार्न आतुर छौं ।’

प्रदीपलाई घर नबन्दा सबैभन्दा समस्या बाबुको थियो । दिउँसोको चर्को घाम लागेपछि जस्ताले छाएर बनाएको अस्थायी टहरोमा बसिसक्नु हुँदैन । ६० वर्षीय बाबु भरतबहादुर राई बैशाखीको साहरामा रुखको सिंयाँल खोज्दै हिँड्छन् । ‘के गर्नु टहरामा बस्नै सकिँदैन, आगोको राप कम होला तर यहाँ बढी पोल्छ,’ उनले भने, ‘दिनभर रूखको छाहारी खोजेर हिँड्नुपर्छ ।’

राताटारका ५६ घर भूकम्पले ढालेका थिए । तीमध्ये एक घरबाहेक सबै पुनर्निर्माणको अन्तिम चरणमा छन् । सबैजसो घर बनिसके भने केही बन्दै गरेको स्थानीय समाजसेवी कृष्णबहादुर राईले बताए । ‘केहीले मात्र माटोढुंगाको बनाएका नत्र छत ढलान गरेर नै घर बनेको छ । तीनकोठे र चारकोठे घर धेरै बनेका छन्,’ उनले भने, ‘केहीले तेस्रो किस्तासमेत लिइसकेका छन्, केही प्रक्रियामा रहेका छन् । एक घर भने घरमूली बाहिर बस्ने हुनाले सुरु नै भएको छैन ।’

भूकम्पले ध्वस्त बनाएको राताटारमा यतिखेर तीनतले पक्की भवनसमेत बनेको छ । स्थानीय शिक्षक यज्ञबहादुर राईले उक्त घर निर्माण गरेका हुन् । नेपालको नमुना १० सहरमध्ये खुर्कोट परेपछि राताटारमा सडक भर्खरै कालोपत्रे समेत भएको छ । पहिला उजाड लाग्ने राताटारमा यतिखेर कायापलट भएको छ ।

सडक कालोपत्रे भएपछि अन्यत्र सरेर घर बनाउने योजना बुनेकाले समेत राताटारमा बनाएका छन् । ‘बेंसीमा घर बनाउने योजनामा थियौं, तर सडक कालोपत्रे भएपछि यहीं बनाएका छौं,’ सहकारीको काममा व्यस्त रहेकी स्थानीय सावित्रा राईले बताइन् ।

भूकम्पले भत्किएका आफ्ना दुई घरको आँगनमा भेटिएका ७५ वर्षीय वृद्ध खड्गबहादुर थापा दिनहुँजसो राताटार उक्लिने गर्छन् । ‘आफूले आर्जेको सम्पत्तिको माया हुँदो रहेछ,’ उनले भने, ‘दुई घण्टा उकालो चढेर आउँछु, यतै घर बनाउनुपर्छ भन्दा छोराहरूको कानमा बतास लागेन् ।’

गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्की भूकम्पका घर निर्माणका लागि चाहिने ढुंगा, बालुवा र गिट्टी हरबखत उपलब्ध गराएको बताउँछन् । ‘वर्षातमा समेत सामग्री उपलब्ध गराइएको छ,’ उनले भने, ‘पुनर्निर्माणले तीव्रता पाएको छ, यही रफ्तारमा जाने हो भने सबै घरहरू बन्छन् ।’

पर्ममा घर निर्माण, राताटारवासीले अर्को अनौठो काम गरेका छन् । राईको बाहुल्य रहेको राताटारमा पर्मबाट १० घर बनेका छन् भने तीन घर निर्माणाधिन रहेका छन् । मिस्त्री, लेवर गाउँमै भएकाले आफ्नो घर आफैं बनाउ भन्ने नीतिलाई अंगाली सबै काम आफैंले गरेको स्थानी अगुवा कृष्णबहादुर राईले बताए । घर निर्माणका लागि चाहिने बालुवा, गिट्टी, ढुंगा, सिमेन्ट, रड, काठपात लगायत सामग्री घरमुलीले जुटाउने काम भने पर्ममा गरेको उनले सुनाए ।

‘सामूहिक पर्ममा घर बनाउँदा २० लाख लगानी लाग्ने एकतले पक्की घरलाई १५ लाख मात्र लागेको छ,’ उनले भने, ‘ज्यालाको रकम जोगिँदासमेत ठूलो राहत मिल्यो ।’ सामूहिक पर्ममा काम गर्दा अपनत्वसमेत बढ्ने र काम ठूलो सानो नहुने रहेछ भन्ने सबैलाई पर्ने उनको अनुभव छ ।

महाविपत्तिको सामना राताटारवासीलाई भूकम्पले मात्र हैन ६ वर्षअघि अर्को महाविपत्ति परेको थियो । ०७० साल चैत २८ मा भएको आगलागीमा परेर राताटारका १६ घर खरानी बनेका थिए । दुई वर्षपछि भूकम्पले अर्को पीडा थपिदियो ।

आगलागीमा परेर खरानी भएको घरको पीडा भुलाउन ५ लाख लगाएर चिरिच्याट्ट परेको घर बनाएका सन्तोष राईलाई भूकम्पले फेरि अर्को पीडा दिएको थियो । ‘परिश्रमले बनाएको घर धुलो बनेर उड्यो,’ पीडाको स्वरमा उनले भने, ‘आगलागीमा परेर खरानी भएपछि ऋण काढेर घर बनाएका थियौं, दैवले सहेन, फेरि भूकम्पले ढाल्यो ।’

यतिखेर ऋण गरेर भए पनि सबैले घर निर्माण गरेका छन् । अर्को विपत्ति नपरोस् भन्ने कामना गर्नुको विकल्प नै के छ र सन्तोषले लामो सास लिए । नवनिर्मित घर बनाउँदा लागेको ऋणबाट भने उनीहरू धेरै आत्तिएका छैनन् । बढीमा १० लाखसम्म ऋण परेको तर कालोपत्रे सडक बनेसँगै जग्गाको भाउ आकासिएकाले चिन्ता नलिएकाले उनीहरूले सुनाए । रोपनीको पाँच लाख पनि नजाने जग्गा अहिले आनाको तीन लाखसम्ममा कारोबार हुन थालेको छ ।

प्रकाशित : श्रावण २९, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहले बुझाएनन् क्षति विवरण

सुवास बिडारी

(मकवानपुर) — मकवानपुरका स्थानीय तहहरूले महिना बितिसक्दा पनि बाढीपहिरोका कारण भएको क्षतिको विवरण बुझाएका छैनन् । असार २६ देखि परेको अविरल वर्षाका कारण भएको क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने भए पनि जिल्लामा रहेको दसमध्ये आठ स्थानीय तहले अस्पष्ट र दुईवटा स्थानीय तह कुनै पनि विवरण नपठाएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । 

बाढीपहिरोका कारण जिल्लामा मानवीयसँगै धनजनको क्षति भएको थियो । जिल्लाका स्थानीय तहहरूले क्षतिको स्पष्ट विवरण नपठाउँदा राहत वितरणमा समस्या भएकोतामाङले जनाए ।

‘आठवटा स्थानीय तहबाट विवरण आएका छन् । तर, पूर्ण छैनन्,’ प्रजिअ तामाङ भने, ‘राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाले हालसम्म क्षतिको विवरण पठाएकै छैनन् ।’

हेटौंडा उपमहानगरपालिकाले एकीकृत रूपमा क्षतिको विवरण नपठाएपछि ५, १२, १७ र ५ नम्बर वडाहरूले वडागत रुपमा क्षतिको विवरण पठाएका छन् । मकवानपुरगढी गाउँपालिकामा दुईवटा घर पहिरोले बगाएको छ भने अन्य तीनवटा घरमा पनि क्षति पुगेको बताइएको छ । बकैयामा दुईवटा घर पूर्णरूपमा नष्ट हुनुको साथै खेतीयोग्य जमिनमा पनि क्षति भएको छ । मनहरी गाउँपालिकामा ९१ वटा घर जोखिममा, १ सय २० बिघा जग्गा कटान, ट्रान्समिटरमा तथा खानेपानीको मुहानमा क्षति पुगेको जनाइएको छ ।

वाग्मती गाउँपालिकाले ३ सय ६० घर पूर्णरूपमा र ५ घर पुरिएका, ५ नम्बरको ७५ प्रतिशत धानबाली नष्ट भएको जिल्ला विपद् व्यवस्थापन समितिमा पठाएको विरणमा उल्लेख गरेको छ । कैलाश गाउँपालिकाले ५२ घरधुरीमा क्षति पुगेको जनाएको छ । समितिले दिएको विवरणअनुसार भीमफेदीमा २४ वटा घरधुरीमा क्षति भएको र इन्द्रसरोवर गाउँपालिकामा घरमा क्षति हुनुको साथै करिब ५१ लाखबराबरको बेमौसमी टमाटर खेती नष्ट भएको छ ।

अविरल वर्षाका कारण जिल्लाको सरकारी कार्यालयमा पनि क्षति पुगेको छ । क्षति भएकोमा प्राकृतिक जलाशय मत्स्य प्रवर्द्वन एवं संरक्षण केन्द्र हेटौंडा, शीतोष्ण बागवानी नर्सरी केन्द्र दामन, हेटौंडा दुग्ध वितरण आयोजना, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुर र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय रहेका छन् ।

विपद् व्यवस्थापन समितिले विपदबाट क्षति भएका ३९ वटा घरलाई प्रतिघर १० हजारको दरले राहत वितरण गर्ने निर्णय गरेको छ । जसमा हालसम्म २७ घरधुरीले राहत रकम बुझिसकेका छन् । बाढी तथा पहिरोको कारण जिल्लामा ६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएका परिवारलाई समितिले प्रतिपरिवार १ लाख दिने निर्णय गरेकोमा हालसम्म ४ जनाको परिवारले राहत रकम बुझेका छन् । ‘समितिमा आएको तथ्यांकका आधारमा भएको निर्णयअनुसारको राहत वितरण गरिएको हो । अब सबै स्थानीय तहबाट विवरण आएसँगै पूर्ण बैठक बसेर राहतको घोषणा र वितरणलाई तीव्रता दिइने छ,’ उनले भने ।

प्रकाशित : श्रावण २९, २०७६ १२:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×