रामेछापमा ५ हजार रोपनी बाँझै

टीकाप्रसाद भट्ट

(रामेछाप) — कुलो बनाएर ३ सय वर्ष पुग्यो सानीमदौ क्षेत्रमा खेती भएको । सधैं धान झुल्थ्यो । यस वर्ष जमिन बाँझै बस्यो । किसानहरू पुर्पुरोमा हात लगाएर बसेका छन् । 

किसानले सधैंझैं यो वर्ष पनि सानिमदौको सुवेदीटारमा धानको ब्याड राखे । कुलो बनाउने काममा सहभागी भए । जमिन खनजोत गरे । खोला आउला र रोपाइँ गरूँला भन्ने रहर पाले । तर, न खोला आयो न उनीहरूले छुपुछुपु रोपाइँ गरेर खुसी मनाउन पाए ।

स्थानीय पूर्णबहादुर सुवेदीले भने, ‘अब पानी परे पनि खेत नरोप्ने निर्णयमा पुग्यौं, अब रोपेर धान फल्दैन ।’ सुवेदीका अनुसार किसानहरूको भेलाले यस वर्ष धान नरोप्ने निर्णय गरेको छ । ‘मकै छर्ने कुरा भएको छ, मंसिरमा धानको भात हैन, फल्यो भने मज्जाले च्याँख्ला बजाउने हो ।

आकाशे पानी परेन भने त्यो पनि नपाक्ला । पानी नपर्दा पाखो बारीमा लगाएको मकै यस वर्ष पनि सुकेर नाश भए । मकै मरेपछि किसानका धेरै जमिन अहिले बाँझै देखिन्छन् ।

सानीमदौमा ३ सय वर्षअघि उपल्लो कुलो खनेको र त्यसपछि जग्गा बिराएर खेत बनाएको इतिहास छ । ‘उपल्लो कुलो खनेको ३ सय वर्ष पुग्दा यसै वर्ष मात्र त्यस क्षेत्रमा रोपाइँ नभएको हो,’ मच्छेडाँडीका ध्रुवप्रसाद सुवेदीले भने, ‘दैव लागेपछि कसको के लाग्छ ।’

रणजोरमा पानी नपलाएपछि नागथान, चालिसे, कालापानी, डिटार, उपल्लोटार, माझटार, बिरौटा, खाँदबारी र बोधने नामले चिनिने करिब ५ हजार रोपनी खेत बाँझै छ । तल्लो कुलोभन्दा मुनि केही किसानले धान रोपेका छन् । सानो जरुवाको पानीले रोपिएको उक्त खेतमा पानी पटाउने निहुँमा किसानबीच झमेला हुने गर्छ । पानीको वैकल्पिक स्रोत त्यस क्षेत्रमा छैन ।

‘रणजोरमा पानी नभएकोले खेत रोप्न नसक्दा किसानले धानको बीउ उखेलेर गाईभैंसीलाई दिन थालेका छन् । छिप्पिएर ब्याडमै सुक्न थालेको बीउ उखेलेर वस्तुलाई खान दिने किसानलाई आउने वर्ष बेसाएर चामलको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता परेको सुवेदी बताउँछन् ।

२० वर्षअघिसम्म रणजोरमा वर्षायाममा तर्न नसक्ने पानी हुन्थ्यो । रणजोर तर्न आँट गर्ने मान्छे बहादुर कहलिन्थ्यो । ‘वारपार आउने बाढीमा हेलिने कति तामाकोसीका पुगे, त्यसको हिसाब छैन । खोला तर्न नसक्ने वारिको वारि, पारिको पारि हुन्थे, खेत रोप्न नपाउने त कुरै छाडौं,’ स्थानीय कृष्णप्रसाद सुवेदी भन्छन्, ‘अब ती दिन सम्झनाका लागि मात्र भए, यसबीचमा सानो हुँदै रणजोर स्याप्पै भयो ।’

रामेछापको दक्षिणी क्षेत्रमा लगातार सुक्खा लागेको १५ वर्ष बित्यो । वर्षायाममा पर्याप्त पानी नपर्दा अधिकांश मूलहरू सुके । त्यसको प्रभाव पाखो जग्गामा परेकै थियो । कैयौं वर्षदेखि पाखो जग्गाको मकै किसानहरूले भित्र्याउन सकेका छैनन् । त्यही रणजोरको पानीले सुरुमा खेती हुन्थ्यो । ‘अब न खेतमा न पाखोमा,’ स्थानीय केशरबहादुर कार्की भन्छन्, ‘जग्गा भएर पनि खेती भएन, भोकै परिने भइयो ।’

मन्थलीकै बारीखेत र गैरीमा किसानहरूले तामकोसीको पानी तानेर केही वर्षदेखि खेत रोप्दै आएका छन् । तिनले पैसा खर्च गरेर पनि स्रोत पाएका छन् । तामाकोसी नजिकै छ ।
सानीमदौका किसानले त्यस्तो स्रोत पनि पाएका छैनन् । बोरिङ गर्दा पनि दिगो रूपमा आउने पानी भेटिँदैन भन्ने विश्वास किसानलाई छ । त्यसैले बोरिङको योजना बनाएका छैनन् ।

कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा झन्डै ७६ प्रतिशतरोपाइँ भएको तथ्यांक छ । दक्षिणी रामेछापका खेतहरू बाँझै छन् । रामेछापको लेकाली क्षेत्रका अधिकांश खेतमा रोपाइँ भएको छ ।

प्रकाशित : श्रावण २९, २०७६ १२:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ती

लीला श्रेष्ठ

(भक्तपुर) — तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०६१ सालमा मनोहरा नदी किनारमा कृषि बजार उद्घाटन गरेका थिए । त्यसको भोलिपल्टै त्यहाँको जग्गामा सुकुम्बासी आएर बसे । अहिले पनि सुकुम्बासीकै बस्ती छ, प्रस्तावित कृषि बजारको अत्तोपत्तो छैन । 

काठमाडौं र मध्यपुर थिमि नगरपालिकाको संगमस्थल मनोहरा नदी किनारमा ७ सय २० परिवार सुकुम्बासी बसोबास गरिरहेका छन् । सुकुम्बासीले साढे २ सय रोपनी जग्गा अतिक्रमण गरेको मनोहरा जग्गा एकीकरण आयोजनाका इन्जिनियर मनोजकुमार भेटवालले बताए । ‘२०२१ सालमा नापी भएको मनोहरा नदीको बहाव क्षेत्रमा सुकुम्बासी बस्ती छ,’ उनले भने, ‘मनोहरा नदी
व्यक्तिको जग्गामा बगिरहेको छ ।’

काठमाडौं महानगर र मध्यपुर थिमि नगरको समन्वयमा २०५९ देखि जग्गा एकीकरण आयोजना सञ्चालित छ । भेटवालका अनुसार मनोहरा नदी क्षेत्रको विवादबाहेक आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । मनोहरा जग्गा एकीकरण आयोजनाभित्र पर्ने मनोहरा नदी किनारमा १५ वर्षदेखि बसोबास गरिरहेका सुकुम्बासी हटाउने विषयमा स्थानीय प्रशासन मौन छ ।

आयोजनाले भने २०२१ सालको नापीअनुसार नदीको बहाव परिवर्तन गर्दा सुकुम्बासी स्वतः हट्ने जनाएको छ । ०२१ को नापीअनुसार मनोहरा नदी भएकै ठाउँमा अहिले व्यक्तिको जग्गा देखिन्छ । फिल्डमा भने बहाव परिवर्तन गरेका कारण नदी अरूकै जग्गामा छ । ‘नदीको जग्गा व्यक्तिले आफ्नो नाममाबनाइसकेछन्,’ उनले भने ।

२०३० तिर नदीले बहाव परिवर्तन गरेपछि उक्त जग्गा व्यक्तिले निजीकरण गरेको पत्ता लागेको आयोजनाले जनाएको छ । २०३७ असोज २६ मा उक्त जग्गा व्यक्तिका नाममा पास भएको मालपोतको अभिलेखमा छ । साविक दिव्यश्वरी ७ (ख) कित्ता नम्बर २४५ को करिब ५० रोपनी मनोहरा नदी हो । कित्ताकाँट हुँदै जाँदा २५७ रपछि २५८ कायम भएको छ ।

त्यसपछि विभिन्न समयमा कित्ताकाँट हुँदै २५८ बाट २६३, २६४ र २६५ कायम भएको छ । त्यस्तै, २६३ कित्ता बदर भई २६६, २६७ कायम भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार हाल ती कित्ता श्यामजंग सिजापती, राजेन्द्रकुमार सिजापती, सवर्णकुमार सिजापती र प्रेमजंग सिजापतीको नाममा छन् । २६६ कित्ता डण्डपाणि उपाध्यायको नाममा दर्ता छ । विभिन्न समयमा बेचबिखन हुँदै जाँदा २८३ नम्बर कित्ता तेज नसिं द्वारेलगायत २ जना र २८४ नम्बर कित्ता पुरुषोत्तम पौडेलका नाममा रहेको उल्लेख छ । २६७ नम्बर कित्तालगायतको १३ रोपनी जग्गा दर्ता बदर भएको जनाएको छ । मध्यपुर थिमिकै सानोठिमी महेन्द्र शान्ति माविको पछाडिको ९ रोपनी सार्वजनिक जग्गा व्यक्तिको अतिक्रमणमा परेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

त्यसैगरी, मध्यपुर थिमि १ का वडाध्यक्ष सुरज खडकाका अनुसार मनोहरा नदी किनाराको करिब डेढ रोपनी जग्गा लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दले अतिक्रमण गरेका छन् । ‘सार्वजनिक सुक्दै निजी जग्गा फुक्दै गएको छ,’ उनले भने, ‘अरुण चन्दको घरको पर्खाल खोलासम्म छ ।’

सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिकाको समन्वयमा सिमांकन तथा सिडहरू संकलन गर्ने कार्य गरिरहेको उनले बताए । मध्यपुर थिमि १ लोकन्थलीस्थित स्वास्थ्य चौकीवरिपरिको करिब २ रोपनी पर्ति जग्गा अतिक्रमण भएको वडाध्यक्ष खडकाले बताए । स्वास्थ्य चौकीको पूर्व र उत्तरतर्फको पर्ति जग्गा सडकले ओगटेको र पश्चिमतर्फ व्यक्तिले अतिक्रमण गरेको जग्गाको नक्सा रोक्का राखेको उनी बताउँछन् । मध्यपुर थिमि ३ सागबारीस्थित हनुमन्ते नदीको ६४ रोपनी जग्गा समेत व्यक्तिको नाममा पास गरिएको तथ्य पत्ता लागेको नगरपालिकाले जनाएको छ ।

हनुमन्ते नदीको उक्त सार्वजनिक जग्गा पूर्वभूमिसुधार मन्त्री जगन्नाथ उपाध्यायको पालामा आफ्नी कान्छी पत्नी विमली उपाध्यायको नाममा दर्ता गरेको पाइएको हो । मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाको संगम स्थल नीलबाराहीस्थित १९ रोपनी १० आना पर्ति जग्गा २०४२/४३ सालमा कान्छा सुवालको नाममादर्ता भएको पाइएको छ ।

सार्वजनिक जग्गा संरक्षणमा नगरपालिकावर्षौंदेखि विभिन्न व्यक्तिको नाममा बिक्री हुँदै आएको मध्यपुर थिमि बोडेको ऐतिहासिक पलेस्वाँ पुखु (कमलपोखरी) लाई जिल्ला अदालत भक्तपुरले सार्वजनिक पोखरीको रूपमा कायम गर्ने फैसला गरेपछि नगरपालिकाले संरक्षण थालेको छ । अदालतले २०३५, ०३७ र ०५५ मा विभिन्न व्यक्तिको नाममा पहिले भएका अदालती आदेशलाई समेत बदर गरेको छ । २०२१ को नापीमा समेत सार्वजनिक पुखुकै रूपमा रहेको प्रमाणित रहेको अदालतले जनाएको छ ।

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको पलेस्वाँ पुखुको १५ रोपनी ९ आना जग्गा जोगाउन माग गर्दै स्थानीयले वर्षौंदेखि दबाब दिँदै आएको थियो । मध्यपुर थिमिले हाल साविक गर्दा व्यक्तिले जग्गा घुसाएको पाइएमा नछोड्नेनगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

मध्यपुर थिमि ६ बसिडोंस्थित २१ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी भूमाफियाले माटो बेच्न लागेको पाइएकाले सिमांकन गरी रोकेको छ । मध्यपुर थिमि ९ सानो वनस्थित करिब १५ रोपनी पर्ति जग्गा, ३ वडा सुन्दर बस्तीमा ब्लक कारखानाले अतिक्रमण गरेको ६ रोपनी ८ आना, ५ वडा स्थित हात्तीमहांकालस्थित ढुंगेधारासहित अतिक्रमण परेको करिब २० रोपनी जग्गाको संरक्षण थालेकोनगरप्रमुख श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २९, २०७६ १२:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×