सडकभरि खाल्डैखाल्डा

कालोपत्रे भत्किएर खाल्डो मात्रै बनेको छैन, पहिरो गएको ठाउामा स्तरोन्नति नहुादा सडक हिलाम्मे छ
कान्तिपुर संवाददाता

रसुवा — पासाङल्हामु मार्गको स्याउबारीदेखि स्याफ्रुसम्मको सडक खण्ड मर्मत नहुँदा जीर्ण बनेको छ । सडकमा कालोपत्रे भत्किएर खाल्डाखुल्डी बनेका छन् । पहिरो गएको ठाउँमा स्तरोन्नति भएको छैन । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडकमा दैनिक सयौं सवारीसाधन आवतजावत गर्छन ।

पासाङल्हामु मार्ग सडक खण्डको खोपाङ भीरमा कन्टेनर चढ्न नसकेपछि पछाडिबाट धकेल्दै । तस्बिर : कान्तिपुर

वर्षात्को समयमा पासाङल्हामु मार्गको यात्रा झनै कठिन हुने गरेको छ । अहिले पासाङल्हामु मार्ग सडक खण्डको विभिन्न ठाउँ हिलाम्मे छ । हिलोमा दिनहुँ सवारीसाधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ ।

अहिले खोपाङ भीरमा खाली सवारीसाधन उक्लनै नसक्ने अवस्था छ । सडकमा फसेका सवारीसाधनहरूलाई यात्रु र चालकहरूले डोरीले तानेर निकाल्ने गरिएको छ । ‘सडक हिलाम्मे हुन्छ र खाली गाडी उकालोमा चढ्न सक्दैन,’ कन्टेनर चालक प्रेम बुलुनले भने, ‘खाल्डाखुल्डी नपुरिँदा स्याउ बोकेको लोड कन्टेनर कोल्टिएर दुर्घटना हुने गरेको छ ।’ पासाङल्हामु मार्गको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानो भार्कु लगायत धेरै ठाउंमा पहिरोको समस्या छ ।


त्यस्तै, स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको अवस्था पनि उस्तै छ । उक्त सडक खण्डमा पहिरोको जोखिम धेरै रहेको छ । सडक जीर्ण हुँदै गएपछि यो खण्डको यात्रा निकै जोखिमपूर्ण बनेको यात्रुहरू बताउँछन् । साँघुरो सडक गाडीलाई साइड दिनका लागि पासिङ जोन नहुँदा चालकहरूले अनेकौं समस्या झेल्नुपरेको छ । ठाउँठाउँमा बनेको खाल्डाखुल्डीले यात्रा झन् जोखिमपूर्ण रहेको चालकहरू गुनासो गर्छन् । पासाङल्हामु मार्ग सिंगल लेनको कच्ची सडक हो । सडकको बीच बाटोमै पुगेर ट्रक तथा कन्टेनर बिग्रन्छन्, साइड दिने ठाउँ हुँदैन घण्टौंसम्म जाम हुने गरेको छ ।


भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही मार्गको प्रयोग गरिएको छ । भारतले नाकाबन्दी गर्दा पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने विषयमा पनि निकै चर्चा चलेको थियो । नाकाबन्दीको बेला चीन सरकारले दिएको अनुदानको तेल यही मार्ग हुँदै काठमाडौं पुगेको हो ।


साँघुरो कच्ची सडक त्यसमाथि भूकम्प र ठाउँठाउँमा गएको पहिरोको कारण तहसनहस भएको छ । सडक मर्मत तथा सुधारमा सम्बन्धित निकायले चासो नदिँदा सडक जीर्ण बन्दै गएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उक्त सडक सदरमुकाम जोड्ने सडक पनि हो । ‘सडकको दयनीय अवस्थाको कारण यात्रुहरूले पनि समस्या झेल्नुपरेको छ,’ उनले भने ।


नाकाबन्दीताका भूकम्पका कारण बन्द भएको रसुवागढी नाका खोल्न र पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने भन्दै मन्त्रीहरू नाकासम्म पुगेका थिए । सडक स्तरोन्नति गर्ने र ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि तत्काल पासिङ जोन बनाउने त्यति बेलाको सरकारले योजनासमेत सार्वजनिक गरेको थियो । नाका त सञ्चालनमा आयो तर सडकको अवस्था भने जस्ताको तस्तै छ ।

सरकारले त्यति बेला गरेको सडक स्तरोन्नति गर्ने घोषणा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । ‘साँघुरो भीरको बाटोबाट गाडी चलाउनुपर्दा ज्यानकै बाजी थाप्नुपर्छ,’ चालक रामशरण आचार्यले बताए । ‘यो सडकमा खाल्डाखुल्डी धेरै छन्,’ उनले भने । ‘पासाङल्हामु मार्गका लागि पर्याप्त मात्रामा बजेट नआएकाले ठूलाखाले मर्मत हुन नसकेको सडक डिभिजन कार्यालय नुवाकोटले बताएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

सौराहामा हात्तीलाई मेजमानी

रमेशकुमार पौडेल

चितवन — सौराहा हात्ती सफारीका लागि विश्वमा ख्याति कमाएको पर्यटकीय क्षेत्र हो । रत्ननगर नगरपालिकामा पर्ने सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय अगाडि चौरमा सोमबार बिहान हात्ती नै हात्तीको जमघट थियो ।

पर्यटक डुलाउने धपेडीबाट केही बेर मुक्त भएर उनीहरूले मन पर्ने मिठा खानेकुरा खाए । रत्ननगरका मेयर नारायण वन नै अगाडि सरेर हात्तीहरूलाई खानेकुरा खुवाए । धान, नुन र भेलीलाई हरियो घाँसमा बेरेर बनाएको डल्लो अर्थात् कुची हात्तीले मेयर बनको हातबाटै तानेर मिठो मान्दै खाए । मेयरले कुचीमाथि बन्दा, फर्सी पनि थपिदए । सोमबार विश्व हात्ती दिवस परेको थियो । सौराहा क्षेत्रका विभिन्न चार संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मेयर बनले हात्तीलाई कुची दिएर कार्यक्रम उद्घाटन गरे । त्यसपछि त्यहाँ भेला भएका स्थानीय र पर्यटकसम्मले हात्तीलाई खाने कुरा दिए ।


भिनु धामी १६ जना चिनियाँ पर्यटक बोकेर पोखरबाट आइतबार सौरहा आएका थिए । साँझ उनीहरू हात्ती चढेर जंगल घुमे । बिहान राप्ती नदीमा डुंगा सयर गरे । ‘आज नै हात्तीलाई खानेकुरा खुवाउने पिकनिक जस्तो कार्यक्रम छ भन्ने जानकारी गराइएको थियो । चिनियाँहरूले त्यो पनि हेरौं भनेपछि उनीहरूलाई ल्याएर म यहाँ आए’ पथप्रदर्शक भीनु धामीले भने ।


सौराहासँग हात्ती अटुट रुपमा जोडिएको छ । ‘यहाँको पर्यटन उकासेकै हात्तीले हो । त्यसैले हामीले हात्ती दिवसको सन्दर्भमा कार्यक्रम गरेर हात्तीलाई के कस्ता खानेकुरा के कसरी खुवाइन्छ भनेर देखाउन खोजेका हौं’ आयोजकमध्ये सौराहाको युनाइटेड हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारीले भने । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तमाङ हात्तीका कारणले नै वन क्षेत्रको पर्यटन पनि फष्टाएको बताउँछन् ।


‘०५३ सालको भदौ २३ मा पाँचवटा हात्ती छिराएर बाघमारा मध्यवर्ती सामुदायिक वनका पर्यटनको सुरुवात भएको हो । अहिले हात्ती सफारीबाटै बाघमाराले वर्षमा डेढ करोड रुपैयाँको हाराहारीमा आम्दानी गर्दछ’ बाघमाराका अध्यक्ष तमाङले भने । त्यसैले हात्ती समाजको सम्वृद्धिसँग पनि जोडिएको उनले बताए । सौराहामा मात्रै पर्यटक डुलाउने सहकारीका ५५ र अन्य निजी होटलकासमेत गरेर ६० हात्ती रहेका छन् ।


राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयबाट प्राप्त विवरण अनुसार नेपालभर २५० को हाराहारीमा घरमा पालिकाएका हात्तीहरू छन् । त्यसैगरी नेपालभर दुई सयको हाराहारीमा जंगली हात्तीहरू छन् । कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछाने स्वभावका हिसाबले जंगली र घरमा पालिएका हात्तीहरू खासै फरक नभएको बताउँछन् । हात्तीहरू घरपालुवा भइनसकेको र मान्छेको नियन्त्रणमा मात्रै रहेको उनले बताए ।


त्यसैले हात्तीसँग नजिक हुँदा विशेष सजग र हात्तीमैत्री हुनु पर्ने उनले बताए । हात्तीको यस्तो स्वभावका कारण पर्यटनमा हात्तीलाई प्रयोग गर्न नहुने बहस पनि विश्वव्यापी रूपमा बढेको छ । ‘तर चितवनको सन्दर्भमा हात्ती सफारी नै ठप्प गर्न मिल्ने अवस्था रहेन । तर हात्तीको आहार र व्यवहारलाई ख्याल राखेर कामहरू गर्नुपर्ने भएको छ । हात्तीलाई अनावश्यक दुःख दिइएको छैन भन्ने सन्देश विश्वव्यापी बनाउन आवश्यक छ’ उनले भने ।


वन्यजन्तुको शिलस्वभावका विषयमा अनुसन्धानमा संलग्न लामिछानेका अनुसार एउटा वयस्क हात्तीले दैनिक २५० देखि ३५० केजीसम्म हरियो घाँस खान्छ । दुई सय लिटर पानी खान्छ । जंगली अवस्थामा हात्ती सयदेखि तीन हजार वर्ग किलोमिटर क्षेत्रमा विचरण गर्ने गरेको भेटिएको उनले बताए । ‘त्यसैले हात्तीको आहारा र स्वभावलाई ख्याल राखेर मान्छेले त्यही अनुरूपको व्यवहार गर्नुपर्ने हुन्छ,’ लामिछानेले भने ।


एउटा हात्ती आठदेखि १० वर्षको हुँदा प्रजनन् कार्यमा सक्रिय हुन्छ । हात्तीको गर्भकाल २२ महिना लामो हुन्छ । एक पोथी हात्तीले जीवनकालमा पाँच ६ वटासम्म बच्चा जन्माउने उनले बताए । ‘त्यसैले गर्दा हात्तीको संख्या द्रुत गतिमा बढ्न सक्दैन । संरक्षण प्रभावकारी भएन भने हात्ती लोप हुन बेर लाग्दैन,’ उनले भने । संसारमा कुनै बेला हात्तीका ७० प्रजाति थिए । अहिले अफ्रिकी र एसियाली गरेर दुई प्रजाति मात्रै छन् ।


‘पर्यटनमा हात्तीको प्रयोगले समुदायलाई र हात्तीलाई जोड्ने काम गर्दछ । यसबाट हात्ती जोगाउनु पर्दछ भन्ने भावना सर्वसाधरणमा जाग्छ,’ रत्ननगरका मेयर बनले भने । हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारी पर्यटनमा प्रयोग भएका हात्तीको स्याहारको सन्दर्भमा पहिलाभन्दा धेरै राम्रो सुधार भएको दाबि गर्दछन् । आहारादेखि स्वास्थ्य उपचारको विषयमा हात्तीधनी धेरै नै सजग हुन लागेको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्