कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकलको ठक्करले पैदलयात्रुको मृत्यु

रमेशकुमार पौडेल

चितवन — मोटरसाइकलले ठक्कर दिँदा सोमबार राति एक पैदलयात्रुको मृत्यु भएको छ । मृतकको नाम ठेगाना खुल्न सकेको छैन । पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणगढ लायन्सचोकमा उक्त दुर्घटना भएको हो । 

लायन्सचोकभन्दा झण्डै पाँच सय मिटर पर १० दिनअघि पनि रातिकै समयमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गएको थियो ।


चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार सोमबार राति साढे १० बजे लायन्सचोकमा भरतपुरको चौबिसकोठीबाट नारायणगढ पुलचोकतर्फ आउँदै गरेको प्रदेश–३–०३००१ प ९२२ नम्बरको मोटरसाइकलले अन्दाजी ३०/३२ वर्षको पुरुषलाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा एक घण्टापछि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको हो ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाका अनुसार मृतकको शव भरतपुर अस्पतालको शबगृहमा राखिएको छ । उनको पहिचान खोज्ने प्रयास भइरहेको डिएसपी कोइरालाले बताए । यसअघि साउन १७ गते भरतपुरको नयाँ मेडिकल कलेज अगाडि राति ११ बजे मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री प्रदिप सुनारको ज्यान गएको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?