२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पहिरो अझै पन्छाइएन

टीकाप्रसाद भट्ट

रामेछाप — महिनाअघि खसेको पहिरो नपन्छाउँदा रामेछाप सदरमुकाम जोड्ने खुर्कोट–मन्थली सडकमा उच्च जोखिम मोलेरै यातायात सञ्चालन हुने गरेको छ ।

पहिरो अझै पन्छाइएन

सडक विभागको जिम्मामा रहेको उक्त खण्डको पहिरो पन्छाउन ढिलाइ भएकाले दुर्घटनाको त्रास बढेको सवारी चालक सन्तोष रायले बताए । उनले भने, ‘एकतर्फी यातायातका साधन सञ्चालन हुने गरी पहिरो पन्छाएको १६ किलोमिटर लामो उक्त खण्ड पार गर्न करिब १ घण्टा लाग्ने गरेको छ ।’ विपरीत तर्फबाट एउटा गाडी आयो भने साइड दिन कैयौं मिटर पछाडि सर्नुपर्ने अवस्था छ ।


उक्त सडकमा दर्जनौं हाइस तथा साना गाडी ओहोरदोहोर गर्ने गर्छन् । पहिरोमा ठोक्किनबाट जोगाउँदै बामे सरेर सवारीसाधन घन्टौं लगाएर बाटो काट्ने गरेका छन् । साँघुरो भएका कारण एउटा गाडी पास नहुँदासम्म मोटरसाइकलसमेत पर्खिनुपर्ने अवस्था छ । असार अन्तिम साता परेको अविरल वर्षाले खुर्कोटदेखि मन्थलीसम्मको सडकमा सयभन्दा बढी स्थानमा पहिरो झरेको थियो ।


मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत र प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेको सक्रियतामा पहिरो पन्छाएर एकतर्फी सडक सुचारु भए पनि थप काम हुन सकेको छैन । सडक विभागको कार्यक्षेत्रमा पर्ने भएकाले नगरपालिकाको मेसिन पठाइएको छैन ।


विभागले एक/दुई दिन मेसिन ल्याएर केही स्थानमा माटो फालेको तर धेरै स्थानमा पहिरो बाँकी रहेकाले त्रासमा यात्रा गर्नुपरेको स्थानीय हातिटारकी आइती माझीले बताइन् । ‘अहिले हो कि भरे हो हाम्रै घर माथिबाट गाडि हाम्फाल्ला भन्ने डर छ,’ उनले भनिन्, ‘महिना बितिसक्दा पनि सम्बन्धित निकाय मौन बसेको देख्दा उदेक लाग्छ ।’ मन्थली १ को कुनाउरीदेखि खुर्कोटको पुलसम्म पहिरो नझरेको ठाउँ बिरलै रहेको उनले बताइन् ।


डिभिजन सडक कार्यालय खुर्कोटले पहिरोले अवरुद्ध सडक साबिककै अवस्थामा सुचारु गर्न अझै केही समय लाग्ने जनाएको छ । उक्त कार्यालयका इन्जिनियर रामबहादुर विश्वकर्माले फेरि पानी थपिएर पहिरो झर्ला भनेर केही समय पर्खिएको बताए । ‘फेरि झर्‍यो भने दोहोरो खर्च हुन्छ,’ उनले भने, ‘अब पर्खंदैनौं, फाल्छौं ।’


उनले पहिरो फाल्न इन्धनलगायत जुटाएर अमानतमा काम गर्नका लागि बजेट माग गरेको फाइल विभागमा पुगेको बताए । ‘साउनमा कार्यालयमा मर्मतलगायत पैसा नहुँदा पनि समस्या छ,’ उनले भने, ‘फाइल कता पुगेको छ, त्यसलाई टुंगो लगाएर अब चाँडै काम गर्छौं ।’

प्रकाशित : श्रावण २७, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?