कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेरूको अल्पाका चित्लाङमा

हरिहरसिंह राठौर

चित्लाङ — जीउ र थुतुनो भेडाजस्तो, घाँटी भेडाबाख्राभन्दा निकै लामो । पेरू, बोलिभिया, इक्वेडर र उत्तरी चिलीको घरपालुवा जनावर हाम्रा लागि अनौठो त हुँदै हुन् । यिनका घाँटी हेरेरै आगन्तुक छक्क पर्छन् ।

पेरूको अल्पाका चित्लाङमा

मकवानपुरको थाहा नगरपालिकामा पर्ने पर्यटकीय गन्तव्य चित्लाङ चिसो हावापानी र होमस्टेका लागि प्रसिद्ध छ । कुलेखानी जलाशय, दामन, पालुङ र चन्द्रागिरी पनि नजिकै भएकाले बाह्रै महिना आन्तरिक पर्यटक पुग्ने चित्लाङलाई होमस्टेले मात्रै चिनाउँदैन, पेरूको अनौठो जनावर अल्पाका (लामा) ले पनि आकर्षण गरिरहेको छ । अनौठो जन्तु हेर्नकै लागि मात्र पनि यहाँ पुग्ने थुप्रै हुने गरेका छन् ।

विसं २०५० मा जर्मन नागरिक हडमुन वाउडरले दोलखाको जिरी र मकवानपुरको चित्लाङमा जग्गा खरिद गरी हिमालयन प्लान्टेसन प्रालि कम्पनी खोलेका थिए । उक्त कम्पनीले दुवै ठाउँमा जैतुनका २/२ हजार बिरुवा लगायो । यो नै नेपालका लागि जैतुनको पहिलो व्यावसायिक खेतीको सुरुआत हो । भारतको कालिङपोङकी महिलालाई विवाह गरेका हडमुनले सोखका लागि पेरूबाट दुर्ई जोडा अल्पाका पनि ल्याएर जिरीमै पालेका थिए । उक्त जोडाको हेरचाह गर्न गंगा जिरेललाई नियुक्त गरेका थिए ।

जिरीमा एक दशकसम्म पालुन्जेल दुर्ई जोडा अल्पाकाले चारवटा मात्रै पाठापाठी पाए । दुई जोडा पुराना माउ र अन्य बच्चासहित १० वटा अल्पाकालाई हडमुनले ललितपुरको गोदावरीको ठैबमा सारे । ठैबमा १२ वर्ष पाल्दा जम्मा चारवटा मात्रै थपिए । अल्पाकाहरू दुब्लाउँदै गएपछि हडमुनले चित्लाङको जैतुन फर्म र आधुनिक घरसहित अल्पाका प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई १० करोडमा बेचे ।

भट्टचनले फर्म १७ सय मिटर उचाइमा रहेको चित्लाङस्थित जैतुन फर्ममा सारे । चित्लाङ सारिएको चार वर्षमा अल्पकाको एउटा पोथी मर्‍यो । एउटाले भाले जन्माएर १५ महिनापछि पुनः गर्भवती भएको छ । हाल उक्त फर्ममा १५ महिनादेखि २२ वर्षसम्मका १५ वटा अल्पाका छन् ।

हेरचाहमा खटिएका जिरेका अनुसार अति शान्त स्वभावको यो जनावरका केही पक्ष रोचक छन् । उज्यालो बेला मात्रै सुत्केरी हुन्छ । अल्पाकाको भाले र पोथीलाई छुट्टाछुट्टै राख्नुपर्छ । सँगै राखे झगडा गरिरहन्छन् । दिसापिसाब सधैं एउटै ठाउँमा मात्र गर्छन् । आफ्नो बथान छाडेर कतै भाग्दैनन् । मान्छेलाई केही गर्दैनन् । पोथीभन्दा भाले नै बढी जन्मने भएकाले यसको संख्या धेरै बढ्न नसकेको उनले बताए ।

शत्रुको आक्रमणबाट जोगिन यो जन्तुसँग कुनै पनि उपाय छैन । सिङ हुँदैन । बिरालो र मलसाँप्रोजस्ता साना जनावरले पनि मार्न सक्छन् । अल्पका रिसाएपछि चपाएको घाँस थुकेर जनाउ दिन्छ । माइनस १० डिग्रीसम्ममा पाल्न सकिने यो जन्तुको संख्या थप्न पोथी मगाउन खोजे पनि स्वीकृति लिने प्रक्रिया झन्झटिलो हुनुले नसकेको जैतुन फर्मका व्यवस्थापक पदमसिंह खड्काले बताए । हाल फर्म हाउसमा करिब ६० जनालाई खान–बस्न व्यवस्था गरिएको होमस्टे सञ्चालनमा छ ।

सोख र रौंको व्यावसायिक उत्पादनका लागि अल्पका पाल्नेहरू छन् । बिसिंखेलस्थित यो फर्ममा भने रौंका लागि अल्पका पालिँदै आएको छ । यसका रौं भेडाको भन्दा निकै न्यानो हुन्छ ।

अल्पकाको मूल्य ७ लाखदेखि १० लाख रुपैयाँसम्म पर्छ । यसको रौंबाट बनाइएका ज्याकेटहरू जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छन् । अहिले अल्पाका हेर्नका लागि विभिन्न ठाउँबाट मान्छेहरू मकवानपुरको बिसिंखेल पुग्ने गरेका छन् । यसले त्यहाँको पर्यटकीय आकर्षण पनि थपेको स्थानीय रामजी बलामीले बताए ।

प्रकाशित : श्रावण २६, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?