होमस्टेले जोगाउँदै पुरानो शैलीका घर

गाउँका पुरानो ह्योम्मो, शेर्पाली शैली र परम्पराबारे धेरै विदेशी अध्ययन गर्नसमेत जिल्ला भित्रिने गरेका छन्
अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिकाअन्तगत फुल्पिङकट्टी नारायणथानकी साङडोमा शेर्पाले पुरानै शैलीमा घर बनाएकी छन् । भूकम्पले ध्वस्त बनाएपछि ढुंगा–माटो र काठ प्रयोग गरी दुई वर्षपछि दुईकोठे घर निर्माण गरेकी उनले पर्यटकका लागि अलग्गै कोठा राखेकी छन् ।

होमस्टेले जोगाउँदै पुरानो शैलीका घर

‘विदेशी वा स्वदेशी पाहुनाका लागि दुई कोठा छुट्ट्याएको छु,’ साङ्डोमाले भनिन्, ‘पहिलेको जस्तै शेर्पाली घर बनाएर बस्न थालियो ।’ नारायणथान, सेतीदेवीका धार्मिक गुम्बा मन्दिर हेर्दै यहाँको गाउँको परिवेश, हिमाली वातावरण चाख्न पर्यटक आउन थालेपछि बासका लागि यस्तो मौलिकता जोगाएर घर बनाएको उनले सुनाइन् ।


दुगुनाको यार्मासिंहस्थित यार्मासिंह, खाम्गेक विक टोल, भुमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलजस्ता होमस्टेगाउँ बनाउने अभियान थालेको छ । (तिब्बतसँग युद्व गर्न जंगबहादुर राणाले बनाएको गढक्षेत्र) सँगै थैपिनारायण, तातोपानीजस्ता धार्मिकस्थलको संरक्षण भइरहेको छ ।

जुगल गाउँपालिका तेम्बाथानगाउँका बुद्धमान तामाङले पुरानै शेर्पाली शैली ढुंगा–माटोले घरको पुनर्निर्माण सकेका छन् । आफूलाई चित्तबुझ्दो पर्यटकमैत्री र भूकम्पप्रतिरोधी भएपछि यसमै जोड दिएर उनले आवास ठडाएका छन् । ‘एक वर्षसम्म त विदेशी ,स्वेदेशी दुवै पर्यटकलाई टहरामा स्वागत गर्‍यौं,’ उनले पुरानो गाउँको सम्झना गर्दै भने, ‘गाउँभर आफू बस्ने घर थिएन, केही गर्न सक्दैन थियौं, अब भने न्यानो घरमा भित्र्याउन पाउने भएका छौं ।’


गाउँको पुरानो ह्योल्मो, शेर्पाली शैली र परम्पराबारे धेरै विदेशी अध्ययनका लागि जिल्ला भित्रिने गरेका छन् । पर्यटकीय गाउँको रूपमा चर्चित हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा धेरैले आफ्नै संस्कृति झल्कने एकीकृत बस्तीको रूपमा बदलेका छन् । हेलम्बुमा ह्योल्मो जातिको धर्म, संस्कृति झल्कने आवास, एकीकृत बस्ती अन्तिम चरणमा पुगिसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘शेर्माथान, मेलम्चीघ्याङ, तार्केघ्याङदेखि कुटुम्साङसम्म होमस्टे प्रयास गरिएका घर पुनर्निर्माण भइसकेको छ, पर्यटन पुरानै स्वरूपमा फर्किसकेको छ,’ उनले भने ।


त्यस्तै, पाँचपोखरी गाउँपालिकाले ‘एक घर एक रङ’ लिएर धमाधम पुनर्निर्माणलाई अगाडि बढाएको छ । भूकम्पपछिको पुनर्निर्माणको चटारोमा हिमाली गाउँको सुन्दरता हेर्न आउने आन्तरिक पर्यटकका लागि जिल्लाभर होमस्टे बनाइएको छ । आफ्नै जातिविशेषको परिवेश बनाएर जिल्लाभर घुम्न आउने पर्यटकका लागि उचित वातावरण बनाउन स्थानीय आफैं होमिएका छन् ।


‘नयाँ घर ठडिने क्रमसँगै पहिले होमस्टे सञ्चालित गाउँ मौलिक रूपमा फर्किंदै छन्, स्थानीय तहले यसलाई प्रोत्साहित गरेको छ,’ जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका प्रमुख सन्तोष निरौलाले भने । ८८ हजार ८ सय ७७ मा ७० हजार भूकम्पपीडितले आवास बनाइसकेका छन्, जसमा गैरसरकारी संस्थाको सहयोगमा झन्डै ५ हजार घर बनेका छन् ।


तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिको अध्ययनले (९५ प्रतिशत) ६६ हजार घर भत्काएको देखाएको छ । त्यति बेला ध्वस्त आवास तीन नगरदेखि नौ गाउँपालिकाले सडक सञ्जालमा वडालाई जोडिदिएपछि पुनर्निर्माणले एकैसाथ फड्को मारेको निरौलाको भनाइ छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?