कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भूमिहीनले घर बनाउन पाउने

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीका भूमिहीन भूकम्पपीडितले घर बनाउन पाउने भएका छन् । भूकम्पको लाभग्राही सूचीमा परेका १ हजार ८ सय ८० लाभग्राहीले घर बनाउन पाउने भएका हुन् । आफ्नो नाममा जग्गा नभएका लाभग्राहीले अहिले बसोबास गरिरहेकै स्थानमा घर बनाउन पाउने भएका हुन् । 

जिल्लामा पुनर्निर्माणले गति लिन नसक्नुमा एउटा कारण भूमिहीन पनि भएकाले भूमिहीनहरूलाई घर बनाउन स्वीकृति दिएको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुलीले जनाएको छ ।


जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका लाभग्राही सूचीमा परेका भूमिहीनलाई घर बनाउन स्वीकृत दिएको जिल्ला आयोजना कार्यान्वयन र्एकाई प्रमुख सूर्यप्रकाश विष्टले बताए । उनका अनुसार भूमिहीन भूकम्प प्रभावितले अहिले भोगचलन गरेकै स्थानमा घर बनाउन पाउने छन् ।

हरिहरपुरगढी गाउँपालिकाका लालबहादुर राई घर बनाउन पाउने भएपछि निकै खुसी लागेको बताउँछन् । राई ज्यामी काम गरेर ९ जनाको परिवार पाल्दै आएका छन् । ‘मेरो एक्लो कमाइले ९ जनाको परिवार चलाउनै हम्मे–हम्मे परिरहेको थियो । जग्गा किनेर घर बनाउने सक्ने अवस्था थिएन’ उनले भने, ‘सरकारले जग्गा जमिन नहुनेलाई हेर्छु भनेको थियो । जेहोस्, ढिलै भए पनि हामीजस्ता गरिबको उद्धार गरिदियो । हामी एक्दमै खुसी छौं ।’


मरिण गाउँपालिकाकी बिबिमाया थिङ पनि घर बनाउन पाउने भएपछि निकै नै खुसी छिन् । ‘ऐलानीमा बसेकाहरूलाई सरकारले हटाउँछ रे भन्थे । कति ठाउँमा त हटाइनै सक्यो रे भन्ने सुनिन्थ्यो । हामीलाई पनि कतिखेर हटाउने हो भनेर डराईडराई बस्नुपथ्यो,’ उनले भनिन्, ‘अब त ढुक्कले घर बनाएर बस्न पाइने भयो ।’


संघीय सांसद गणेशकुमार पहाडी, प्रदेशसभा सदस्य प्रदीप कटुवाल, प्रमुख जिल्ला अधिकार जनार्दन गौतम, जिल्ला समन्वय समितिका सभापति शंकर बर्मा तिवारी, जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार विकास समिति सिन्धुलीका प्रमुख विष्टलगायत सरोकारवालाहरूको बैठकले बसोबास गरिरहेकै जमिनमा भूकम्प प्रभावितलाई घर बनाउन दिने निर्णय गरेको हो ।


बैठकले भूकम्प प्रभावितको सूचीमा परेका तर आफ्नो नाममा जग्गा नभएकाहरूलाई स्थानीय तहको सिफारिस, धारा वा बिजुलीको बिल तिरेको रसिदलगायतका प्रमाणका आधारमा बसोबास गरेको स्थानमा भूकम्प प्रतिरोधी घर बनाउन दिने निर्णय गरेको हो । छनोट गरिएका प्रभावितलाई तुरुन्तै अनुदान सम्झौता गरी निजी आवास पुनर्निर्माण गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् ।


जिल्लामा भूकम्पपछिको पुनर्निर्माणमा सोचेअनुरूपको प्रगति हुन सकेको थिएन । ३८ हजार ५४ लाभग्राहीमध्ये १९ हजार २३८ लाभग्राहीले मात्र तेस्रो किस्ता लिएका छन् । जसमा पहिलो किस्ता लिनेको संख्या ३५ हजार ९१९ थियो भने दोस्रो किस्ता लिनेको संख्या २८ हजार ८८ रहेको प्राधिकरणले जनाएको छ ।


पुनर्निर्माणले सोचेअनुरूपको गति लिन नसकेको अवस्थामा भूमिहीनलाई घर बनाउन स्वीकृति दिएकाले अब केही हदसम्म पुनर्निर्माणले गति लिने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?