इनारमा खसेर महिलाकाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुर माइत आएकी एकजना महिलाकाे इनारमा खसेर ज्यान गएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार भरतपुर महानगरपालिका-९ आदर्शचाेक माइत आएकी ४० वर्षीया इन्द्रकला भुषाल शुक्रबार बिहान सवा ६ बजे इनारमा खसेकी थिइन् ।

उपचारका क्रममा उनकाे पाैने नाै बजे निधन भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

भुषालकाे घर नवलपुरकाे गैंडाकाेट हाे । इनार ढाकेकाे ढकनीमा चढेर उनले कपडा सुकाउने डाेरी मिलाउँदै थिइन् । त्यही बेला ढकनी भाँच्चिएर उनी इनारमा खसेकाे छिमेकीहरूले बताएका छन् ।

घटना बारे जानकारी भएपछि प्रहरी उद्धारका लागि गएकाे थियाे । प्रहरी निरीक्षक विरेन्द्र गुरूङ इनारभित्र गएर भुषाललाई बाहिर ल्याएका थिए । अस्पताल पठाए पनि बचाउन नसकेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण काेइरालाले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

रासस

सर्लाही — जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो । 

पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नंको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय विक्रमदास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ भने मनोज दासको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौँडामा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्