कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पोस्टमार्टम गर्न डाक्टर अभाव

राजेन्द्र मानन्धर

दोलखा — सरकारी स्वामित्वको चरिकोट अस्पतालमा मंगलबार एउटा शवको पोस्टमार्टम गर्न निजी क्षेत्रमा कार्यरत डाक्टरको सहयोग लिनुपर्‍यो । शवको पोस्टमार्टम सरकारी चिकित्सकले गर्नुपर्ने कानुनी व्यवस्था छ । सरकारी दरबन्दीअनुसार हुनुपर्ने ३ जना डाक्टर काजमा अन्यत्र खटाइएपछि निजी क्षेत्रका डाक्टरलाई जिम्मेवारी परेको हो । 

गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा दिने नमुना परियोजना चलिरहेको अस्पताल नेपाल सरकार र निजी क्षेत्र न्याय हेल्थको साझेदारीमा सञ्चालित छ । अस्पताल सञ्चालन सम्झौतामा सरकारी र निजी क्षेत्रका चिकित्सकले साझेदारीमा सेवा सञ्चालन गर्ने भनिएको छ । २०७२ साल माघ ५ मा भएको सम्झौतामा चरिकोट प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य मन्त्रालय र न्याय हेल्थ संस्थाबीच ५० बेडको चरिकोट अस्पताल बनाउने उल्लेख छ ।


दैनिक तीन सय व्यक्ति जाँच गर्न आउने अस्पतालमा पर्याप्त चिकित्सक नभएकाले सेवाग्रहीलाई सास्ती छँदै छ, शवको पोस्टमार्टमसमेत रोकिने अवस्था आइपरेको भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए । त्यसैले अस्पताल सम्झौताको भावनाअनुसार निजी क्षेत्रतर्फका चिकित्सकलाई अर्को व्यवस्था नभएसम्मका लागि पोस्टमार्टमको समेत जिम्मेवारी दिएपछि शव उठेको उनले जानकारी दिए ।


सम्झौताअनुसार अस्पताल सञ्चालनलाई नगरपालिकाले सम्हाल्नुपर्छ । न्याय हेल्थले कार्यकारी काम तथा आन्तरिक व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ । १० वर्षसम्म सरकारले अस्पतालको सञ्चालनको मुख्य साँचो न्याय हेल्थलाई सुम्पिए पनि अस्पतालको अध्यक्षता भीमेश्वर नगरपालिकाका मेयरले गर्नुपर्छ ।


स्थानीय तह भीमेश्वर नगरपालिकाले पनि सम्झौताको भावअनुसार अस्पतालको जिम्मेवारी लिन सकेको छैन । साथै, जिल्लाकै नमुना र निःशुल्क सेवा दिइरहेको अस्पताललाई बजेट छुट्ट्याउन पनि कन्जुस्याइँ गरिरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले अस्पताललाई बिस्तारै नगरपालिकाले बजेट थप्दै निगरानी बढाउँदै जाने बताए ।


जिल्लाभरिको जनताको स्वास्थ्य सेवाको भार थेग्नुपर्ने अस्पताललाई नेपाल सरकारले ५० बेडको अस्पतालमा स्तरोन्नति गर्न आलटाल गरिरहेको छ । चिकित्सकको दरबन्दी धमाधम झिकेर सरकारी अस्पतालको जवाफदेहिता र जिम्मेवारी निजी क्षेत्रलाई सुम्पँदै गएको छ । अस्पतालप्रति बिरामीको आकर्षण र बढदो चापअनुसार न्याय हेल्थले पनि पर्याप्त विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न नसक्दा सेवाग्राही मर्कामा परिरहेका छन् ।


उपचार, औषधि र शय्यालगायत सम्पूर्ण सेवा निःशुल्क भएकाले अस्पतालमा जिल्ला भित्र र बाहिरबाट समेत उपचार गराउन आउँछन् । अमेरिकी सहयोगमा स्थापित न्याय हेल्थको व्यवस्थापनमा प्रविधियुक्त दर्ता प्रक्रियादेखि शल्यक्रियासम्म निःशुल्क हुने छ । सरसफाइ र व्यवस्थापन चुस्तदुरुस्त देखिन्छ । त्यसैले बिरामीको भीड दिन प्रतिदिन बढिरहेको छ ।


सरकारी डाक्टर नभएपछि भीमेश्वर नगरपालिकाले सोमबारदेखि न्याय हेल्थका डा. विनोद दंगाललाई पोस्टमार्ट गर्ने अधिकारसहित पत्र थमाएको हो । अस्पतालको प्रमुख विशेषज्ञ चिकित्सकको भूमिकामा नेतृत्व गरिरहेका डा. दंगालले बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने जिम्मेवारीमा सरकारी प्रशासनिक कार्यसमेत थपिँदा अप्ठेरो पर्ने बताए ।


‘स्थानीय सरकारले लेखेर दिएपछि बाध्यताबस पोस्टमार्टमको कार्य गरें,’ उनले भने । निःशुल्क सेवा भएको अस्पतालमा उपलब्ध जनशक्तिले नभ्याउने गरी भीड लाग्छ । निजी अस्पतालमा लाखौं पर्ने शल्यक्रिया अस्पतालमा निःशुल्क हुन्छ । त्यसैले सुत्केरी हुन र जटिल शल्यक्रिया गर्न जिल्लाभित्र र बाहिरबाट समेत आउने गर्छन् । तर जनशक्ति अभावले छ । सरकारले ५० शय्याको अस्पतालमा स्तरवृद्धि गरेपछि जनशक्तिको समस्या नहुने सूचना अधिकारी शान्तिप्रसाद न्यौपालेले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?