कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[अपडेट] २२ घर पहिरोको जोखिममा, दाेखलामा बेपत्ताको खाेजी जारी

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण सिन्धुपाल्चोकको त्रिपरासुन्दरीमा बस्ती नै विस्थापित भएको छ । दोलखाको जुँगुमा दुई दिन अघिदेखि पहिरोमा हराइरहेका २ जनाको खोजी जारी छ । नुवाकोटको पासाङल्यामु मार्गको ३४ किलोमा अवरुद्ध सडक कहिले खुल्ने भन्ने निश्चित छैन । 

[अपडेट] २२ घर पहिरोको जोखिममा, दाेखलामा बेपत्ताको खाेजी जारी

अविरल वर्षात्ले भासिएर घरमाथि पहिरो गएपछि त्रिपुरासुन्दरी गाउँपालिका– ३ धुस्कुन फागुका शिवकुमार कार्की पिरोलिएका छन् । यहाँका २२ भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् ।


‘भूकम्पपछि बल्ल बनाएको घर पनि पहिरोले बगाउने भयो, हामी के गर्ने भनेर तनावमा परेका छौँ,’ उनले बस्तीमाथिको भूभाग देखाउँदै भने । पहिरोले आफूसहित नौ परिवार विस्थापित बनेको उनले सुनाए । बस्तीमाथिको खेतबारी भलसँगै बग्न थालेपछि यहाँको बस्ती नै उच्च जोखिममा परेको छ । ‘बस्तीसँगै खेतबारी भलले बगाएको छ, अन्न उब्जनी केही बाँकी राखेको छैन,’ बलेफी गाउँपालिका–३ ओखरेनीकी कुमारी तामाङले भनिन् ।


बस्ती पहिरोसँगै ६ घर बग्ने देखिएपछि त्रसित स्थानीयले उद्धारका लागि जनप्रतिनिधिलाई गुहारेका छन् । त्रिपुराको धुस्कुनको फागु, चित्रेपाटी, फापरचौर, बलेफी ३ को ओखरेनी र जुगल गाउँपालिकाको ढाडे, चौतारा, बाह्रबिसे नगर क्षेत्रभर जताततै पहिरो गएको जिल्ला प्रहरीले जनाएको छ । ‘बर्खामा त्रिपुराको केही भूभागमा यस्ता समस्या देखिएकाले समाधानका लागि लागेका छौ, आवश्यक सामग्री र सहयोग उपलब्ध गराउँदै छौँ,’ वडाध्यक्ष सुकदेव रिसालले भने ।



जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धारकार्य र घटना विवरण संकलनमा जुटेका छन् । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म बर्खाको दिनहुँ वर्षात्ले जिल्लाभर सानोठूलो पहिरो गएसँगै अधिकांश बस्ती जोखिममा परेको प्रहरीको भनाइ छ ।


‘बजारभन्दा ग्रामीण भेगमा पहिरोले विस्थापित बनाएको पाइएको छ,’ एसपी मरासिनीले भने । यसैगरी वर्षात्पछि बढेको भोटेकोसीको सतह एकै रातमा हृवात्तै बढेपछि तटीयक्षेत्रका स्थानीय त्रसित भएका छन् । कोसी रातारात भरिएर आएपछि सीमाक्षेत्र तातोपानी, चाकु जम्बु हुँदै बाह्रबिसे, खाडीचौरदेखि सुकुटे बजारसम्म भागाभाग मच्चिएको छ । ‘सधैं बर्खामा यस्तै समस्या व्यहोरिरहनुपर्ने भो, वर्षात् भएको दिन राम्रोसँग निदाउन सकिँदैन,’ बाह्रबिसे बजारका स्थानीय उद्धवबहादुर तिवारीले भने ।


बाह्रबिसेका मेयर निफुञ्जो शेर्पा र भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले प्राकृतिक विपद् व्यवस्थापनको लागि पहलकदमीमा लागिरहेको दाबी गरे । ‘तत्कालै पहिरो रोकथामका लागि अभियान र दीर्घकालीन तटबन्ध कार्यक्रम सुरु गर्न लागेका छौँ,’ शेर्पाले भने । स्टमेटअनुसार सडक नलगिएकाले जताजतै पहिरो गएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।


सडक अवरुद्ध

नुवाकोट (कास)– पासाङल्हामु मार्ग सडकखण्डको चौतीस किलोमा पहिरोले सडक अवरुद्ध भएको छ । मंगलबार अपराहृन माथिबाट सडकमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।


सडक बालाजु–त्रिशूली सडकखण्ड ककनी गाउँपालिका ४ मा पर्छ । सडक खुलाउने पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘एकतर्फी रूपमा खुलाएका छौँ, ठूलो ढुंगा खसेकोले फुटाएर सुचारु गर्न केही समय लाग्ने भएको छ ।’


बेलकोटगढी नगरपालिका ११ देखि १३ वडा र ककनी गाउँपालिका पूर्वी भेग उक्त सडक खण्ड हुँदै आवतजावत गर्ने मुख्य बाटो हो । यो सडक खण्ड गुर्जेभन्ज्याङ र गल्छी सडक खुल्नुअघिको पुरानो मार्ग हो । जिल्ला बाहिरिने तीन सडक मार्गमध्ये त्रिशूली–गल्छी सडक खण्डमात्र सुचारु छ । पासाङल्हामु मार्ग र त्रिशूली–गंगटे– छहरे–गुर्जेभन्ज्याङ सडक अवरुद्ध छ । जिल्ला बाहिरिने दुई सडक अवरुद्ध भएपछि अहिले सबै सवारी गल्छीबाट काठमाडौं आवतजावत गर्न थालेका छन् ।


जिल्लाको पूर्वी भेगबाट सञ्चालित बस गल्छी हुँदै काठमाडौं जाने क्रममा बसले प्रतिव्यक्ति ५० देखि १ सय रुपैयाँसम्म थप भाडा उठाउने गरेका छन् । ‘टिकटबाहेक थप भाडा तिर्नुपरेको छ,’ एक यात्रुले भने, ‘गुर्जेबाट लैजाउ भन्यो बाटो छैन । बस जान सक्दैन भनेर बीचबाटोमा आएपछि भाडा थप्न लगाउँछन् । कसले सुन्ने हाम्रो कुरो ?’


पछिल्लो समय गुर्जे भन्ज्याङ हुँदै काठमाडौं टोखा जाने सडक खण्ड शिवपुरी गाउँपालिका ८, ७ र ६ को थानपति, सुनखानी, ठाना भन्ज्याङ, गुरुङगाउँ, गुर्जे भन्ज्याङमा सडक हिलाम्मे छ । जगत बसपार्कदेखि झोर छिचोल्ने ठाउँसम्म कच्ची सडक औधि हिलो छ । यता पासाङल्हामु सडक खण्ड ठाउँठाउँमा साना ठूला पहिरो गएका छन् । सडक निर्माण ठेक्का लिएका ठेकेदारले त्यतिकै भित्तो काटेर छाडेकाले पहिरो गएको हो ।


बेपत्ताको खोजी जारी

दोलखा (कास)– जुँगु पहिरोमा हराइरहेका दुई जनाको खोजी गर्न सेना, जनपद र शसस्त्र प्रहरी लागे पनि भेट्टाउन सकेका छैनन् । गौरीशंकर गाउँपालिका १ स्थित जुँगुको आठवटा बस्तीलाई क्षति पुग्ने गरी गएको पहिरोमा हराएका ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खडकाको खोजीमा नेपाली सेनाका कुकुर पनि बुधबारदेखि खटाइएको छ ।


सैनिक मुख्यालयबाट आएका ९ र तारा दल गणका १५ सेनासहित ती कुकुर खटाइएको हो । साथमा सशस्त्र, जनपद प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी पनि खटिरहेका छन् । काठमाडौंबाट हेलिकप्टरबाट आएका कुकरले सुघेर हराएका मानिसको खोजी थालेका थिए । दक्ष सेना, जनपद र शसस्त्र प्रहरीको टोली र कुकुरसहितले खोजी गर्दा पनि हराएकाहरू नभेटिएको तारा दल गणका गणपति निखिल उप्रेतीले बताए ।


प्रहरी नायव उपरीक्षक मानबहादुर राईले सेनाले तालिम प्राप्त कुकुर ल्याउने भएपछि प्रहरीले कुकुर झिकाउने कार्य स्थगित गरिएको बताए । विपद्का बेला मिलेर संकट टार्न सबै रणनीति अपनाइएको प्रनाउ राईले जानकारी दिए ।


प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शुक्रबार गएको पहिरोले ७२ घर जोखिममा रहेको प्रारम्भिक तथ्यांक आएको छ । एक सय ७५ जना विस्थापित छन् । पहिरो चल्न थालेपछि मानिस भागेर सुरक्षित भए पनि ठूलो संख्यामा चौपाय मरेका र घाइते छन् । सडेगलेको पशुहरूले रोग फैलन सक्ने खतरा बढदै गएको छ ।


उनीहरूको व्यवस्थापनका लागि टोली खटाइएको प्रजिअ रिजालले बताए । शुद्ध पानीको अभावले मानिस बिरामी पर्न थालेका छन् । स्वास्थ्य टोली पनि खटाइको छ । संघीय, प्रदेशका सांसाद र स्थानीय तहका जनप्रतिनिधि पनि पहिरो स्थलमा उद्धार र राहत उपलब्ध गराउन खटिरहेका छन् । विस्थापितका लागि सुरक्षित स्थानको खोजीका लागि पनि पहल भइरहेको नेकपाको नेतृ स्थानीयवासी देवी खड्काले बताइन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?