१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टेकामुनि पठनपाठन

भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि कक्षाकोठा भवन निर्माण नहुादा जोखिम मोलेरै जीर्ण भवनमा शिक्षकले विद्यार्थीलाई पढाइरहेका छन् ।
प्रमिता ढकाल

भरतपुर — चितवनको रत्ननगरस्थित एक विद्यालयमा भूकम्प गएको ४ वर्षपछि पनि टेकाकै भरमा अडिएको भवनमा पठनपाठन भईरहेको छ । जोखिम मोलेरै शिक्षकले विद्यार्थीलाई पढाईरहेका छन् ।

टेकामुनि पठनपाठन

स्थानीय जनजागृति माध्यमिक विद्यालयको भवनमा भूकम्पले क्षति पुर्‍याएको थियो । दुईतले भवनको बीच भागमा लगाइएको टेकोले पूरै विद्यालयलाई धानिरहेको छ । टेको लगाइएको स्थानको तल्लो तलामा कक्षा ७ र माथिल्लो तलामा कक्षा ९ का विद्यार्थी पढ्ने गर्छन् । विद्यार्थीकै हिँडाइले समेत भवन थर्किएर हल्लिने गर्छ ।


कक्षा ७ की छात्रा सम्पदा खनालले कक्षाकोठामा बस्नै डर लाग्ने गरेको बताइन् । ‘हामी तल्लो तलामा छौं, माथि दाइदिदीहरू हिँड्दा पनि थर्किएर यो घर हल्लिन्छ,’ उनले भनिन्, ‘भूकम्प आइराखेको जस्तो मात्रै लागिरहन्छ ।’


भूकम्पले क्षति पुर्‍याएको विद्यालयमा अध्ययन गर्न बाध्य विद्यार्थीमा मनोबल कम भएको शिक्षकहरूको बुझाइ छ । विद्यालयका विज्ञान शिक्षक पवन लामिछानेका अनुसार त्रासका कारण विद्यार्थीको शिक्षण सिकाइ क्षमतामै असर पुगेको छ । ‘भौतिक संरचना कति खेर भत्कने हो भन्ने चिन्ता सधैं हुन्छ,’ उनले भने, ‘पढाएको कुरा ध्यान दिएर नसुन्ने, आफ्नै सोचमा हराउनेजस्ता समस्या देखिएका छन् ।’


विद्यालयमा १२ वटा कक्षाकोठा छन् । ती मध्ये १० वटामा भूकम्पले पूर्ण क्षति पुर्‍याएको थियो । ४ वटा कक्षाकोठा गत वर्ष भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) कार्यक्रमअन्तर्गत निर्माण गरिएको थियो । अझै ८ वटा निर्माण गर्न बाँकी छ ।


प्रत्येकमा ३५ देखि ४० विद्यार्थी छन् । उनीहरू सबैमा आफ्नो विद्यालय भवन निकै कमजोर रहेको र जुनसुकै बेला भत्किन सक्छ भन्ने त्रास छ । विद्यालयका प्रध्यानाध्यापक विनोदप्रसाद अधिकारीका अनुसार भूकम्प गएकै वर्षदेखि नै फलामका पाताहरूले पर्खाल धानेर पढाउने काम भइरहेको हो । ‘हरेक वर्षको कार्यक्रममा परेपछि मात्र बजेट आउने रहेछ,’ उनले भने, ‘पूरै भवन बन्न अझै कति पो लाग्ने हो ।’


०७२ को भूकम्पले चितवनमा २ सय ९० वटा विद्यालय भत्काएको थियो । ती विद्यालयका ६ सय ८० कक्षाकोठमा पूर्ण क्षति पुगेको थियो । भूकम्पपछिको पुनर्निर्माणको काम सुरु भएको पनि तीन वर्ष भयो । यस अवधिमा विद्यालय निर्माणको जम्मा २३ प्रतिशत काम पूरा भएको छ ।


एउटा विद्यालयको पूर्ण संरचना एक पटकमा नहुने भएकाले पुनर्निर्माणमा समस्या देखिएको भरतपुर १० मा अवस्थित भरतपुर माविका प्रधानाध्यापक खेमनारायण पौडेलले बताए । उनको विद्यालयका १२ वटा कक्षाकोठामा भूकम्पले क्षति पुगेको थियो । तीमध्ये गत आवमा ४ वटा कक्षाकोठा निर्माण सम्पन्न भएका थिए । अझै ८ वटा कक्षाकोठा निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए । जिल्लामा अझै ३ सय ६६ वटा कक्षा कोठानिर्माण गर्न बाँकी छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?