कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बिदामा कोचिङ

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको राक्सिराङ–६ स्थित सिलिङे राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका लागि वर्षेबिदामा निःशुल्क आवासीयसहित अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई वर्षेबिदा नदिई स्कुलमै राखेर शिक्षकले कोचिङ पढाइ रहेका हुन् । साउन १ देखि विद्यालयका अरू कक्षाका विद्यार्थीलाई बिदा छ । 

‘विद्यार्थीलाई स्कुलमै खाने र बस्ने व्यवस्था गरी तीन विषयको कोचिङ कक्षा पढाइरहेका छौं,’ प्रधानाध्यापक तारानाथ दुवाडीले भने, ‘विद्यार्थीहरूको पढाइको अवस्थामा सुधार ल्याउन छुट्टीको समयमा स्कुलमै राखेर पढाउँदै छौं ।’ अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको प्रत्यक्ष निगरानीमा राखेर उनीहरूलाई शिक्षण सिकाइ क्रियाकलाप भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोतिराम चेपाङले बताए ।


८, ९ र १० कक्षा अध्ययन गर्ने १६० विद्यार्थीलाई स्कुलम राखेर बिहान १० बजेदेखि २ बजेसम्म पढाउने र बेलुका ७ देखि ११ बजेसम्म पढने व्यवस्था मिलाएको उनले जनाए । विद्यार्थीहरूमा शिक्षण सिकाइ उपलब्धिपूर्ण बनाउन र बिदाको समयको सही सदुपयोग होस् भनेर यो विशेष कक्षा सञ्चालन गरिएको प्रअ दुवाडीले बताए ।


उक्त विद्यालयमा ८ कक्षा ६८, ९ कक्षमा ६० र १० कक्षामा ३० जना विद्यार्थी अध्ययनरत छन् । यी कक्षाका विद्यार्थीहरूले साउन १ बाट स्कुलमै रहेर कोचिङ कक्षा लिइरहेका छन् । नजिकै घर भएका छात्रछात्रालाई समेत स्कुलमै राखेर पढाइँदै छ ।


अभिभावकहरूले व्यवस्थापन समिति र शिक्षकको प्रशंसा मात्रै गरेका छैनन्,’ आफ्नो बारीमा फलेको हरियो तरकारी पनि ल्याइदिने गरेका छन् । उक्त विकट क्षेत्रमा रहेका विद्यालयका शिक्षकहरू विगतमा नियमित रूपमा स्कुलमा उपस्थित नहुने गर्थे । शिक्षक पढाउन नआएपछि विकट गाउँका अभिभावक दिक्क हुने गरेका थिए । अहिले परिस्थिति फेरिँदै गएको छ । ‘बिदामा पनि शिक्षकहरू घर नगएर विद्यार्थीलाई स्कुलमै राखेर पढाउने गरेका छन्,’ स्थानीय आइतराम चेपाङले भने ।


चेपाङ बस्तीको मध्यभागमा रहेको विद्यालयमा ९८ प्रतिशत विद्यार्थी चेपाङ समुदायका छन् । उक्त बस्तीमा यो एक मात्र मावि हो । विद्यालयमा दैनिक ६ घण्टा हिँडेर विद्यार्थीहरू अध्ययन गर्न आउने गर्छन् । कोचिङ पढ्ने विद्यार्थी र शिक्षकलाई खाने र बस्ने व्यवस्था दिगो विकास एकता नेपालले गरेको छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?