२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कीटजन्य रोग नियन्त्रणमा आएन 

कान्तिपुर संवाददाता

चितवन — चितवनमा कीटजन्य रोगको जोखिम नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । डेंगु, औलो, स्क्रबटाइफसलगायतका रोग नियन्त्रण गर्न बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि त्यो प्रभावकारी हुन सकेको छैन । बिरामीको संख्या हरेक वर्ष बढदो छ ।

चितवनको जनघनत्व र अव्यवस्थित सहरीकरण कीटजन्य रोगको संक्रमणको मुख्य कारकका रूपमा देखिएको जिल्ला स्वास्थ्यका कीट नियन्त्रण निरीक्षक राम केसीले बताए । ‘कीटजन्य रोगको संक्रमणका लागि चितवन फर्टाइल हो,’ उनले भने, ‘रैथाने र घुमन्ते बिरामीले रोगको संक्रमण दर बढाइरहेका छन् ।’


चितवनमा कीटजन्य रोग नियन्त्रणका लागि प्रदेश सरकारको समेत चासो रहंको देखिन्छ । डेंगु तथा औलो रोग नियन्त्रणका लागि प्रदेश सरकारले समेत सचेतना कार्यक्रमका लागि चितवनलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरेको छ । तर, रोगको संक्रमण दर घटाउन उल्लेख्य सफलता हासिल गर्न सकिएको देखिँदैन ।


जिल्ला स्वास्थ्यका अनुसार गत वर्ष चितवनमा ३१ जना डेंगुको संक्रमणबाट थला परेका थिए । रगत परीक्षण गराएका १ हजार ९ सय ९१ जनामध्य ३१ मा डेंगु प्रमाणित भएको थियो । तीमध्ये १५ जना बिरामी चितवनकै थिए । ०७४/७५ मा १ हजार ४ सय ८३ जनाको रगत परीक्षण गरिएकोमा ५९ मा रोगको संक्रमण पुष्टि भएको थियो ।


डेंगु रोग एडिस एजेप्टाई नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्दछ । विशेष गरी भरतपुर महानगरको १, ३, ७ र ११ नम्बर वडा डेंगु रोगको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्यले जनाएको छ । सर्तकता नअपनाउने हो भने कुनै पनि बेला डेंगुको प्रकोप फैलन सक्ने केसीले बताए । जिल्लामा औलो रोगको जोखिम उत्तिकै देखिन्छ । अघिल्लो वर्ष जिल्लामा १० जनामा औलो रोगको पुष्टि भएको थियो ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?