कार्यालय सहयोगीले पढाउँछन्

कान्तिपुर संवाददाता

सिन्धुली — सुगमका विद्यालयमा विद्यार्थी संख्या न्यून भए पनि शिक्षकका लागि सधैं आकर्षणमा रहँदै आएको छ । दुर्गमका सामुदायिक विद्यालयमा भने विद्यार्थी धेरै भए पनि शिक्षक अभाव छ ।

गोलान्जोर–४ स्थित एक सामुदायिक विद्यालयमा शिक्षक अभावले विद्यार्थीहरू एउटै कक्षाकोठामा कोचिएर पढ्न बाध्य छन् । बितिजोर कुभिण्डेस्थित प्राथमिक विद्यालयका विद्यार्थी कोचिएर पढ्न बाध्य भएका हुन् ।

विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटा कोठा र कक्षा ४ र ५ कालाई अर्को छुट्टै एउटै कोठामा पढाउनुपर्ने बाध्यता रहेको छ । विद्यालयमा कार्यरत एक मात्र राहत शिक्षक जुनु श्रेष्ठका अनुसार अर्का एक अस्थायी शिक्षक चैतमै ‘गोल्डेन हेन्डसेक’ लिएर बिदावारी भए । झन्डै चार महिनायता विद्यालयमा शिक्षक अपुग छ ।

विद्यालयमा ५२ जना विद्यार्थी छन् । सबै कक्षामा नभ्याएपछि विद्यालय सहयोगीलाई समेत पढाउने जिम्मेवारी दिएको उनले बताइन् । विद्यालयमा यतिखेर शिक्षक श्रेष्ठसहित बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता तृष्णा कुँवर र कक्षा ८ सम्म पढेका विद्यालय सहयोगी यादव ठकुरी गरी तीन जना कार्यरत छन् ।

‘पठनपाठन नै ठप्प हुने भएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय गरी आन्तरिक स्रोतबाट तीन हजार रुपैयाँ थपेर कार्यालय सहयोगीलाई समेत पढाउने जिम्मेवारी दिएको छ,’ शिक्षक श्रेष्ठले भनिन्, ‘बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ताको कार्यालय समय दिउँसो एक बजे नै सकिने भएकाले कार्यालय सहयोगीलाई पढाउन लगाइएको हो ।’ ‘कहिलेकाहीँ त ५/७ दिन नै तालिम पर्छ, कहिले के कार्यक्रम पर्छ । जिल्ला सदरमुकाम जानु परिहाल्यो,’ उनले थपिन्, ‘त्यति बेला भने विद्यालय सहयोगीकै भरमा विद्यालय चल्ने हो ।’

अरू बेला पनि कहिलेकाहीँ कार्यालय सहयोगी बिरामी पर्दा सबैलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता आउने विद्यालयले जनाएको छ । सबैलाई एकै ठाउँमा राखेर पढाउँदा समस्या भएको शिक्षक श्रेष्ठको गुनासो छ । यता विद्यार्थीमा पनि उस्तै गुनासो पाइन्छ । सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर अध्ययन गर्दा हल्लाखल्लाले पढाएको राम्रोसँग नबुझिने विद्यार्थी बताउँछन् ।

कक्षा ५ मा अध्यनरत मेखबहादुर तामाङ सबैलाई एकै ठाउँमा राख्दा समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘मेडमले एकातिर पढाइरहँदा अर्कातिर विद्यार्थी झगडा गर्ने र रोइरहेका हुन्छन् । हामी कहिले हिसाब सिकिरहेका हुन्छौं । कहिले मेडमले नेपाली व्याकरण सिकाइ रहनुभएको हुन्छ ।’

गाउँपालिकाले सामुदायिक विद्यालयमा लागु गरेको दिवाखाजा कार्यक्रमपछि विद्यार्थी नियमित पढन आउने गरेका छन् । तर शिक्षकको अभावमा पठनपाठन कार्य भने राम्रोसँग चल्न नसकेको विद्यालयले जनाएको छ । गोलन्जोरका अध्यक्ष पुष्पबहादुर कार्की शिक्षकको व्यवस्था गरी पठनपाठनलाई सहज बनाइने बताए ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

छुँदा पनि धूलोधूलो हुन्छ ताडपत्र

प्रशान्त माली

काठमाडौँ — सरकारले बिनायोजना र पूर्वाधार राष्ट्रिय अभिलेखालय नारायणहिटीमा स्थानान्तरण गर्ने तयारी थालेको छ । हतारमा गरिने स्थानान्तरणले अभिलेखालयका दुर्लभ हस्तलिखित ग्रन्थ नष्ट हुने जोखिम उच्च देखिएको छ । 

राष्ट्रिय अभिलेखालयमा रहेका कतिपय ग्रन्थका पाना छुनेबित्तिकै झर्ने खालमा छन् । यी पाना ८ औं शताब्दीमा लिच्छवि लिपिमा लेखिएका हुन् । बौद्ध दर्शनको सद्धर्मपुण्डरिक सूत्र, सन् ८१० को स्कन्दपुराण, युनेस्कोले मेमोरी अफ द वर्ल्ड रजिस्टरमा सूचीकृत नवौं शताब्दीको शैवतन्त्र ग्रन्थ पनि अभिलेखालयमा छन् ।

प्रतापमल्लका पालामा लेखिएको स्याहा मोहर, भोज पत्रमा लेखिएको चण्डी, जग्गासम्बन्धी ताडपत्र, विष्णुधर्मोत्तरसम्बन्धी नीलपत्र र संसारकै प्राचीन लिखित कानुन मानिने जयस्थिति मल्लको वैधानिक कानुन न्यायविकासिनी (मानव धर्मन्यायशास्त्र) जस्ता मुलुकका इतिहास, धर्म, दर्शन तथा संस्कृतिका दुर्लभ हस्तलिखित ग्रन्थहरू संकलित छन् ।

अभिलेखालयमा कागजको विकास नहुँदै लेखिएका २२ सय वर्ष पुराना, १ लाख ८० हजार ग्रन्थ फिल्मिङ गरिएका माइक्रोफिल्म जस्ता अत्यन्त संवेदनशील ५० हजार अभिलेख छन् । ‘अभिलेखालयमा संसारले नै गौरव गरेका र विश्वकै अमूल्य सम्पत्तिका रूपमा रहेका अभिलेख छन्,’ राष्ट्रिय अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानांगले भनिन्, ‘यत्तिकै स्थानान्तरण गरे नष्ट हुने खतरा छ । नष्ट भए कुनै पनि उपायबाट परिपूर्ति गर्न सकिँदैन । मन्त्रिपरिषदको निर्णय पुनर्विचार गर्नु जरुरी छ ।’

प्रधानांगका अनुसार मन्त्रिपरिषद्ले अभिलेखालयलाई नारायणहिटीभित्र राख्ने भने पनि कुनै व्यवस्थापन गरिएको छैन । ‘जबर्जस्ती स्थानान्तरण गरे ५ औं शताब्दीको ताडपत्रमा लेखिएको दशभूमिश्वर, लिच्छविकालको बौद्ध दर्शन, स्कन्दपुराण नष्ट हुन्छन्,’ उनले भनिन् ।

पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालय रहेको भवन र जग्गा सर्वोच्च अदालतलाई उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले २०७१ वैशाखमा गरेको थियो । अभिलेखालय स्थानान्तरण गर्ने निर्णयसम्बन्धी अध्ययन प्रतिवेदनमा पनि मन्त्री परिषद्को निर्णय कार्यान्वयन गरे ठूलो धनराशि गुमाउनुपर्ने उल्लेख छ ।

संस्कृति मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, ‘मन्त्रिपरिषदको निर्णय परिवर्तन नै गर्नुपर्छ भन्ने होइन । तर, अभिलेखालयमा छुनेबित्तिकै झर्ने खालका डकुमेन्ट पनि छन् । विकल्पमा केही व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयलाई एक पटक चिठी पनि लेखेका थियौं ।’

सिंहदरबार परिसरको अभिलेखालय भवन भारत सरकारको सहयोगमा २०२४ मा अभिलेखालय प्रयोजन गर्ने उद्देश्यले बनाइएको थियो । यहाँ चारवटा भवन छन् । भवनमा वातावरण अनुकूलित भण्डारण कक्ष, तापक्रम, प्रकाश र आर्द्रताको उचित सन्तुलन, माइक्रोफिल्म विकास गरी प्रतिलिपि तयार गर्न ‘डार्क रुम’, सेवाग्राहीलाई अध्ययनको सुविधा उपलब्ध गराउन ‘रिडर रुम’ लगायतका पूर्वाधार छन् । नेपाल जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत बनाइएका माइक्रोफिल्म ‘फिल्म रिडर’ मार्फत सहजै अध्ययन गर्न सकिन्छ ।

मल्ल एवं शाह राजाले महत्त्वपूर्ण ग्रन्थ संकलन गरी पूजा तथा अध्ययन गर्थे । प्रतिलिपि तयार गराउन लगाउने अनि सुरक्षित राख्ने परम्पराले हस्तलिखित ग्रन्थहरू संकलन भए । मठमन्दिर, विहार, गुम्बाका आचार्य, पुरोहित तथा गुरु वर्गले अध्ययन, अध्यापन, पूजा–पाठ गर्न संकलन गरिएकाले पनि ग्रन्थहरू थपिँदै गए ।

सुरुमा ती सामग्री वसन्तपुर दरबारको एउटा कोठामा राखिँदै आएको थियो । सन् १९०४ मा दरबार हाईस्कुलमा सारियो । पछि वीरशमशेरले घण्टाघर पुस्तकालयको निर्माण गरेपश्चात् त्यहाँ सारियो । चन्द्रशमशेरले ग्रन्थहरू जाँच्न लगत समिति खडा गरे । २०२४ सालमा अभिलेखालय स्थापना भयो ।

अभिलेखालयमा ७ औंदेखि २० औं शताब्दीसम्मका प्राकृत, पाली, संस्कृत, मैथिली, नेवारी, तिब्बतीलगायत भाषामा लेखिएका ग्रन्थ छन् । प्राचीन देवनागरी, मैथिली, रञ्जना, नेवारी, बंगाली, उत्तर लिच्छवि लिपि प्रयोग गरी ज्योतिष, आयुर्वेद, योग, धर्मशास्त्र, पुराण, दर्शन, तन्त्र, कर्मकाण्ड, साहित्य, व्याकरण, इतिहाससँग सम्बन्धित ग्रन्थ छन् ।

नेपाली कागज थ्यासफुमा लेखिएका सामग्रीमा पनि छन् । अभिलेखालयमा संकलित अभिलेखहरूमध्ये कुनै लिपिको दृष्टिले महत्त्वपूर्ण छन् भने कुनै विषयका दृष्टिले त कुनै भाषा, लेख्य सामग्री, इतिहास, धर्म तथा दर्शनको आदिको दृष्टिले महत्त्वपूर्ण छन् । यहाँ पृथ्वीनारायण शाहको दिव्य उपदेशको हस्तलिखित प्रति, ऐतिहासिक कागजपत्रहरू लालमोहर, सन्धि सम्झौता, चिठीपत्र, स्याहामोहर, खड्ग निसाना, सनद, सवाल, इच्छापत्र, द्विछापे, रुक्का, इस्तिहार पनि सुरक्षित छन् ।

३ हजार शिलापत्र, भूमिसम्बन्धी कागजपत्र, निजामतीकर्मचारीका सिटरोल, प्रकाशनकै समयदेखिका गोरखापत्र, हुलाक टिकट छन् । २०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानको प्रमाणित प्रतिसमेत संरक्षित छ । त्यस्तै मुन्सीखाना जैसीकोठा हुँदै परराष्ट्र मन्त्रालयका एक हजार २ सय पोकामा रहेका ऐतिहासिक कागजपत्र संकलित छन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्