गोसाइँकुण्ड मेला सुरु

प्रत्येक वर्ष गंगा दशहरा र साउन शुक्लपूर्णिमा (जनैपूर्णिमा) गरी वर्षको दुईपटक विषेश मेला लाग्ने गर्छ
बलराम घिमिरे

रसुवा — प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनहरू आउन सुरु गरेका छन् । नागपञ्चमीबाट जनैपूर्णिमासम्म गोसाइँकुण्डमा मेला लाग्ने गर्छ । उक्त मेला भर्न श्रद्धालुहरू आउन थालेका हुन । गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगा दशहरा र साउन शुक्लपूर्णिमा (जनैपूर्णिमा) गरी वर्षको दुई पटक विषेश मेला लाग्ने गर्छ । 

साउन ३० मा जनैपूर्णिमा परेको छ । मेलाका तयारी पूरा भइसकेको छ । मेला व्यवस्थापनको आवश्यक तयारी पूरा भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताए ।

‘मेलाका लागि दररेट निर्धारण, फोहोर व्यवस्थापन, स्वास्थ्य क्याम्प सञ्चालन, स्वयंसेवक परिचालन, यातायातको व्यवस्थापन, प्रचारप्रसार, अस्थायी थर्पु निर्माण, पदमार्ग मर्मतलगायतका कार्य पूरा भएको छ,’ उनले भने । कुण्डमा मेला भर्न देशैभरबाट विषेशगरी हिन्दु तथा बौद्ध धर्मालम्बीहरू आउँछन् । मानव जीवनमा एक पटक पुग्नै पर्ने तीर्थस्थलको रूपमा रहेको छ, गोसाइँकुण्ड । यो कुण्ड गोसाइँकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । यो कुण्ड स्वदेश तथा विदेशमा समेत प्रसिद्ध छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन् । जनैपूर्णिमाका दिन सबै देवीदेवताहरूको गोसाइँकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पूजाआजा तथा स्नान गर्दा मनमा आनन्द हुने जनविश्वास पनि भक्तजनमा रहिआएको छ ।

धार्मिक र पर्यटकीय क्षेत्र भएकाले वर्षभरि नै विदेशी तथा स्वदेशी पर्यटकको आगमन भइरन्छ । गोसाइँकुण्डलगायत वरपरका अन्य कुण्ड ०६४ असोज ६ मा रामसार साइटमा सूचीकृत भएको थियो । गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दुधकुण्डलगायतका करिब १०८ वटा कुण्डरहेको अनुमान गरिएको छ । यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, कस्तुरीमृग, विभिन्न प्रजातिका वनस्पति तथा चरा रहेका छन् ।

कुण्डनजिकै अमरसिंह गुफा, अमरसिंहको चिहान रहेको छ । यात्रामा घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडाजस्ता ठाउँहरूबाट मनोरम दृश्य अवलोकन सकिन्छ । उच्च हिमाली भूभागमा यात्रा गर्दा रोमाञ्चकारी छुट्टै आनन्द आउँछ ।

गोसाइँकुण्डसम्म पुग्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक गरी ४ वटा पदमार्ग रहेका छन् । काठमाडौं–धुन्चे हुँदै गोसाइँकुण्ड, सिन्धुपाल्चोकको मेलम्ची–ठाडेपाटी हुँदै गोसाइँकुण्ड, काठमाडौं सुन्दरीजल–कुटुमसाङ हुँदै गोसाइँकुण्ड र नुवाकोटको घ्याङफेदी–यार्सा हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौं–धुन्चे हुँदै गोसाइँकुण्ड जाने पदमार्ग सबैभन्दा बढी चल्ती हुने पदमार्ग हो । काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा पर्दछ गोसाइँकुण्ड । छोटो पदमार्ग भएकाले स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

काठमाडौंबाट ११७ किमि (करिब ६ घण्टा) को बसमा यात्रा गरी सदरमुकाम धुन्चेमा बास बस्न सकिन्छ । भोलिपल्ट अर्थात् दोस्रो दिन सजिलैसँग पैदल यात्रा गरी चोलाङपाटी वा लौरीबिना पुग्न सकिन्छ । पर्सिपल्ट अर्थात् तेस्रो दिन सजिलै गोसाइँकुण्ड पुगिन्छ । हिँड्न सक्नेका लागि धुन्चे बास बसेको भोलिपल्ट अर्थात् एकै दिन गोसाइँकुण्ड पुग्न सक्छन् ।

कुण्ड समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा छ । नेपालको अग्ला स्थानमा रहेका धार्मिक तीर्थस्थलमध्ये यो कुण्ड पनि पर्दछ । गोसाइँकुण्ड उच्च हिमाली भूभागमा रहेको हुँदा हावामा अक्सिजनको मात्रा कम हुँदै जान्छ । जसले गर्दा यात्रीलाई लेक लागेर टाउको दुख्ने, वाक्वाकी लाग्ने हुन्छ ।

यात्रामा कागती, लसुन, तातोपानी, भिक्सलगायतका घरेलु औषधि सेवन गरी मन्द गतिमा उक्लिनुपर्छ । यात्राका क्रममा स्लिपिङ व्याग, साधारण स्वेटर वा ज्याकेट, तुमलेट, छाता एवं वर्षादी, लठ्ठी, सुक्खा खानेकुरा र औषधि आवश्यकताअनुसार लिएर आए यात्रा सहज हुन्छ । धुन्चेदेखि गोसाइँकुण्ड जाने रुटमा स्थायी तथा अस्थायी होटल, लज, थर्पु (अस्थायी टहरा) को पर्याप्त व्यवस्था रहेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

खेताला अभावमा खेत बाँझै

सुजता लामा

सिन्धुलीमाढी — कमलामाई नगरपालिका ४ देउरालीकी सीतामाया सापकोटाको झन्डै ८ बिघा जमिन बाँझो छ । यतिबेला लहलह धान हुनुपर्ने खेतमा वनमारा झाँगिएको छ । जमिनदार भनेर चिनिएको उनीको परिवार त्यो परिचय अहिले फेरिएको छ ।

अरूजस्तै साधारण किसान भएका छन् । जसोतसो २ बिघा खेतमा मात्र बाली लगाएको उनले बताइन् । उबेला जमिनदार भनेर कहलिएका उनका श्रीमान् योगेन्द्र सापकोटा अहिले प्यारालाइसिस भई थला परेका छन् । ४ जना छोरा छुट्टिएर बसेका छन् । उनीहरू आआफ्नै पेसा व्यस्त छन् । नछुट्टिएको अन्तरे छोरा भने वैदेशिक रोजगारीमा गएका छन् । छोरीहरू सबैको विवाह भइसकेको छ । सीतामायालाई अहिले खेती गर्ने मान्छेको अभाव छ ।

पहिले–पहिले अधियाँ गर्नेहरू पनि अहिले त खेती गर्न छाडेर बिदेसिएका छन् । ‘पहिले त मलाई अधियाँ गर्न दिनुस् न । म राम्रोसँग खेती गर्छु । समयमै अधियाँ बुझाउँछु जिम्दार्नी आमा भन्नेहरूको घरमा ताँती नै लाग्थ्यो ,’ उनले भनिन्, ‘अहिले त त्यसैगरी खा भन्दा पनि कोही खेती गर्न मान्दैनन् । दुःख गर्नुभन्दा हामी त विदेश नै जाने हो जिम्दार्नी आमा भन्छन् ।’ अझ थप्दै उनी भन्छिन्, ‘अहिले त यति खेती गर्न पनि कम्ती गाह्रो भाछ र ? घरैबिच्छे जस्तो छोरा मान्छे विदेश गएका छन् । अनि त खेताला नै भेटिँदैन । खेताला खोज्न दस गाउँ डुल्नुपर्छ ।’

सीतामायाको छुट्टिएर बसेका काइला छोरा सुरेन्द्र सापकोटाले भने झन्डै एक बिघा जति खेती गरेका छन् । सबै दाजुभाइले खेती छाडेकाले बाउबाजेको बिँडो थाम्न आफूले खेती गरेको उनी बताउँछन् । ‘त्यही पनि कम्ती गाह्रो भएको छ र ? खेती गर्छु त भन्यो, खेताला नै पाइँदैन,’ उनले भने ।

धेरैजसो युवाहरू साथीभाइको लहलहैमा लागेर, अरूको देखासिखी गरेर त कोही खेतीपाती गर्न लजाई बिदेसिने गरेकाले खेत बाँझै बस्ने समस्या आइपरेको उनी बताउँछन् । ‘आफ्नो ठाउँमा चाहिँ कामलाई ठूलो सानो सम्झने र अरूको ठाउँमा जे पनि गर्न तयार हुन्छन् मान्छेहरू के गर्नु ?’ उनले भने, ‘अब सरकारले छिट्टै नै युवाहरूलाई बिदेसिनबाट रोक्ने गतिलो नीति ल्याउनुपर्छ । नत्र यहाँ भने खेत बाँझै रहिरन्छ, युवाहरू भने विदेश पलायन भइरहन्छन् ।’

कमलामाई नगरपालिका ४ कै शम्भु बस्नेतको पनि झन्डै २ बिघा जमिन बाँझो छ । दुई बूढाबूढी मात्रै रहेका उनीहरूले पनि पहिले भए जति जमिन सबैमा खेती गरेका थिए । कति आफूले खेताला लगाएर त कति अधियाँ दिएर । तर अहिले भने बस्नेत परिवारले न आफूले नै खेती गर्न सकेका छन्, न त अरूले नै खेती गर्न मानेका छन् । जमिन बाँझै बसेकोमा भने बस्नेत निकै नै चिन्तित छन् । भन्छन्, ‘खेती गर्न छाडेपछि त बारीभरि वनमारा उम्रिएको छ । यसले बारी नै रुखो बनाउने भयो । के गर्नु अरूलाई त्यसै गरी खा न त भन्दा पनि कोही मान्नेवाला छैनन् । आफ्नो यति राम्रो बारीमा सबै वनमारा मात्र पलाएको छ ।’

जिल्लाका धेरै खेतीयोग्य जमिन बाँझै छन् । बढदो बेरोजगारीका कारण युवाहरू कामको खोजीमा बिदेसिन थालेपछि जमिन बाँझै बस्न थालेका हुन् । जिल्लामा कुल ६२ हजार ७१३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

जसमा ४८ हजार ७८९ हेक्टर क्षेत्रफल जमिनमा मात्र खेती गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका बागवानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले बताए । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा १३ हजार ९२४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन बाँझो रहेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्