जुँगु पहिरोमा बेपत्ता भएकाहरुको खोजीमा विज्ञ टोली खटाइने

कान्तिपुर संवाददाता

दोलखा — जुँगु पहिरोमा हराइरहेका दुई जनाको खोजी गर्न प्रहरीको विशेष खोजी टोली झिकाइने भएको छ । ७७ घरमा क्षति पुग्नेगरी शुक्रवार राति गौरीशंकर गाउँपालिका–१ स्थित पहिरोमा हराएका ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निशान खड्काको खोजीका लागि विज्ञ टोली झिकाइने भएको हो । प्रहरीले मंगलबारबाट उनीहरुको खोजी गर्नेछ । 


८ वटा बस्तीमा क्षति पुग्नेगरी पहिरो जाँदा उनीहरू बेपत्ता भएका हुन्। पहिरोपछि ७७ घरपरिवारका दुई सय ८२ जनाको बिल्लीबाठ भएको छ। सोमबार जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले ७७ परिवारका लागि स्कुल, स्वास्थ्य केन्द्र र आफन्तको घरहरुमा अस्थायी बसोबास मिलाएको छ।

उक्त पहिरोले जुँगु आउजाउ गर्ने तीन वटा सडक अवरुद्ध पारेको छ। सडक यातायात टुटेपछि उक्त स्थानमा राहत सामाग्री पुर्‍याउन कठिन भएको प्रमुख पाण्डेले बताए।

विस्थापितका लागि बासको व्यवस्था गर्न एक साताका लागि विद्यालयहरु बन्द गरिएको छ। स्थायी बासस्थानका लागि उपयुक्त थलोको खोजी गर्न मंगलबारबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिकहरुलाई पहिरोस्थलमा पठाउने पनि बैठकले निर्णय गरेको छ।

स्थायी बासलगायत अन्य सहायताका लागि सोमबार सङ्घीय सांसद पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल र प्रदेश सांसद पशुपति चौलागाईंसहितको टोली पहिरोस्थल पुगेका छन्।

प्रकाशित : श्रावण २०, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

एबी इबेभका बियर काठमाडौंमा

कान्तिपुर संवाददाता

राज ब्रुअरी प्रालि र एन्ह्युजर–बस्क इनबेभका बीच केही प्रख्यात बियर ब्रान्डहरूको उत्पादन र बिक्री वितरण गर्ने सम्बन्धमा सम्झौता भएको छ  । अब एबी इनबेभका स्थानीय रूपमै उत्पादन गरिएका केही बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरको आनन्द ग्राहकले लिन पाउनेछन्  ।

आयात गरिएका एबी इनबेभका आफ्नै उत्पादनहरू कोरोना एक्स्ट्रा, लेफ, होगार्डेन र स्टेला अर्टोइज पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । राज ब्रुअरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको एक सदस्य प्रतिष्ठान हो ।

प्रबन्ध निर्देशक राजबहादुर शाहले उपभोक्ताहरूलाई विश्वमै उत्कृष्ट मानिएका बियरहरूको अतुलनीय छनोट प्रदान गर्न सर्वोत्कृष्ट श्रेणीका ब्रान्डहरूको सूची कायम गर्न कम्पनी कटिबद्ध रहेको बताए ।

प्रकाशित : श्रावण २०, २०७६ १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्