१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

देवघाटमा बगेका युवाको गोताखोरले गर्‍यो सकुशल उद्धार

रमेशकुमार पौडेल

चितवन — देवघाटमा बोलबमको जल लिन नदीभित्र पसेका बेला बगेका एक युवकको सोमबार सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका-१३ श्रीपुर फुलबारी गाउँका २५ वर्षीय रमेश परियार देवघाटमा नुहाउने क्रममा नदीमा बगेका थिए । 

देवघाटमा बगेका युवाको गोताखोरले गर्‍यो सकुशल उद्धार

बग्दै झण्डै सय मिटर तल पुगेका उनलाई सशस्त्र प्रहरीका गोताखोर ओम सलामी मगरले उद्धार गरेका हुन् ।


सशस्त्र प्रहरीको चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थपन तालिम शिक्षालयका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) खिलबहादुर विकको नेतृत्वमा देवघाटमा उद्धार टोली खटिएको थियो । सोमबार बोलबमका लागि जल लिन र चढाउन भक्तहरुको भीड लाग्दछ । ‘त्यही बोलबम मेलामा नुहाउने क्रममा बगेका व्यक्तिलाई गोताखोरहरुले बचाएका हुन्,’ शिक्षालयका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक किशोर प्रधानले भने ।

शिक्षालयका गोताखोर र उद्धार टोली देशका विभिन्न ठाउँहरुमा खटिने गर्दछ । जिवितै व्यक्ति उद्धार गर्ने घटना बिरलै हुने गर्दछ । ‘टोली ठाउँ ठाउँमा खट्ने गरेको छ । यसअघि जिवितै उद्धार नभएका हैनन् तर देवघाटमा हाम्रा गोताखोरहरुले निकै तदारुकताका साथ काम गरेर एकजना व्यक्तिलाई बचाएका छन् । वर्षाका बेला उर्लेको नदीमा समयको थोरै तलमाथिले पनि जे पनि हुन सक्थ्यो,’ प्रधानले भने ।

घटना मध्यान्ह पौने १२ बजेतिर भएको थियो । बोलबमका लागि जल लिन आउने भक्तहरुको देवघाटमा निकै भीडभाड लाग्ने गरेको छ । १०/१५ वर्षयता भीडभाड बढेर व्यवस्थापन नै गर्नु पर्ने अवस्था आउन लागेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । नभए देवघाटमा माघे संक्रान्तिका बेलामा मात्रै नुहाउने आउने चलन थियो । भीड बढ्दै जाँदा सशस्त्र प्रहरीलाई पनि खट्न अनुरोध गरेको पौडेलले बताए ।

प्रकाशित : श्रावण २०, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?