कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिम मोलेर मेला 

स्थानीय दनुवार समुदायले केही रकम लिएर नदी वारपार गराइदिने गर्छन्, तीर्थालुहरु भने नदी पार गर्ने क्रममा बगेमा मुक्ति मिल्ने भन्दै जोखिम उठाउँछन् । 
राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग भएर भिमान हुँदै पूर्वतर्फ लागि कमला नदी किनारमा पुगेर भक्तजनहरू बाढीको पर्वाह नगरी हेलिने गर्छन् । चाहे पैदल होस् या सवारी साधनमा आए पनि कमलानदीमा बोलबम भन्दै हेलिनु तीर्थालुहरूको परीक्षाजस्तै हुने गरेको वर्षौंदेखि नदी वारपारमा सघाउने स्थानीय शम्भु दनुवारले सुनाए ।

जोखिम मोलेर मेला 

दुधौली नगरपालिका २ हत्पते लङ्गुरखोलास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मधुगंगा महादेव मन्दिरमा पहेंलो रङको वस्त्र लगाएर साउन महिनाको सोमबार लाग्ने मेला भर्नका लागि खाली खुट्टा हिंडेर आउने श्रद्धालु भक्तजनको थामिनसक्नु भिड लाग्ने गरेको छ ।


मन्दिरमा प्रत्येक वर्ष साउन महिनाभरि मेला लाग्ने गरेको र उक्त मेला भर्न छिमेकी जिल्ला सर्लाही, महोत्तरी, सिरहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतका सीतामाढी, मधुबनीलगायत सहरबाट बोलबम भक्तजनको ओइरो लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । सोमबारको मेला भर्न झक्तजन आइतबारदेखि नै मन्दिरतर्फ लाग्ने गरेका छन् ।


कमला नदीमा निर्माणाधीन पक्की पुल ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । स्थानीय दनुवार समुदायले केही रकम लिएर नदी वारपार गराइदिन्छन् तर नदी पार गर्ने क्रममा बगेमा मुक्ति मिल्ने भन्दै तीर्थालुहरू हेलिने गरेको दनुवारले बताए । विगतको १० वर्ष अवधिमा ३० जनाको हाराहारीमा कमला नदी पार गर्दा बगाएर तीर्थालुको मृत्यु भएको छ ।


दुधौलीकै हर्साही खनियाँ जोड्ने कमला नदीमा पक्की पुल निर्माण भएको छ तर तीर्थालुहरू आफ्नो रुट परिवर्तन गर्दैनन् । वडा नं १ को झुंगा नजिकबाट तीर्थालुहरू पार गर्ने दशकौंदेखिको रुट भएकाले परिवर्तन नगर्ने भएकाले उनीहरू खुसी भएर मृत्युसँग जुध्दै मेला भर्न जाने गरेको अर्का स्थानीय रिजेन्द्र बरालले जनाए ।


उनका अनुसार मन्दिरमा साउन महिनाभरि मेला लाग्ने भए पनि सोमबारका दिन भक्तजनको उपस्थिति थामिनसक्नु हुने गरेको छ । शुद्ध मनले निराहार बसी महादेवको दर्शन गरेमा मनले चिताएको इच्छा पूरा हुने विश्वासले भक्तजनको भिड लाग्ने गरेको हो । मधुगंगा महादेव मन्दिरमा प्रत्येक वर्ष साउन महिनाभरिमा श्रद्धालु भक्तजन एक लाखको हाराहारीमा आउने गरेकामा यो वर्ष बढी नै आउने अनुमान मन्दिरका पुजारी बद्रीबहादुर मगर लगाउँछन् ।


सन्तान, धन, शिक्षा प्राप्ति र रोगव्याध हटाउनका लागि भक्तजन महादेवको दर्शन गर्न आउने गरेको तीनै पुजारी मगरले बताए । ‘महादेवप्रतिको विश्वासले नै भक्तजनको भिड लाग्ने गरेको हो,’ उनले थपे । श्रद्धालु भक्तजनहरूकै सहयोगबाट हालसम्म मन्दिर परिसरमा सात वटा धर्मशाला निर्माण भइसकेको छ । त्यसो त विकट जंगलको अनकन्टार कुनामा रहेको उक्त महादेव मन्दिरमा जान भने त्यति सजिलो छैन । तराईबाट आउने भक्तजनले दुधौली नगरपालिका ३ को झुंगासम्म मोटरबाट आएपछि कमला नदी पार गर्नुपर्छ ।


त्यसपछि झन्डै चार घण्टाको उकालो पैदल चढी हत्पते डाँडामा पुगेर फेरि दुई घण्टा ओरालो झरेपछि मात्रै मन्दिरमा पुग्न सकिने स्थानीय बासिन्दा बताउँछन् । नगरपालिकाले मन्दिरमा जानआउन सजिलोका लागि पक्की सिंढी निर्माण गरेकाले यस वर्षदेखि केही सहज हुनेछ । मन्दिरमा कच्ची सडक निर्माण गरेको भए पनि वर्षातले सबै बिगारिदिएकाले पैदल यात्राको विकल्प छैन । कमला नदीमा पुल नहुँदा तीर्थयात्रीको पार गर्ने क्रममा बगाएर प्रत्येक वर्ष मृत्यु हुने गरेको छ ।


साउन महिनामा लाग्ने बाबाधाम मेलाका कारण स्थानीय बासिन्दाको आयआर्जनमा समेत वृद्धि भएको छ । भक्तजन हिंड्ने बाटाको दायाँबायाँमा राखिएका नाङ्ले किराना पसल मेलाका कारण निकै फस्टाएका छन् । हत्पते प्राविधिक सहायक हेरम्बराज अधिकारी प्रत्येक वर्ष साउनमा मेलाको सुरुसँगै देखिने सयौं नाङ्ले पसलले मनग्ये आम्दानी गर्ने गरेको बताउँछन् । महादेव मन्दिरको पर्याप्त प्रचारप्रसार तथा व्यवस्थापन राम्रो हुन सके अझ बढी धार्मिक पर्यटक भित्र्याउन सकिने उनको ठम्याइ छ ।


महादेव मन्दिरमा भक्तजनले चढाउने गरेको भेटी बर्सेनि लाखौं रुपैयाँ संकलन हुने गरेको र उक्त भेटी रकमको समेत उचित सदुपयोग हुन नसकेको स्थानीयको भनाइ छ । मन्दिरमा चढाएको भेटीबाट संकलित रकम खोजी गरी त्यस क्षेत्रकै विकासमा खर्चिनुपर्ने उनीहरूको धारणा छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?