२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काखे नानी च्यापेरै तालिममा  

रमेशकुमार पौडेल

चितवन — कालिका र रत्ननगर साँधसिमाना जोडिएका नगरपालिका हुन् । रत्ननगरको सौराहा देश विदेशमा प्रख्यात पर्यटकीय क्षेत्र हो । कालिका नगरपालिका–११ सिद्धिकी २५ वर्षीय सजिता चेपाङले आइतबार पहिलो पटक सौराहा टेकिन ।

काखे नानी च्यापेरै तालिममा  

सानो काखे बच्चा साथै लिएर उनी आएकी थिइन् । सौराहाको मुख्य विशेषता बारे उनी बेखबर छन् । पाँच दिनका लागि सौराहा बस्न आएकी उनको उद्देश्य पर्यटन हैन अरु नै छ ।


उनलाई १० बजे आउन भनिएको थियो । तर डेढ घण्टा ढिलो पुगिन् । काखको सन्तानलाई सजिलो होस् भनेर भान्टा रंगको पछ्यौराले बाधेर छडके पारेर बोकेकी थिइन् । हस्याङफस्याङ गर्दै उनी कोठाभित्र पसेर कुर्चीमा बस्न नपाउँदै बच्चाले दूध चुस्न खोज्यो । उनी नपुग्दै ‘चेपाङको विकास किन भएन, चेपाङ महिला किन पछाडि परे’ भन्नेबारे चर्चा सुरु भएको थियो । ती सुन्नभन्दा बच्चा भुलाउनै व्यस्त हुनुपर्ने बाध्यतामा उनी थिइन् ।


सौराहाबाट उनको गाउँ सिद्धिको मझबाङ ५० किलोमिटर पनि पर छैन तर सौराहा आउन उनले बिहानैदेखि तयारी गर्नुपरेको थियो । ‘मझवाङदेखि तीनदोभान हिँडेर आएँ । अरु बेला तीनदोभानमा गाडी पाइन्थ्यो तर आज भेटिएन । एकजना दाइले मोटरसाइकलमा यहाँसम्म पुर्‍याइदिनुभयो, जसका कारणले अलि चाँडो आइयो,’ सजिताले भनिन् ।


सौराहादेखि उत्तर रत्ननगर, जुटपानी, शक्तिखोर हुँदै सिद्धि पुगिन्छ । समय कति लाग्यो, हातमा घडी नबाँध्ने हुनाले उनलाई हेक्का भएन । खोला छन्, पहाड छन्, त्यसैले जान आउन अप्ठ्यारो छ भन्छिन् उनी । काखको बच्चा ११ महिनाअघि जन्मेको छोरा सनिप चेपाङ हो । अर्को साढे चार वर्षको छोरा जोसेफ पनि छ ।


सानैमा बिहे गर्ने र धेरै सन्तान जन्माउने चेपाङ गाउँमा सजिताले १८ कटेपछि बिहे गरिन् र बच्चा पनि धेरै छैनन् । यस्ता महिला चेपाङ गाउँका लागि उदाहरणीय हुन्छन् । उनलाई अगुवा महिलाका रूपमा मान्यता दिइएको छ । अब सजिताले आफ्नो समुदायका लागि अरु पनि काम गर्नुपर्ने भएको छ । स्थानीय तह गठन भएपछि वडा वडामा बजेट पहिलाको भन्दा धेरै जाने गरेको छ । महिलालाई भनेर बजेट छुट्याउनुपर्छ ।


सजिताजस्ता चारजना महिला काखे बच्चासहित सौराहा आएका छन् । वडासदस्यमा विजयी अगुवा महिला पनि कार्यक्रममा छन् । अञ्जु चेपाङ इच्छाकामना गाउँपालिकाको वडा १ को महिला कोटामा विजयी वडासदस्य हुन् । ‘म ७१ सालदेखि स्वास्थ्य स्वयंसेविका थिएँ । गाउँका समुहमा पनि बस्ने गर्थे । त्यही भएर वडासदस्यमा पनि उठेर जितेँ,’ अञ्जुले भनिन् । स्वयंसेविका भएर गाउँ डुल्दा उनले चेपाङको अवस्था थाहा पाइन् । १६ जनासम्म सन्तान जन्माएका आमाहरू भेटिन् । खोप लगाए बिरामी भइन्छ भन्ने धारणा राख्ने भेटिन् ।


‘अहिले उमेर पुगेपछि बिहे गर्ने, सन्तान कम जन्माउने, खोप लगाउने, बिरामी भए स्वास्थ्य केन्द्रमा गएर उपचार गर्ने क्रम बढेको छ तर अशिक्षा, गरिबी त कायमै छ,’ अञ्जुले भनिन् । यस्ता समस्या हटाउन जनप्रतिनिधिका हिसाबले कार्यक्रम बनाए पनि पालिकाबाट स्वीकृति हुन नसकेको उनको अनुभव छ । आर्थिक संकट टार्न आधुनिक कृषि सहयोगी हुन सक्छ तर चाहेर पनि समुदायका लागि यो काम गर्न नसकेको उनले बताइन् ।


इच्छाकामना गाउँपालिका–५ बकसेर्नाकी निमिसा चेपाङले जेनतन एसएलसी उर्त्तीण गरिन् । घरमा ६ बहिनी छोरी र चार भाइ छोरा भएका कारण आर्थिक अवस्थाले नसक्ने भएका कारणले बाबु आमाले उनलाई अगाडि पढाएनन् । यस्ता व्यक्तिहरू ठाउँ ठाउँमा भेटिने उनले बताइन् ।


‘गाउँमा बाटो बिजुली पुगेको छ । तर चेपाङको अवस्था कमजोर नै छ । यो समस्या कसरी निराकरण गर्ने भनेर सवैले सोच्नु आवश्यक छ’ निमिसाले भनिन् । चेपाङ गाउँमा बालबिबाह र धेरै सन्तान जन्माउने समस्या घट्दै गएको तर अरु समस्या यथावत रहेको उनी बताउँछिन् ।


यो वर्षदेखि कक्षा ११ पढ्न सुरु गरेकी कालिखोलाकी १७ वर्षीया अस्मिता चेपाङ जाँड रक्सी नखाए चेपाङ समुदायका धेरै समस्या हटेर जाने बताउँछिन् । ‘गाउँमा जाँडरक्सी खाने चलनले अन्न र पैसाको नोक्सन भएको छ । थोरै फल्ने कोदो मकै जाँड बनाएर नोक्सान भएको छ । अलि अलि कमाएको पैसा रक्सीमा खर्च हुने गरेको छ । यो ठूलो विकृति हो । यो हटाउनुपर्छ,’ अस्मिताले भनिन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?