२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

हेटौंडामा एकीकृत पशुवधशाला

कान्तिपुर संवाददाता

मकवानपुर — प्रदेश सरकारको विशेष सक्रियतामा हेटौंडामा एकिकृत पशुवधशाला सञ्चालनमा आएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा लामो समयदेखि बन्द अवस्थामा रहेको बफेलो क्वालिटी फुडलाई सरकारले एकीकृत वधशालाको रूपमा सञ्चालनमा ल्याइएको हो ।

नाकाबन्दी र भूकम्पका कारण तीन वर्षदेखि बन्द थियो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार वधशाला उद्घाटन गरे । ५५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा करिब १९ करोड रुपैयाँ लगानी रहेको वधशालाका निर्देशक शैयद रियाज उद्दिनले जनाए ।


‘प्रदेश सरकारबाट अनुदानस्वरूप हामीलाई ७१ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । हामीले उद्योगको मेसिन मर्मत गरी सञ्चालनमा ल्याएका हौं ।’ उद्दिनका अनुसार प्रतिघण्टा ४० वटा राँगा वा भैंसी वध गर्ने क्षमता वधशालाको छ । वधशालामा दैनिक २५ टनसम्म मासु फ्रिजिङ गर्न सकिने मेसिन रहेको छ ।


‘कुनै पनि मासुलाई प्रयोग गर्नुअगाडि करिब १६ घण्टासम्म फ्रिजिङ गर्नुपर्ने हुन्छ ।’ उनले साउनभित्रै खसी, कुखुराको समेत वधको व्यवस्था सोही स्थानमा गर्ने गरी काम अगाडि बढाइरहेको जनाए । उनका अनुसार पहिलो चरणमा हेटौंडा, काठमाडौंसहित देशभरका विभिन्न सहरमा मासु पठाउने र दोस्रो चरणमा विदेश निर्यात गर्ने गरी वधशालाले तयारी गरिरहेको छ ।


मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले हेटौंडा, चितवन र ललितपुरमा पशु वधशाला निर्माण गर्ने नीतिअनुसार सहयोग गरेको प्रस्ट्याए । ‘माछामासु ऐन २०५५ कार्यान्वयन गर्ने पहिलो नगरका रूपमा हेटौंडालाई चिनिन्छ । अब हेटौंडा बजार क्षेत्रमा पशुवध हुँदैन । हामीले उद्योगमै आएर पशुवध गर्नुपर्ने नीति अवलम्बन गर्नेछ्,ौं’ उनले भने । उद्योगमा एक सय ३५ जना कर्मचारी आवश्यक पर्नेमा हाल ७५ जना मात्रै छन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?