१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुनकोसी-मरिन डाइभर्सन : आयोजनाको लागत ७६ अर्ब

राजकुमार कार्की

(सिन्धुली) — सुनकोसीको पानी सुरुङमार्फत मरिन खोलामा खसाली सिँचाइ र विद्युत् उत्पादनको बहुउद्देश्यीय आयोजनाको काम सुरु भएको छ । राष्ट्रिय गौरबको बहुउद्देश्यीय आयोजना अन्तर्गतको सुनकोसी मरिन डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएपछि आयोजनाको काम सुरु भएको हो । डीपीआरमा तयार भएअनुसार झन्डै ७६ अर्ब रुपैयाँ लागतमा उक्त आयोजना निर्माण सम्पन्न हुने देखिएको छ । 

सुनकोसी-मरिन डाइभर्सन : आयोजनाको लागत ७६ अर्ब

आयोजना प्रमुख सुशील आचार्यका अनुसार सुनकोसीको पानी मरिनमा सुरुङमार्फत ल्याएर जलविद्युत् उत्पादनका लागि ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ भने बाँकी संरचना निर्माण गर्नका लागि झन्डै ३० अर्ब लाग्ने प्रारम्भिक प्रतिवेदनमा छ । जसबाट २८.६२ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।


आयोजनाको मूल उद्देश्य सिँचाइ सुविधा भए पनि विद्युत्समेत उत्पादन हुने भएकाले यो बहुउद्देश्यीय आयोजनालाई चासोका साथ हेरिएको छ । ‘हाम्रो मूल उद्देश्य सिँचाइ सुविधा नै हो,’ आयोजना प्रमुख आचार्यले भने, ‘सिँचाइका लागि सुनकोसी डाइभर्सन गर्दा विद्युत् उत्पादन हुने हो ।’ सिन्धुलीको सुनकोसी गाउँपालिका–६ को कानढुंग्री नजिक सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३.१किलोमिटर सुरुङको माध्यमबाट कमलामाई नगरपालिका २ को कुसुमटारस्थित मरिन खोलामा खसालिने आयोजनाले जनाएको छ ।


आयोजनाबाट प्रभावित क्षेत्रमा विस्तृत अध्ययन तथा स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयसँग सार्वजनिक सुनुवाइ भइरहेको आचार्यको भनाइ छ । वर्ष ०७६/७७ को बजेटमा सुनकोसी–मरिन डाइभर्सनको कामका लागि २ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिनमा खसाल्ने योजना बनेको छ । त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने आयोजनाका इन्जिनियर दिलीप विश्वकर्माले बताए । आयोजनाको पावर हाउस कमलामाई २ को कुसुमटार फाँटमै रहने छ ।


तराईका विभिन्न जिल्लालाई सिँचाइको सुविधा पुर्‍याउन सरकारले यो आयोजनालाई अगाडि बढाएको हो । तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने यो आयोजनाको उद्देश्य रहेको आचार्यले बताए । सुनकोसीको पानी डाइभर्सन गरी मरिनमा मिसाएपछि ४२ किलोमिटर दूरीमा रहेको वाग्मती बाँधमा पुर्‍याई सिँचाइ सुविधा बढाउने लक्ष्य सरकारको छ ।


हाल वाग्मती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ भने सुनकोसी–मरिन–डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने देखिएको छ । यो आयोजना निर्माण सम्पन्न हुन ५ वर्ष लाग्ने जनाइएको छ । निर्माणको ठेक्का प्रक्रिया यसै वर्षबाट सुरु हुने र ठेक्का सम्झौता भएको मितिले ४ वर्षभित्र आयोजनाका मुख्य संरचनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : श्रावण १९, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?