जुनी फेर्दै साततले दरबार

कृष्ण थापा

नुवाकोट — भूकम्प गएको ४ वर्षपछि पुरातात्त्विक सम्पदा साततले दरबारको पुनर्निर्माण सुरु गर्न जस्ता पाताले छोपिएको छ । दरबारको चारैतिरबाट फलामे डन्डी कँसेर जस्ताले दरबार छाइएको हो । 

नुवाकोट विदुर नगरपालिका– २ नुवाकोट डाँडाको ऐतिहासिक साततले दरबार । जीर्ण दरबारको पुनर्निमार्ण थालिएको छ । तस्बिर : कृष्ण /कान्तिपुर

‘बल्ल दरबारले जुनी फेर्ने भो,’ स्थानीय अर्जुन घिमिरेले भने, ‘ऐतिहासिक धरोहर यो वर्षाले लड्छ कि भन्ने चिन्ता लागेको थियो ।’ नुवाकोट दरबार स्क्वायरमा चीन सरकारको सहायतामा पहिलो चरणको परियोजनाले दरबार पुनर्निर्माण गर्न लागेको हो । ‘पुर्खाको चिनो मासिन्छ भनेर कराउँदा कराउँदा बल्ल थालनी भएको छ,’ स्थानीय सुरेन्द्रकुमार शाहीले भने ।

चार हिउँद र बर्खाले दरबारको पश्चिम मोहडाको छैटौं तलाबाट छानो झरेको छ भने पाँचौं तल्लादेखि गारो भत्किएका छन् । अहिले दरबारलाई फलामे टेको लगाइएको छ । ‘अब दरबारलाई जस्ताले छोपिएको छ,’ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयालले भने, ‘अब भने दरबार लड्दैन । तराईका अग्राख काठ हालेर बनाउने भनेका छन् ।’

दरबारको भत्किएका ठाउँमा प्राविधिकले चिनो लगाउने र जोखिमयुक्त ठाउँमा टेको दिने कार्य गरेका छन् । बर्खा सकिएलगत्तै दरबारको माथिल्लो भागबाट काम सुरु गर्ने कार्यालय प्रमुख फुँयालले बताए । साततले दरबार रेक्ट्रोफिटिङ गरी पुनर्निर्माण गरिने भएको हो ।

त्यसका लागि चिनियाँ प्राविधिक टोली र नेपाली कामदार खटिएका छन् । राजा पृथ्वीनारायण शाहले १८१७ देखि १९ मा ललितपुरबाट कालिगढ झिकाएर दरबार बनाउन लगाएका थिए । सुरुमा नौतले भए पनि ०९० सालको भूकम्पले ७ तल्लामा सीमित भएको बूढापाकाको भनाइ छ । उनीहरू लिच्छविकालीन दरबार भएको दाबी गर्छन् ।

चीनले भूकम्पले क्षति पुर्‍याएका नुवाकोटका ७ वटा संरचनाको पुनर्निर्माण गर्दै छ । ती सम्पदामा साततले दरबार, लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तुलजा भवानी मन्दिर छन् । विष्णु र नारायण मन्दिरलाई एउटै प्याकेजबाट काम गर्ने भएको हो ।

प्रकाशित : श्रावण १०, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

१२ हजार लाभग्राहीको नाम हटाइयो

कान्तिपुर संवाददाता

हेटौंडा — भूकम्पपीडितको लाभग्राही सूचीमा नाम रहेर पनि सम्पर्कमा नआएका मकवानपुरका १२ हजार घरधुरीले अनुदान नपाउने भएका छन् ।

नेपाल पुनर्निर्माण प्राधिकरणले चार वर्ष बितिसक्दा पनि सम्पर्कमा नआएका लाभग्राहीलाई अनुदान पाउने सूचीबाट हटाएको हो । जिल्लाका १२ हजार १ सय ९१ घरधुरीको नाम खारेज गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका प्रमुख विमलकिशोर केपीले बताए । खारेज भएकामध्ये उचित कारण देखाएर सम्पर्कमा आएमा त्यस्ता लाभग्राहीका बारेका प्राधिकरण पुनर्विचार गर्ने छ,’ उनले भने ।

प्राधिकरणले लाभग्राहीलाई असार २१ सम्म सम्झौता गर्न समयसीमा तोकेको थियो । त्यस अवधिमा अनुदान सम्झौता नगर्ने पुनर्निर्माणतर्फ ६ हजार ४ सय ८२ र प्रबलीकरणतर्फ ५ हजार ७ सय ९ घरधुरी थिए । २०७६ असार मसान्तसम्म मकवानपुरमा निजी आवास पुनर्निर्माणतर्फ ३४ हजार ३ सय १६ र प्रबलीकरणतर्फ १२ हजार ९ सय ४६ घरधुरी अनुदान पाउनेको सूचीमा थिए ।

जसमध्ये पुनर्निर्माणतर्फ २७ हजार ८ सय ३४ र प्रबलीकरणतर्फ ७ हजार २ सय ३७ ले अनुदान सम्झौता गरेका छन् । जसमध्ये पुनर्निर्माणतर्फ २७ हजार ५ सय ९० र प्रबलीकरणतर्फ ७ हजार २ सय ३७ जनाले पहिलो किस्ता लगेका छन् । जिल्लामा अझै पनि २ सय ४४ जनाले अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलगेको तथा ५ सय ७६ जनाले पहिलो किस्ता बैंकमा जम्मा भएर पनि २०७६ असार मसान्तसम्म लिन नआएको कार्यान्वयन एकाई कार्यालयका प्रमुख किशोर केपीले जानकारी दिए ।

पहिचान भएकामध्ये १२ हजार १ सय ९१ ले सम्झौता नै नगरेका उनले भने । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता भुक्तानी लिनेको संख्या भने जिल्लामा १६ हजार ७ सय ८ घरधुरी रहेको छ । जिल्लामा पुनर्निर्माण र प्रबलीकरणतर्फ पहिलो किस्ता लिनेको संख्या ७४ प्रतिशत रहेको छ ।

प्रकाशित : श्रावण १०, २०७६ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्