१२ हजार लाभग्राहीको नाम हटाइयो

कान्तिपुर संवाददाता

हेटौंडा — भूकम्पपीडितको लाभग्राही सूचीमा नाम रहेर पनि सम्पर्कमा नआएका मकवानपुरका १२ हजार घरधुरीले अनुदान नपाउने भएका छन् ।

नेपाल पुनर्निर्माण प्राधिकरणले चार वर्ष बितिसक्दा पनि सम्पर्कमा नआएका लाभग्राहीलाई अनुदान पाउने सूचीबाट हटाएको हो । जिल्लाका १२ हजार १ सय ९१ घरधुरीको नाम खारेज गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका प्रमुख विमलकिशोर केपीले बताए । खारेज भएकामध्ये उचित कारण देखाएर सम्पर्कमा आएमा त्यस्ता लाभग्राहीका बारेका प्राधिकरण पुनर्विचार गर्ने छ,’ उनले भने ।

प्राधिकरणले लाभग्राहीलाई असार २१ सम्म सम्झौता गर्न समयसीमा तोकेको थियो । त्यस अवधिमा अनुदान सम्झौता नगर्ने पुनर्निर्माणतर्फ ६ हजार ४ सय ८२ र प्रबलीकरणतर्फ ५ हजार ७ सय ९ घरधुरी थिए । २०७६ असार मसान्तसम्म मकवानपुरमा निजी आवास पुनर्निर्माणतर्फ ३४ हजार ३ सय १६ र प्रबलीकरणतर्फ १२ हजार ९ सय ४६ घरधुरी अनुदान पाउनेको सूचीमा थिए ।

जसमध्ये पुनर्निर्माणतर्फ २७ हजार ८ सय ३४ र प्रबलीकरणतर्फ ७ हजार २ सय ३७ ले अनुदान सम्झौता गरेका छन् । जसमध्ये पुनर्निर्माणतर्फ २७ हजार ५ सय ९० र प्रबलीकरणतर्फ ७ हजार २ सय ३७ जनाले पहिलो किस्ता लगेका छन् । जिल्लामा अझै पनि २ सय ४४ जनाले अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलगेको तथा ५ सय ७६ जनाले पहिलो किस्ता बैंकमा जम्मा भएर पनि २०७६ असार मसान्तसम्म लिन नआएको कार्यान्वयन एकाई कार्यालयका प्रमुख किशोर केपीले जानकारी दिए ।

पहिचान भएकामध्ये १२ हजार १ सय ९१ ले सम्झौता नै नगरेका उनले भने । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता भुक्तानी लिनेको संख्या भने जिल्लामा १६ हजार ७ सय ८ घरधुरी रहेको छ । जिल्लामा पुनर्निर्माण र प्रबलीकरणतर्फ पहिलो किस्ता लिनेको संख्या ७४ प्रतिशत रहेको छ ।

प्रकाशित : श्रावण १०, २०७६ ०७:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लागूऔषध सेवन गर्ने चालक बढे

कान्तिपुर संवाददाता

धादिङ — पृथ्वीराजमार्गमा गुड्ने सार्वजनिक यातायात साधनका चालकले लागूपदार्थ सेवन गर्ने गरेको पाइएको छ । चालक र सहचालक चरेस र गाँजाको कुलतमा फस्न थालेकाको पाइएको हो । 

जिल्ला प्रहरी धादिङले गत वर्षमा राजमार्ग छेउछाउमा नास्ता पसल सञ्चालक १४ जनालाई पक्राउ गरी लागूपदार्थ बेचबिखनमा मुद्दा चलाएको थियो । पृथ्वीराजमार्गसँगै जोडिएका गल्छी, गजुरी र बेनीघाटका, थाक्रेका चिया पसल, सार्वजनिक शौचालयसँग जोडिएका नास्ता पसल, घुम्ती पसलबाट स–साना पोका बनाएर बेच्न राखिएका ३ सय देखि ६ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका सबैले चरेस र गाँजा भरेर राखिएका चुरोट सुटुक्क माग्नेमा युवा चालक र सहचालक बढी हुने गरेको जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले बताए । नास्ता खान रोकेका बेला संकेतमै लागूपदार्थ किनबेच हुने गरेका छ । लागूपदार्थ भरिएको चुरोट प्रतिखिल्ली सयदेखि १२० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।

‘चालकले लागूपदार्थ ओसारपसार मात्रै हैन, आफैं सेवन गरेर अरू सवारीसाधनलाई ठक्कर दिने, अंगभंग गराउनेसमेत गरेको पाइएका छन्,’ गजुरीस्थित जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक हेमराज घिमिरेले भने, ‘लागूपदार्थ सेवन गरेको पत्ता लगाउन रगत परीक्षण नै गर्ने प्रक्रिया अगाडि बढाए पनि विरोधका कारण रोकिएको छ ।’ मुग्लिन इलाकाका प्रहरी निरीक्षक नविराजा बुढाथोकीले आफू गजुरी इलाका प्रहरीमा बस्दाको अनुभव सुनाउँदै भन्छन्, ‘पूर्वी तराईबाट आएकोखड्केश्वर यातायातका सवारी धनीकै उजुरीमा चालकलाई पक्राउ गरी पुसको राति नुहाउन लगाइएको थियो ।’

चालकले मादकपदार्थ सेवन गरेको पत्ता लागेजस्तै लागूपदार्थ सेवन गरे/नगरेको तत्काल पत्ता लगाउने मेसिन नभएकाले जरिवाना नगरिकनै छोड्नु परेको उनले सुनाए ।

धादिङ खण्डमा मात्रै भएका सवारी दुर्घटनामा मृत्यु भएका अधिकांश साना सवारीसाधनकै यात्रु रहेका छन् । गत साउनदेखि असारसम्म भएका १ सय ३८ सवारी दुर्घटनामा ९३ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ८९ वटा साना सवारीसाधन छन । धेरै दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएका छन् । दुर्घटनामा परेकाहरूमा ठूला सवारीसाधनसँग ठोक्किएर मोटरसाइकल, माइक्रोबस, कखुरा बोक्ने जिपह रहेका छन् । मृत्यु भएकामा धेरै हेल्मेट नलगाएर मोटरसाइकलको पछाडि बसेका छन् । दुर्घटनामा धेरै महिला र बालबालिका छन् ।

चालकले लागूपदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ । मदिरा सेवनको परीक्षण गर्ने ब्रेथ लाइजर प्रयोग गरेजस्तै अन्तर्राष्ट्रिय बजारमा लागूपदार्थ सेवन गरे/नगरेको बारे तत्काल पत्ता लगाउने उपकरण देशका विभिन्न राजमार्गमा तयारी अवस्थामा राख्नुपर्ने नेपालमा सडक दुर्घटना र घाइतेको अध्ययन गरिरहेको नेपाल इन्जुरी अध्ययन केन्द्रका निर्देशक डा सुनीलकुमार जोशीले बताए ।

प्रकाशित : श्रावण १०, २०७६ ०७:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT