कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध सेवन गर्ने चालक बढे

कान्तिपुर संवाददाता

धादिङ — पृथ्वीराजमार्गमा गुड्ने सार्वजनिक यातायात साधनका चालकले लागूपदार्थ सेवन गर्ने गरेको पाइएको छ । चालक र सहचालक चरेस र गाँजाको कुलतमा फस्न थालेकाको पाइएको हो । 

जिल्ला प्रहरी धादिङले गत वर्षमा राजमार्ग छेउछाउमा नास्ता पसल सञ्चालक १४ जनालाई पक्राउ गरी लागूपदार्थ बेचबिखनमा मुद्दा चलाएको थियो । पृथ्वीराजमार्गसँगै जोडिएका गल्छी, गजुरी र बेनीघाटका, थाक्रेका चिया पसल, सार्वजनिक शौचालयसँग जोडिएका नास्ता पसल, घुम्ती पसलबाट स–साना पोका बनाएर बेच्न राखिएका ३ सय देखि ६ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।


पक्राउ परेका सबैले चरेस र गाँजा भरेर राखिएका चुरोट सुटुक्क माग्नेमा युवा चालक र सहचालक बढी हुने गरेको जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले बताए । नास्ता खान रोकेका बेला संकेतमै लागूपदार्थ किनबेच हुने गरेका छ । लागूपदार्थ भरिएको चुरोट प्रतिखिल्ली सयदेखि १२० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।


‘चालकले लागूपदार्थ ओसारपसार मात्रै हैन, आफैं सेवन गरेर अरू सवारीसाधनलाई ठक्कर दिने, अंगभंग गराउनेसमेत गरेको पाइएका छन्,’ गजुरीस्थित जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक हेमराज घिमिरेले भने, ‘लागूपदार्थ सेवन गरेको पत्ता लगाउन रगत परीक्षण नै गर्ने प्रक्रिया अगाडि बढाए पनि विरोधका कारण रोकिएको छ ।’ मुग्लिन इलाकाका प्रहरी निरीक्षक नविराजा बुढाथोकीले आफू गजुरी इलाका प्रहरीमा बस्दाको अनुभव सुनाउँदै भन्छन्, ‘पूर्वी तराईबाट आएको खड्केश्वर यातायातका सवारी धनीकै उजुरीमा चालकलाई पक्राउ गरी पुसको राति नुहाउन लगाइएको थियो ।’


चालकले मादकपदार्थ सेवन गरेको पत्ता लागेजस्तै लागूपदार्थ सेवन गरे/नगरेको तत्काल पत्ता लगाउने मेसिन नभएकाले जरिवाना नगरिकनै छोड्नु परेको उनले सुनाए ।


धादिङ खण्डमा मात्रै भएका सवारी दुर्घटनामा मृत्यु भएका अधिकांश साना सवारीसाधनकै यात्रु रहेका छन् । गत साउनदेखि असारसम्म भएका १ सय ३८ सवारी दुर्घटनामा ९३ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ८९ वटा साना सवारीसाधन छन । धेरै दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएका छन् । दुर्घटनामा परेकाहरूमा ठूला सवारीसाधनसँग ठोक्किएर मोटरसाइकल, माइक्रोबस, कखुरा बोक्ने जिपह रहेका छन् । मृत्यु भएकामा धेरै हेल्मेट नलगाएर मोटरसाइकलको पछाडि बसेका छन् । दुर्घटनामा धेरै महिला र बालबालिका छन् ।


चालकले लागूपदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ । मदिरा सेवनको परीक्षण गर्ने ब्रेथ लाइजर प्रयोग गरेजस्तै अन्तर्राष्ट्रिय बजारमा लागूपदार्थ सेवन गरे/नगरेको बारे तत्काल पत्ता लगाउने उपकरण देशका विभिन्न राजमार्गमा तयारी अवस्थामा राख्नुपर्ने नेपालमा सडक दुर्घटना र घाइतेको अध्ययन गरिरहेको नेपाल इन्जुरी अध्ययन केन्द्रका निर्देशक डा सुनीलकुमार जोशीले बताए ।

प्रकाशित : श्रावण १०, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?